प्रचण्डले भने: युवाको विशाल फौज हेर्ने इच्छा छ ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

प्रचण्डले भने: युवाको विशाल फौज हेर्ने इच्छा छ !



२ भदौ, काठमाडौँ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युवाको विशाल फौज हेर्ने इच्छा रहेको बताएका छन् । वाइसियलको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने र युवाको विशाल फौज हेर्ने इच्छा भएको बताएका हुन् ।

प्रचण्डले सबै माओवादीलाई एकताबद्ध गर्ने र सुदृढ सङ्गठन बनाउने अभियानमा लागेको बताए । पूर्व माओवादीहरुलाई पार्टी एकताका लागि आहृवान गर्दै उनले भने, ‘युवाहरूको विशाल फौज हेर्न चाहन्छु, मेरो अन्तिम इच्छा त्यही हो ।’
पहिलो र दोस्रो चरणको स्थानीय चुनावको जनादेशले सबै माओवादीलाई एकता हुन भनेको भन्दै उनले माओवादीलाई एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीहरुबीच एकताको वातावरण निर्वाह गर्न युवाहरूलाई आह्वान गरे । माओवादी कमजोर भएमा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उनलेे भने, ‘सबै माओवादी एकतावद्ध हुने प्रक्रिया चल्दैछ । एकता अभियानलाई पूर्णता दिने वातावरण बनाउन म अपिल गर्दछु ।’

राष्ट्रियताको नाममा मधेस र पहाडे समुदायबीच बिभाजन ल्याउने षडयन्त्र भइरहेको आशंका प्रचण्डले गरे । राष्ट्रियता कमजोर पार्ने र देशलाई बिखण्डनतिर लैजाने षडयन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई रोक्न युवाहरूलाई आग्रह गरे । ‘जनता जनतालाई भिडाउने षडयन्त्र भइरहेको छ । जातिवाद, नश्लवाद हुँदै फाँसीवादमा जाने खतरा छ,’ प्रचण्डले भने ।