प्रहरी मुख्यालयमा आक्रमण:चारको मृत्यु, कैयौँ घाइते - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रहरी मुख्यालयमा आक्रमण:चारको मृत्यु, कैयौँ घाइते



इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ ।

उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।

आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए ।

तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सुरबियाका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन् ।

प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।

आइतबार तिनै आतंककारीले चर्चमा हमला गरी प्रार्थनाका क्रममा रहेका व्यक्तिको हत्या गरेका थिए । आइतबार बिहान तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् ।

इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादानको वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ ।

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।

यस हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ ।

यहाँको प्रहरीले चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको बताएको छ । आइतबारको आक्रमणपछि चर्चमा थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ ।

तर सोमबार बिहान भने ती हमलाकारीहरुले प्रहरी मुख्यालयमै आत्मघाती हमला गरेको बताइएको छ । आइतबार देखि नै उक्त सहरमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ । रासस/एएफपी