पुन: राष्ट्रपति बन्न नपाए भण्डारीले सक्रिय राजनीति गर्ने ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पुन: राष्ट्रपति बन्न नपाए भण्डारीले सक्रिय राजनीति गर्ने !



नयाँ पत्रिका

काठमाडाैं: कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् ।

राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा छोटो समय रहेर बिदा हुन लागेका कारण सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्ने गरेकी छिन् ।

‘नदोहोरिएको अवस्थामा सम्भवतः उहाँ सक्रिय राजनीतिमा आउन पनि सक्नुहुन्छ, पटक–पटक राष्ट्रपति फेरिँदा राज्यलाई भार पर्ने भएकाले सेवा–सुविधा परित्याग गर्न सकिने उहाँको कुरा छ, विश्वका कतिपय मुलुकमा त्यस्ता उदाहरण रहेकाले उहाँले अनौपचारिक भेटघाटमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्दै आउनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

त्यसो त, राष्ट्रपति हुनुअघि एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले नवौँ महाधिवेशनलगत्तै आफूलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

यसक्रममा उनले नवौँ महाधिवेशनमा ओलीलाई सघाउने केन्द्रीय सदस्य, भ्रातृ संगठनका पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उपस्थितिमा एक कदम अघि बढेर छुट्टै भेला गरी उनले पार्टीमा ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

ओलीले राष्ट्रपति बन्ने ‘अफर’ गरेपछि पनि केही समय द्विविधामा परेकी उनले धेरै निकटस्थसँग परामर्श गरेर मात्र जिम्मेवारी सम्हाल्ने निर्णय लिएकी थिइन् ।

प्रचण्ड र नेपालले अस्वीकार गरे प्रस्ताव

वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने प्रस्ताव बारम्बार अस्वीकार गर्दै आएका छन् । स्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिणामलगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डलाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

तर, एकीकृत पार्टीमा सक्रिय राजनीति गर्ने चाहना रहेको भन्दै प्रचण्डले तत्काल प्रस्ताव अस्वीकार गरे । उता, नेपाललाई पनि प्रचण्ड र ओलीनिकट नेताहरूले राष्ट्रपति बन्नुपर्ने आशयको प्रस्ताव बारम्बार राख्दै आए पनि सक्रिय राजनीति गर्ने भन्दै अस्वीकार गर्दै आएकाे  छ ।

२६ माघमा आयोजित एक कार्यक्रममा नेपालले आफू सक्रिय राजनीति गर्ने पक्षमा रहेको प्रस्ट पार्दै राष्ट्रपति बन्दा काठमाडौं २ का जनताको भावनामा चोट पुग्ने बताएका थिए ।