प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले चुम्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले चुम्यो



धनगढी ,कैलाली । कैलालीको धनगढीमा फागुन ९ गते देखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफ क्लबले उपाधी चुमेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६० रनको न्यून स्कोर बनाएको थियो । ६१ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । पूुर्वाञ्चलका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् ।

एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सीता राना मगर, रीतु कनोजीया र अन्जलि चन्दले १/१ विकेट लिए ।
एपीएफको जितमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिइन् । पूर्वाञ्चलका संगीता राई र शान्ति चौधरीले १/१ विकेट लिए ।

विजेता एपीएफले पाँच  र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कारसहित प्रमाणपत्र र ट्रफी हात पारे ।पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट बलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याट्स वुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् ।

त्यसैगरी, सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चलनै चुनियो । फाइल तस्बिर :