प्रचण्डको महानता :स्वीकारे बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रचण्डको महानता :स्वीकारे बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती



चितवन /कात्तिक १८ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ ।

दिवाकर-तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उहाँले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताउनुभयो ।

बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुग्नुभएका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताउनुभयो ।

दाहालले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गर्नुभएको थियो । घटनापछि दोस्रो पटक उहाँ माडी पुग्नुभएको हो । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उहाँ त्यहाँ पुग्नुभएको थियो ।

त्यतिबेला पीडितका लागि ६० लाखको एकमुष्ट राहत घोषणा गर्नुभएको थियो । दाहालले त्यो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताउनुभयो ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन्’, दाहालले भन्नुभयो, ‘दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन सकेको छैन ।’

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् । कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्को आलोचना भएको थियो ।

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उहाँले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताउनुभयो । अब बन्ने सरकारले त्यो  आगामी पाँच वर्षभित्र समस्याको समाधान गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताउनुभयो । वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उहाँको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आज मात्रै राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गर्नुभएका बद्री तिमिल्सिनालगायतले बोल्नुभएको थियो । सो अवसरमा तिमिल्सिनासँगै राप्रपा (प्रजातान्त्रिक) का ३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।