प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति भएको थियो :गौतम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति भएको थियो :गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छन् ।

बीबीसी नेपाली सेवासँग शुक्रबार कुरा गर्दै उपाध्यक्ष गौतमले भने- ‘प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति तालमेल अगाडी नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन ।’

एमालेका केही नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा अध्यक्ष केपी ओली नै रहने सार्वजनिक अभिब्यक्ति दिइरहेका बेला तालमेलका मुख्य सूत्राधार मानिएका नेता गौतमले भने प्रधानमन्त्री नै आलोपालो चलाउने गरी चुनावी तालमेलको सहमति भएको बताएका छन् ।

आलोपालो पद्दतीअनुसार कति-कति समय कसले प्रधानमन्त्री चलाउने भन्ने बिषयमा भने ठोस सहमति नभएको उनले बताए । ‘पाँच बर्ष एउटा नेताले, अर्को पाँच बर्ष अर्को नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि कसैले दुई बर्ष गर्ने र अर्को कसैले तीन बर्ष गर्ने पनि हुनसक्छ ।’ गौतमले भने- यसमा ठ्याक्कै मिति तोकिएको हैन् ।’

आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको तर अध्यक्ष पदका लागि नभएको गौतमले बताए । पार्टी एकताको प्रकृया चुनावी तालमेलसँगै सुरु भएको बताउँदै उनले यो प्रकृया छिटै अगाडी बढने बताए ।

एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद केपी ओलीले नै लिने बताएका थिए । पोखरेलको सो अभिब्यक्तिपछि माओवादीभित्र तरंग उत्पन्न भएको थियो ।

माओवादी नेताहरुले सरकार र पार्टीको नेतृत्वका सम्बन्धमा अध्यक्ष प्रचण्ड र केपी ओलीवीच ठोस सहमति भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार दुई कार्यकारी पद दुई जनालाई बाँड्नेगरी नेताहरुवीच सहमति भएको थियो ।