नाकाबन्दी र ओली सरकार ढाल्नुले कांग्रेस हार्यो: प्रकाशमान सिंह - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नाकाबन्दी र ओली सरकार ढाल्नुले कांग्रेस हार्यो: प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् ।

साथै प्रधानमन्त्री पदको हतार गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नौ पन्ने लिखित प्रस्ताव पेश गर्दै सिंहले देउवाको चर्को आलोचना गरेका छन् ।

भारतले नाकाबन्दी लगाएर नेपाली जनतालाई अनाहकमा ठूलो कष्ट दिंदा समेत भारत रिसाएर भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट कांग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन’ उनले भनेका छन् ।

उनले पार्टी सभापति देउवामाथि व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्रीलाई जिताउन खेलेको भूमिका कांग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो’ उनले भनेका छन् ।

प्रचण्डलाई धोकोबाज नेता भन्दै सिंहले उनीसँग मिलेर ओली सरकार ढाल्नु र प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण कांग्रेस हारेको उनको दाब्बी छ ।

‘हाम्रो नेताले प्रधानमन्त्री पदको हतारो नगरी केही महिना मात्र पर्खिएको भए भारतको चर्को आलोचना मात्र गरेर बनेको ओलीको कथित खोक्रो राष्ट्रवाद जनताका बीच उखाङ्गो हुने थियो’ उनले भनेका छन्, सभापतिले राजनीतिक धैर्यता सुझवुझ नदेखाउँदा निर्वाचनमा वाम गठबन्धनले सफलता प्राप्त गरिहँदा हामीले यो दुःखद पराजय भोग्नु परेको यथार्थलाई हामीले भुल्नु हुँदैन ।’

सिंहले सभापतिमाथि गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन् । आईजीपी प्रकरणले सिंगो पार्टीलाई बदनाम गराएको भन्दै सिंहले वाढी पीडितलाई सम्बोधन गर्दा ज्ञापन पत्र पढेको, बीबीसी साझा सवालमा देउवाको प्रस्तुति, राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका बेला दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्रीका रूपमा कांग्रेस नेताको कार्य कौशलता र क्षमतामाथि प्रश्न उठेको उनले बताए ।

सिंहले भनेका छन्, पार्टीको स्टार प्रचारक हुनु पर्ने पार्टी सभापतिको अलोकप्रियताको कारण अधिकांश उमेद्वारहरूले भोट घट्ने मनोविज्ञानबाट भरसक सभापतिलाई आफ्नो निर्वाचन अभियानमा लैजान रुचाएनन् ।’

कांग्रेस नेता सिंहले तत्काल पदाधिकारीहरु नियुक्त गर्नुको औचित्य नरहेको बताएका छन् । महासमिति बैठक बोलाएर विधान संशोधन गर्नु पर्ने र त्यसपछि मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने उनको माग छ ।