प्रसङ्ग : घोडाघोडी नगरपालिकाको बोक्सी प्रकरण र गोली काण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रसङ्ग : घोडाघोडी नगरपालिकाको बोक्सी प्रकरण र गोली काण्ड



–  दिनेश लामिछाने 

खै कसरी र कहाँबाट सुरु गरौँ आफ्नै नगरपालिकाको दुर्दशा ।

मिति २०७४/११/२४ गते १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको दिन एका बिहानै घोडाघोडी न.प. ५ देवकलियामा १८ वर्षीय अबोध नारी राधा चौधरीलाई बोक्सीको आरोपमा लगातार ६ घण्टासम्म निर्मम तरिकाले कुटपिट गरियो , राधा गाउँकै राष्ट्रिय मा.वि कक्षा ११ राजनीति शास्त्रकी विद्यार्थी हुन ।

जब उनीमाथि भयको अत्याचार र दुव्र्यवहारको भिडियो सामाजिक संजालहरुमा छ्यापछ्याप्ती आउन थाले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा महा-भूकम्प ल्यायो ।

जब राधालाई एम्बुलेन्समा राखी घोडाघोडी हस्पिटलमा ल्याइयो , अस्पतालमा पुराए पछि राधाको होस आयो अनि यही समयमा जाहेरी दिने भनी प्रहरी चौकी गई जाहेरी दिन लाग्ने समयमा झाक्रीलाइ पनि चौकी ल्याइयो र पिडक राम ब. ले आफू झाँक्री भएको र आफूले जे पनि गर्न सक्ने भनेपछि प्रहरीले झाँक्रीको खुट्टा ढोग्न थाल्यो , तर जाहेरी लिन मानेन सोही समयमा राम ब . ले रुपालाइ केही नभएको र आफूले भर्खरै झारफुक गरेर जस्ताको त्येस्तै बनाउने भन्दै झारफुक गरे जस्तो गरेर रुपालाइ चामल खान दियो ।

संयोगवस ठिक त्येही समयमा प्रहरी चौकीको गेटबाट घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्र. चौधरी सवार सेतो स्कारपियो भित्र छिर्‍यो तर नगर प्रमुख चौधरी एक शब्द नबोली रमिते बनेर फर्किए । कस्तो दुर्भाग्य ; पीडित राधाको पक्षमा वकालत गरिदिने कोही नभए पछि नगरपालिकाका नगर प्रमुख ,वडा-अध्यक्ष र भलमन्साको रहोबरमा पिडकलाइ छोडियो । तर रमिते मेयर चौधरी आफूले आफ्नो सङ्गलतामा अपराधीलाई छुटाएको कुरा स्विकार्दैनन ।

शुक्रवार त्यो घटनाको चौतर्फी विरोध र पीडित राधाका बुवाले किटानी जाहेर दिएपछि प्रहरीले राम ब. लाई फेरि पक्राउ गरो ।

अगिल्लो दिन जाहेरी लिन नमानेको र मिलापत्र गरी पिडकलाइ छोडियको आरोपमा इलाका प्रहरी कार्यालयका साइ दिनेश विष्ट लाई स्पष्टीकरण पश्चात् निलम्बमन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दियको छ ।

मलाइ प्रश्न सोध्न मन छ , मेयर साब तपाईँलाई जो जनताले भोट दिएर जनप्रतिनिधि बनाए तपाईँ तिनी हरूकै दुखमा मौन बस्न अनि अपराधीलाई छुटाउन पहल गर्ने महान् सोच कसरी आयो ? के घोडाघोडी नगरवासीले आफूलाई सधैँ सुरक्षाको घेराबन्दी भित्र रहेको महसुस गर्लान त ? के अब घोडाघोडी नगरवासी न्याय खोज्न गोर्खा नै जान पर्ने हो त ?

कि त तपाईँलाई ती पीडित राधाले भोट नदियको आशङ्कामा पीडितलाई पीडा थप्दै बस्नु भएको हो ?

बोक्सी प्रकरणको घटनाको अनुसन्धान तथा छानबिन हुँदै गर्दा घटना घटेको ४ दिन पछि अर्थात् फाल्गुन २८ गते मेयर चौधरीलाई राती करिब ८:१०/८:१५ को समयमा अपरिचित मानिसको समूहले मेयरको घरमा आइ केही काम छ भनी बाहिर बोलाई धारीलो हतियारको साथै गोली हानी हत्याको प्रयास गरेका थिए , घटना घटे लगतै मेयरका छिमेकी विशाल पाण्डेले स्कुटीमा राखी चौधरीलाई स्थानीय घोडघोडि अस्पतालमा पुराए । घोडाघोडी अस्पतालमा प्राथमिक उपचार गरी मेयर चौधरीलाई नेपालगन्ज रिफर गरियो , नेपालगन्जमा चौधरीलाई कि लखनउ कि काठमाडौँ लग्न पर्ने स्तिथी भयको कुरा आयपछि भोलिपल्टै नेपालगन्जबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो ,अहिले काठमाडौँ महाराजगन्ज स्थित त्री.बि शिक्षण अस्पतालमा अहिले मेयर चौधरीको उपचार भइरहेको र चौधरी खतरा मुक्त रहेको उपचारमा सङ्लग्न डक्टरको भनाइ छ ।

माथिका सबै घटना कैलालीको घोडाघोडी नगरपालिकामा घटेका घटनाको शृङ्खलाबद्ध घटनाक्रम हुन ।

अब हेरौँ के भयो त ती घटना घटी सकेपछिको घोडाघोडी नगरपालिकाको स्तिथी 

( पीडित किशोरी राधा सङ्ग सम्बन्धित )

१: जब राधामाथि मुड्की र लात्ती हरू बर्सिन थाले तब गाउलेहरु मेयर जस्तै रमिते बनेर हेरिरहे कोही पनि निस्किएन राधा प्रति मानवता देखाउन ।

२ : जनातालाइ सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी

लियको प्रहरी प्रशासन जाहेरी लिन मानेन उल्टै मिलापत्र गर्न लगाइयो ।

३: जनप्रतिनिधि मेयर चौधरी रमिता बनेर एक शब्द नबोलि निस्किए ।

४: सामाजिक सञ्जालमा चर्को विरोध भए पनि स्थानीयबासिको फाट्ट- फुट्ट विरोध रह्यो ।

५: किशोरी राधा चौधरी कैलालीको सेती अञ्चल अस्पतालमा उपचाररत छिन ।

६:- महिला शसक्तीकरणका नाममा डलर कुउम्ल्याउने करिब ५००० को सङ्ख्यामा रहेका सरकारी तथा गैरसरकारी सङ्घ-संस्था मध्य १४ वटा संस्था ले घटना घटेको ४ दिनपछि ध्यानाकर्षण विज्ञप्ति निकाले ।

७: नगरपालिकाका प्रमुख चौधरीले आफू पानी माथिको ओभानो बन्नकोलागि जिल्ला सदरमुकाम पुगेर पत्रकार सम्मेलन गरी घटना प्रति ध्यानाकर्षण र घटनाको घोर भ्रत्सना गर्दै दोषीलाई कर्वाहिकोलागी पहल गर्ने कुरा गरे।

(मेयर चौधरी सङ्ग सम्बन्धित)

१: मेयरलाई गोली लागेको केही समय नबित्दै त्येस क्षेत्रका बुद्धिजीवी , समाजसेवी , पत्रकार बन्धु ,शिक्षक प्राध्यापक, नेता घटानाको चासो राख्दै सलबलाए ।

२: प्राथमिक उपचार पश्चात् तुरुन्तै उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरियो ।

३:नेपाली  सेनाको हेलिकप्टरबाट नेपालगन्ज देखि काठमाडौँ ल्याइयो ।

४: विरोधमा बजार बन्द तथा चक्काजाम गरियो ।

५: सुखड स्रोतकेन्द्र स्तरिय विद्यालय बन्द गरियो ।

६: स्थानीय क्लब (युवा सङ्घ नेपाल , घोडिघोडी नगर आयोजक कमिटी )द्वारा विज्ञप्ति निकालियो ।

७: संयुक्त बाम गठबन्धन घोडाघोडी नगर कमिटी द्वारा बिज्ञाप्ति निकालियो ।

८: एमाले घोघोडाघोडी नगर कमिटी द्वारा बिज्ञाप्ती निकालियो ।

९: सुखड स्रोतकेन्द्र स्तरीय संयुक्त बिधालय द्वारा विज्ञप्ति निकालियो ।

१०:घोडाघोडी नगर शिक्षा शाखा द्वारा विज्ञप्ति निकालियो ।

११: नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन घोडाघोडी ब . क्याम्पस इकाइ कमिटी द्वारा विज्ञप्ति निकालियो ।

१२: प्रगतिशील प्राध्यापक सङ्गठन घोडाघोडी ब . क्याम्पस इकाइ कमिटी द्वारा विज्ञप्ति निकालियो ।

१३: घोडाघोडी नगरपालिका द्वारा विज्ञप्ति निकालियो ।

१४: लगभग नगरपालिकाका सबै बुद्धिजीवी, समाजसेवी शिक्षक अनि स्थानीय नेता प्रत्येकको फेसबुकको वाल मेयर साबको शीघ्र स्वास्थ्य लाभको कामनाले र घटनाको घोर भ्रत्सनाले भरियको छ ।

यी सबै सङ्घ , सङठन , स्थानीय क्लब , बुद्धिजीवी ,समाजसेवी , नेता , शिक्षक , प्राध्यापक हरू सायद राधाको घटनामा कानमा तेल हालेर मस्त निदाएका थिए ।

होइन भने खोइ राधाको न्यायको लागि मुख खोलेको ।

हाम्रो समाज जो २१ औँ शताब्दीको समाज जहाँ एक अबोध नारी बोक्सी को आरोपमा ६ घण्टासम्म निर्घात कुटिन्छिन अनि समाज रमिते बनेर हेर्छ, कठै मेरो समाज धिक्कार र मलाइ , कस्तो समाजमा हुर्किएछु ,मैले के सिकेछु अनि के सिकाएछु ।

कस्तो जमाना आएछ जो हुनेखाने छ उसैको पक्षमा दुनियाँ छ तर जो गरिब , दुखी , असाय पिछडिएको र पीडित छ उसकोलागी समाज रमिते छ ।

कहिले सुध्रएला मेरो टोल ,गाउँ , नगर , देश अनि विदेश ?

कहिले अन्त्य होला रुढीबादी परम्परा अनि संकार ?

कहिले अन्त्य होला महिला माथिको हिंसा अत्याचार र दमन ?

कहिले पाउलान पीडितले न्याय ?

भनिन्छ नेपालमा लोकतन्त्र आयो रे , तर खोइ कहाँ छ यो लोकतन्त्र ? मलाइ खोज्न र जान्न मन लाग्यो , कि त यो जङ्गलमा वा पहरामा फल्ने फलको नाम हो लोकतन्त्र , जो टिप्न र आफ्नो पहुचामा ल्याउन साह्रै गाह्रो हुनेगर्दछ । २०६२/०६३ मा नेपाली जनाताले गरेको राजतन्त्रको चर्को प्रदर्शन , त्याग , बलिदान र तपस्याले सैद्धान्तिक रूपमा त आयो क्यारे लोकन्त्र तर व्यबहारिकतामा खोइ लोकतन्त्र ? के यही हो लोकतान्त्रिक अभ्यास ? के जनाताले यही दिन भोग्नलाई आफ्नो जीवनको आहुति दियका हुन त ?यी सबै प्रश्न को उत्तर घोडाघोडी न.पा को मेयरमाथिको गोली काण्ड र राधालाई बोक्सीको आरोपामा ६ घण्टा सम्म निर्घात कुटियको घटनाले देखाइसकेको छ ।

सायद यहिनै होला हुनेखाने र हुदाखाने बिचको फरक !

अन्तिम निचोड

यो त एउटा प्रतिनिधि घटना मात्र हो । दिनहुँ जसो विशेष गरी नेपालको पश्चिम भूभागमा भइरहने महिला हिंसाका बारेमा हामीले सामाजिक सञ्जाल तथा सञ्चारका माध्यम द्वारा सुन्दै र देख्दै आयका छौ । आश्चर्यको कुरा त के हो भने राधा माथि लगाइयको बोक्सीको आरोप अनि उनी माथि भएको अत्याचारको घटना सेलाउन र राधाले न्याय नपाउँदै त्येस्तै प्रकृतिको महिला हिंसा कैलालीको लम्किमा र कंचनपुरमा भयो । जुन घटनामा एकठाउमा खोकाभित्र सुतिरहेको महिला माथि आगो लगाउने प्रयास र अर्को ठाउँमा बिहे गर्न नमानेको भन्दै मुखमा तातो घ्यू खनाइयो ।

के यी सबै घटना सामान्य प्रकृतिका छन् त ? किन खोल्दैन मुख सरकारले ?

कति कमजोर छ हाम्रो न्यायपालिका , जो जघन्य अपराध गर्छन् ती मध्य केही अपराधीहरू कानुनको दायरामा आउदैनन , केहीले आयपनी केन्द्रको भनसुनमा उनमुक्ती पाउछन र केहिमात्र जसको घटनाको ढाकछोप गर्न सरकारको उच्च तहमा कोही रहँदैन तिनीहरू त जेलमा सडिरहेका छन् । सायद यही फितलो न्याय प्रणाली र कमजोर कानुनले गर्दा त होइन अपराधीहरू सक्रिय भयका ? कि त न्यायका ढोका पैसाहुने र न्याय किन्नेको लागि मात्र हो , होइन भने किन पाइनन त राधाले अहिले सम्म न्याय ?

यस्ता अपराधीहरूलाई त सामाजिक रूपमा बहिष्कार गर्नु पर्ने हुन्छ सकेसम्म त त्येस्ता अपराध गर्ने अपराधीलाई त फाँसी दिन पर्छ ।

समाज परिवर्तनको लागि त देश , समय , परिवेश ,परिस्थिति र कालखण्ड अनुसार समाजमा भयका कुरिती , कुसंस्कार ,परम्परागत सोच , कुप्रथालाइ विभिन्न जनचेतनामूलक कार्यक्रम द्वारा बदल्न आवश्यक छ । त्येसैले यो कुरामा सम्बन्धित निकायको ध्यानाकर्षण होस

सायद धनीका छोरीहरू दिउसै हेर्दा डर लाग्ने भए पनि उनीहरूलाई मिस तथा उच्च स्तरको सम्बोधन र भगवानको अवतार सम्झी पुजागर्ने यो समाज गरिबका छोराछोरी जो हेर्दै मोहलाग्ने हुन्छन् तैपनि उनीहरूलाई निम्न स्तरको सम्बोधन गरी उसलाई हुने नहुने आरोप प्रत्यारोप लगाइन्छ ।

कहिले पुरिन्छ यो गरिब र धनी बिचको खाडल ?

अन्तिममा पाठकबृन्दमा मेरो प्रश्न के छ भने

के राधा साचिकै बोक्सी हुन त ?

के वास्तवमा बोक्सी हुन्छन् त ?

( लेखक लामिछाने त्रिभुवन  विश्वविद्यालयमा  अङ्ग्रेजी शिक्षा अध्यनरत छन् र उनी टि यु का विद्यार्थी नेता हुन)