‘पाइलटलाई अनुशासनमा राख्नुस्, यस्तो पनि हुन्छ ?’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘पाइलटलाई अनुशासनमा राख्नुस्, यस्तो पनि हुन्छ ?’



काठमाडौं – गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

१ सय १० बुँदे कार्ययोजनालाई निकै महत्व दिएका मन्त्री अधिकारी मन्त्रालय अन्तरगतका कार्यालय प्रमुखलाई कडा निर्देशन दिँदै अब ढिलासुस्ती र अनियमितता आफूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिनुभयो ।

उहाँले विमानस्थल सुधारदेखि, लुम्बिनी र पशुपतिनाथ व्यवस्थित अनि होटलको स्टान्डर्ड तोक्नेसम्मका विषयमा भएको प्रगतिबारे सम्बन्धित निकायका प्रमुखबाट जानकारी लिनुभयो । उहाँले अन्तिममा नेपाल वायुसेवा निगमको क्रियाकलापप्रति निकै असन्तुष्टि पोख्नुभयो । वायुसेवा निगमको सुधार गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन पनि दिनुभयो ।

‘एनएसीलाई छुट नै नहुने कुरा म के भन्छु भने एउटा जहाजले यात्रुलाई सेवा दिन सकेन भने अर्को जहाजको व्यवस्था गरेर तुरुन्तै सेवा दिनुप¥यो, तपाईँका जहाज चल्ने तालिका नै छैन, एनएसीका जहाज कहाँ चल्छन् भन्ने यात्रुलाई जानकारी नै छैन’ मन्त्री अधिकारीले प्रश्न गर्नुभयो, ‘जहाजको टिकट बिक्री पनि भएको छैन अनि तपाईँको प्लेन खाली उडिरहेको हुन्छ किन ?’

टिकट खोज्दा नपाइने तर जहाज खाली उड्ने समस्या गम्भिर भएको भन्दै तत्काल यसको हल गर्न उहाँले निर्देशन दिनुभयो । ‘पाइलटलाई पनि अलि अनुशासनमा राख्नुस्, मुड चल्यो जहाज उडाउने, चलेन भने नउडाउने, यस्तो पनि हुन्छ ? यो त एकदमै ठूलो दादागिरी हो, त्यसले गर्दा तपाईँले तालिका बनाएर दिनुहोस, विशेष कारणबाहेक पाइलटका कारण उडान रोकियो भने कारवाही गर्नुस ।’ उहाँले निर्देशन दिनुभयो ।

उहाँले एजेन्टले टिकट बिक्री गर्दा नेपाल एअरलाइन्सका टिकट नबेच्ने गरेको भन्दै अरु कतै खोज्दा पनि टिकट नपाएपछि नेपाल एअरलाइन्सका टिकट बेच्ने एजेन्टलाई जिम्मेवारी नदिन पनि उहाँले निर्देशन दिनुभयो ।

‘राष्ट्रपति र प्रधानमन्त्रीका विशेष कार्यक्रमबाहेक जो कसैले भने पनि नेपाल एअरलाइन्सका विमानलाई तालिका भन्दा दायाँबायाँ नचलाउन उहाँले निर्देशन दिनुभयो । ‘म पनि यस्ता कुरामा प्रेसर गर्दिन, कसैको प्रेसर तपाईँहरुले नसुने पनि हुन्छ ।’ उहाँले भन्नुभयो ।

‘तपाईँले १÷२ महिना परको पनि जहाज उड्ने समयको व्यवस्थापन गर्नुस न,तपाईँहरुले रेगुलर सेवा दिन्छौं भनेका ठाउँमा म एनएसीकै जहाज चढेर जाने हो, दायाँबायाँ सुन्न नपरोस्, रेगुलर सेवा दिनुहोस ।’