कति तलब खान्छन रसियाली राष्ट्रपति पुटिन ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कति तलब खान्छन रसियाली राष्ट्रपति पुटिन ?



एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक तलब सार्वजनिक भएको छ । अधिकारीहरुको सम्पत्ति विवरण पारदर्शी गर्ने भन्दै राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको सूची अनुसार पुटिनले सन् २०१७ मा १ करोड ८७ लाख रुबल अर्थात् ३ लाख २ हजार रुपैयाँ तलब बुझेका छन् ।

सार्वजनिक गरिएको सम्पत्ति अनुसार पुटिनसँग ८ सय २८ बर्ग फिटको भवन र एउटा ग्यारेज पनि छ । गत वर्ष पुटिनको सम्पत्तिमा १६ हजार १४५ वर्गफिट जमिनको प्लट समेत देखाइएको थियो । तर यो वर्षको उनको सम्पत्ति विवरणमा जमिन देखाइएको छैन । तर विदेशमा राखिएको सम्पत्ति सहित अन्य विवरण नराखिएको भन्दै हाल सार्वजनिक गरिएको पुटिनको सम्पत्ति विवरणमाथि आलोचना भएको छ ।

रसियाका राजनीतिक विश्लेषक स्टानिस्लाभ बेल्कोभ्स्कीले सन् २०१२ मै सर्गुट्नेफ्टेगस, ग्याजप्रोम र गनभोल लगायतका विभन्न कम्पनीमा पुटिनको शेयर रहेको र उनको कूल सम्पत्ति करीब ४० अर्ब अमेरिकी डलर पुगेको दाबी गरेका थिए ।

रसियाका भ्रष्टाचार विरोधी अभियान्ता अलेक्सेइ नाभाल्नीले, राज्यको सम्पत्तिमा १ सय ९७ एकड जमिनमा साढे १९ फिट अग्लो बार लगाएर बनाइएको इभानोभो क्षेत्रको महल पुटिनले आफ्नो बनाएको आरोप लगाएका छन् ।

सन् २०१३ मा पुटिनको मासिक तलब महिनाको १ लाख १५ हजार रुबल अर्थात साढे ९ हजार अमेरिकी डलर थियो । त्यसको एक वर्षमा उनले १ लाख १५ हजार अमेरिकी डलर कमाए । पछिल्ला वर्षमा उनको मासिक तबल  महिनाकै ६ लाख ४० हजार रुबल अर्थात् मासिक १६ हजार डलर पुर्‍याइएको थियो ।

क्रेमलिनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार रसियाली प्रधानमन्त्री दिमित्री मेद्भेदेभले सन् २०१७ मा ८५ करोड ६९ लाख रुबल अर्थात् १ लाख ४० हजार अमेरिकी डलर सम्पत्ति आर्जन गरेको तथा एउटा भवन भाडाको जमिन देखाइएको छ ।

अमेरिकामा भने गत १५ वर्षदेखि राष्ट्रपतिको तलब बढाइएको छैन । सन् २००१ देखि अमेरिकी राष्ट्रपतिको बार्षिक तलब ४ लाख अमेरिकी डलर तोकिएको छ । उनीहरुले मासिक ३३ हजार ३ सय ३३ डलर पारिश्रमिक पाउँछन् । साथै अमेरिकी राष्ट्रपतिले बार्षिक ५० हजार डलर अतिरिक्त भत्ता, कर नलाग्ने गरी १ लाख भ्रमण भत्ता र १९ हजार डलर मनोरञ्जनका लागि खर्च गर्न पाउँछन् ।

वर्तमान अमेरिकी राष्ट्रपतिले भने तलब लिएका छैनन् । उनले चुनावअघि नै ट्वीट गर्दै राष्ट्रपति निर्वाचित भएमा तबल नलिने घोषणा गरेका थिए । उनले आफ्नो पहिलो त्रैमासिकको तबल न्याशनलपार्क सर्भिस र दोश्रो त्रैमासिक तलब शिक्षा मन्त्रालयलाई दिएका थिए ।