प्रदेश नम्बर ५: सरकार गठनमा ढिलाई हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश नम्बर ५: सरकार गठनमा ढिलाई हुने



बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ । माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ । पहिलो संसद बैठककै दिन संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी एमालेले गरेको थियो ।

माओवादीले संसदीय दलको नेता नचुन्दा मुख्यमन्त्री नियुक्ति सभामुख चयन गरेपछि मात्रै हुने देखिएको छ । सभामुख चयनका लागि आइतबारको पहिलो बैठकले फागुन २ गते संसद बैठक आह्वान गरेको छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले माओवादी केन्द्रमा सहमति जुटाउन आन्तरिक समस्या रहेको बताए । ‘उहाँहरूले संसदीय दलको नेता चुन्नुभएको छैन, नेता चुन्नासाथ मुख्यमन्त्री चयनको काम अघि बढ्नेछ’, उनले भने । सहमति जुटाउन समय लाग्ने भएकाले माओवादीकै आग्रहका कारण माघ २८ गते हुने भनिएको सभामुख चयनको मिति फागुन २ मा सरेको उनले बताए ।

माओवादीमा संसदीय दलको नेता र सभामुख चुन्न सकस छ । दलको नेता र सभामुखको उम्मेदवार तयार गर्न र बाँकी नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकाले पनि निर्णयमा ढिलाई भएको छ । माओवादीभित्र संसदीय दलको नेतामा कुलप्रसाद केसीको बारेमा सहमति जुट्ने सांसद पूर्णबहादुर घर्तीले बताए । ‘दलको नेतामा उहाँ (कुलबहादुर केसी) नै चयन हुनुहुन्छ’, उनले भने । तर सभामुखको विषयमा टुंगो नलागिसकेकाले दलको नेतामा निर्णय नभएको उनले बताए ।

पाँच नम्बर प्रदेशमा एमालेबाट मुख्यमन्त्री र माओवादीबाट सभामुख हुने बाम गठबन्धनको सहमति छ । त्यही सहमति अनुसार शपथकै दिन एमालेले पोखरेललाई नेता चुनेको थियो । माओवादीबाट दलको नेता चुनिन लागेका केसी पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका व्यक्ति हुन् ।

माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले मंगलबार बस्ने बैठकले संसदीय दलको नेता र सभामुखको उम्मेदवार टुंगाउने बताए ।
‘मंगलबार दाङमा हामी यसबारे बैठक बस्दैछौं, उनले भने– त्यही बैठकले निर्णय गर्छ, फागुन १ अघि नै हामी सबै टुंगो लगाउँछौं ।’
माओवादीमा सभामुखका लागि आकांक्षी धेरै भएकाले त्यसमा सहमति जुट्न सकेको छैन । सभामुखका लागि दधिराम न्यौपाने, पूर्णबहादुर घर्ती र सुदर्शन बरालको दाबी छ ।

माओवादी श्रोतका अनुसार संसदीय दलको नेताका लागि तयार भएका कुलप्रसाद केसी सभामुख हुन इच्छा देखाएमा उनलाई नै सभामुख बनाउन माओवादी नेताहरूको अनौपचारिक सहमति बनेको छ । ‘कुलप्रसाद केसीले सभामुखमा ओके गर्नुभयो भने उहाँ नै हुनुहुन्छ, उहाँ संसदीय दलको नेता बन्ने भन्नुभयो भने अरू तीनजनाबाट एकजना ल्याइन्छ’– माओवादी केन्द्रका ती नेताले भने ।

माओवादी नेताका अनुसार दधिराम न्यौपानेलाई जसरी पनि कुनै पद दिनुपर्ने बाध्यता छ । ‘उहाँ अलि सिनियर पनि हुनुभयो, त्यसैले सभामुख या मन्त्री एउटामा उहाँलाई लैजानुपर्ने हुन्छ, उनले भने– उहाँले मन्त्री पाउनुहुने भयो भने सभामुखमा पूर्णजी र सुदर्शनजीमध्ये एकजना जानुहुन्छ ।’ माओवादीले अहिले ११ सदस्यीय मन्त्रीमण्डल बनाएर ४ जना मन्त्री दिन एमालेसँग माग गरिरहेको छ ।

वाम गठबन्धनको केन्द्रीय सहमतिअनुसार कुल संख्याको १० प्रतिशतको मात्रै मन्त्रिमण्डल बनाउनुपर्छ । तर प्रदेश नम्बर पाँचमा एमाले र माओवादीबीच मन्त्रीको भागवण्डा पनि मिलिसकेको छैन । एमालेले ५ र माओवादीले ३ मन्त्री राख्ने प्रस्ताव एमालेको छ । तर माओवादीले आफूले ४ मन्त्री पाउनुपर्ने बताउँदै आएको छ ।

कुन मन्त्रालय भन्ने विषयमा दुई पार्टीबीच सहमति भइसकेको छैन । माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन (गृह), आर्थिक मामिला तथा योजना (अर्थ) लगायतका मन्त्रालय आफूले पाउनु पर्ने बताउँदै आएको छ । एमाले भित्र पनि शक्तिशाली मन्त्रालय आफ्नो भागमा राख्नुपर्ने पक्षका नेता धेरै छन् । सांसदहरूलाई व्यवस्थापन गर्नका लागि पनि मन्त्रालय बाँडफाँडमा दलहरूको दाबी छ ।

एमाले सचेतक ढकालले मन्त्रालयको विषयमा दुई पार्टीबीच छलफल नै नभएको बताए । ‘अहिले मुख्यमन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद बनाउने कुरा हो, मन्त्रालयको विषयमा छलफल नै भएको छैन’, उनले भने । अस्थायी मुकाम बुटवलमा मुख्यमन्त्रीसहित मन्त्रालयको कार्यालय खुलिसकेका छन् । पाँच नम्बर प्रदेशमा रहेका ८७ सांसदमध्ये बाम गठबन्धनमा ६१ सांसद छन् ।