सार्वजनिक गाडीले सिटभन्दा बढी यात्रु राखे ५ हजार जरिवाना ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सार्वजनिक गाडीले सिटभन्दा बढी यात्रु राखे ५ हजार जरिवाना !



हिमालपोष्ट/ सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । खास गरी माइक्रो र टेम्पोले सिट भन्दा बढी यात्रु राख्ने र अनियमितता गर्दै आइरहेका छन् । यसैलाई मध्यनजर गर्दै सरकारले यस्तो नियम लगाएको हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई ठाउँको ठाउँ कारबाही गर्ने निर्देशन दिइसकेका छन् । यस्ता सवारी साधनमा कोचाकोच गरेर यात्रु भर्ने र असुरक्षित यात्रा गर्ने क्रम बढेपछि सरकार यस्तो नियम बनाउन बाध्य भएको गृहमन्त्रीले बताएका छन् ।

बाटोमा जता पायो त्यति रोक्ने, सिट क्षमता भन्दा तीन गुणा सम्म यात्रु कोचाकोच बनाउने, लेन अनुसासन पालन नगर्ने, जेब्राक्रसिंगमा नरोक्ने जस्ता लापरबाही यस्ता सवारी साधनले गर्दै आइरहेका छन् । यात्रुको यात्रा सुरक्षा र गन्तव्यसम्म सुरक्षित पुग्ने वातावरण बनाउन यस्तो नियम लगाइएको गृहमन्त्रालयले जनाएको छ ।

यातायात व्यवसायीको एकाधिकार अन्त्य हुने क्रमसँगै माइक्रोबस र टेम्पोमा कष्टपूर्ण यात्रा गर्ने यात्रुलाई राहत दिन खोजेको यो कदम स्वागतयोग्य भएको सरोकारवालाले जनाएका छन् ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणलाई सानो, साँघुरो सवारीमा कष्टपूर्ण यात्रा गर्नबाट जोगाउन माइक्रोबस र टेम्पोमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन प्रतिबन्ध गर्नेछ। आइतबारदेखि सिट क्षमताभन्दा बढी यात्रु बोकेका अवस्थामा माइक्रोबस र टेम्पोले पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।