प्रचण्डलाई देवी ज्ञवालीको साथ ,विगतका कुराहरु विर्सेर वाम गठबन्धनलाई जिताउन लाग्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डलाई देवी ज्ञवालीको साथ ,विगतका कुराहरु विर्सेर वाम गठबन्धनलाई जिताउन लाग्ने



काठमाण्डौ /कात्तिक ८ 

स्थानीय चुनावमा चितवनको भरतपुर महानगरपालिकाको चुनावको विवाद निकै उत्कर्षमा पुग्यो । एमालेको तर्फबाट मेयरको उम्मेद्वारमा उठेका देवी ज्ञवाली र कांग्रेस–माओवादी एलायन्सबाट मेयरको उम्मेद्वारमा उठेकी प्रचण्डपुत्री रेणु दाहालबीच ठूलो राजनीतिक लडाई भयो ।

पहिलो चरणको चुनवमा मतपत्र च्यातेर विवादलाई उत्कर्षमा पुर्याएको कांग्रेस–माओवादी पक्षले अन्ततः रेणु दाहाललाई जिताई छाड्यो । उक्त घटनाको राप सेलाएको चार महिना नपुग्दै अहिले मंसिरमा हुने प्रदेश र संघीय चुनावमा एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको छ । अहिले भरतपुरमा साम, दाम, दण्डभेद प्रयोग गरेर हराईएका एमाले नेता देवी ज्ञवाली के गर्दै होलान् ? सबैलाई कौतुहलको विषय छ ।

पाठक वृन्द, राजनीतिमा स्थायी शत्रु र मित्रको कुरा रहँदैन भनेझै उनै ज्ञवालीलाई अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि एक–पटक चुनावमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

बुधबार देवी ज्ञवालीले एमाले अध्यक्ष ओली निवास बालकोटमा ओली र प्रचण्ड दुवैलाई भेटेका छन् । ओली र प्रचण्डले निकै आग्रह गरेपछि ज्ञवाली प्रचण्डसँगै भेटघाट गर्न ओली निवास बालकोट पुगेका थिए । सो भेटमा ओली र प्रचण्डले ज्ञवालीले भरतपुरमा चुनाव हारेपनि उच्च राजनीतिक संस्कार देखाएको भन्दै प्रशंसा गरेका थिए ।

प्रचण्डले आगामी मंसिरमा हुने चुनावमा पनि आफु र बामपन्थी गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले यतिसम्म भन्न भ्याएका थिएकि चुनावमा पराजित भएपनि ज्ञवालीले राजनीतिक संस्कृति प्रदर्शन गर्नुभएको र त्यसबाट आफुले पाठ सिकेको र त्यसलाई व्यवहारमा उतार्न प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

श्रोतका अनुसार आगामी मंसिरमा चितवनबाटै उठ्ने तयारीमा रहेका प्रचण्डलाई पनि ‘देवी ज्ञवालीको साथ छ है’ भन्ने म्यासेज बाहिर पठाउन त्रिपक्षीय भेटघाट गरिएको श्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि प्रचण्डको प्रस्तावमा समर्थन जनाएका थिए । ज्ञवालीले भने आफुले विगतका कुराहरु विर्सेर वाम गठबन्धनलाई जिताउन लाग्ने प्रतिबद्धतासहितको जवाफ दिएका थिए ।