एक एक किन चीन र भारतको भ्रमणमा जाने तयारी गरे प्रचण्डले ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एक एक किन चीन र भारतको भ्रमणमा जाने तयारी गरे प्रचण्डले ?



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नयाँ विश्व परिस्थितिमा पुरानै तरीकाले तीब्र गतिमा देश विकास गर्न नसकिने बताउनु भएको छ । तीब्रगतिमा देश विकास गर्न नयाँ मोडल चाहिने उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौती र भावी कार्यदिशा’ विषयको एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विकासका मोडल हेर्न र विकास एजेण्डामा छलफल गर्न आफू छिट्टै चीन र भारतको भ्रमणमा जाने तयारी रहेको उहाँले बताउनु भयो ।

राजनीतिक परिवर्तनको आन्दोलन सकिएकाले अबको संघर्ष विकासका लागि भएको भन्दै विकासमा विपक्षी नरहेको बताउनुभएको छ ।लोकतान्त्रिक मूल्य मान्यतामा सत्ता पक्ष र प्रतिपक्ष भए पनि अहिले विकास निर्माणमा कोही प्रतिपक्ष नरहेको बताउनुभयो ।

लामो समय सरकारमा रहेर अनुभव हासिल गरेको विपक्षी र केही गरौँ भन्ने सत्तापक्ष भएकाले सबैको साझा एजेण्डा विकास र समृद्धि भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “विगतमा राजनीतिक विषयमा सबैको ध्यान केन्द्रित हुने भए पनि अहिले आम जनता, राजनीतिक दल र सरकारको ध्यान विकासमा केन्द्रित छ ।” अब विकास र समृद्धिको दशक बनाउनुपर्ने बताउँदै उहाँले विकासका लागि सबै एक ठाउँ भएको अवसर गुमाउन नहुने बताउनुभयो ।

विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उहाँले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन मोदीले निम्तो दिएको पनि बताउनुभयो । छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि उहाँले बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि आफू पालोपालो भारत र चीन जाने तयारी गरेको उहाँले बताउनुभयो । चीन र भारतले देशका अन्य ठाउँमा झैं चितवन केन्द्रित एक÷एकवटा गौरवका आयोजनामा सहयोग गरोस् भन्ने आफ्नो चाहना रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले आफू, प्रधानमन्त्री र अर्थमन्त्री बीचमा बजेटका विषयमा तीन घण्टा बहस भएको भन्दै उहाँले चुनावमुखी लोकप्रिय बजेट नभएर जनता, राष्ट्र र देशको अर्थतन्त्रलाई हेरेर बनाइएको बजेट भएको बताउनुभयो ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनु भएका दाहालले भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरको महानगर बनाइनुपर्ने बताउनुभयो । देशको केन्द्रभागमा रहेको, प्राकृतिक स्रोतसाधनले सम्पन्न, धार्मिक हिसाबले महत्वपूर्ण, राम्रो भौगोलिक अवस्थितिका कारण यसलाई अन्तर्राष्ट्रियस्तरको नमूना महानगर बनाउन सकिने बताउनुभयो ।

उहाँले भरतपुर महानगरमा बनाउने गुरुयोजना अध्ययन, अनुसन्धान र छलफल गरेर निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले ‘भरतपुरको क्षेत्रीय अवस्थिति र विकासको सम्भावना’, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्यले ‘समृद्ध भरतपुरका लागि व्यवस्थित शहरीकरण’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठले ‘स्मार्ट भरतपुरः योजना र सम्भावना’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी, नेकपाका नेता ईश्वरी भट्टराई, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले महानगर गुरुयोजनाका लागि सुझाव दिनुभएको थियो ।

सो अवसरमा महानगरकी प्रमुख रेनु दाहालले सबैको सुझाव संकलन गरेर गुरुयोजना निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले विगत एक वर्षमा महानगरले गरेका कार्यहरु प्रस्तुत गर्नुभएको थियो ।