डा महतले भने: प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा महतले भने: प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भए पनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन्।

आइतबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरूलाई आफूहरूले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएको जस्तो कुनै उलटपुलट नभएको बताएका हुन्। उनले भने,‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको डा. महतको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरू समेटिएको जनाए।

उनले भने, ‘नाकाहरू खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होइनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो।’ चीनको ओविआर अवधारणमामा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने, ‘ओविआर मात्रै होइन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यीलगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ। उनले भने, ‘यो अत्यन्तै सकारात्मक छ।’ यद्यपि उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्विपक्षीय सम्झौता (एमओयू) भएको पनि खुसी व्यक्त गरे। तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ। नेता महतले अघि भने, ‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरू भएका छन्, यी सम्झौताहरू हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ।’

त्यस्तै उनले एक हजार मेगावाटको मस्र्याङ्दी जलविद्युत परियोजना निर्माण गर्नेबारे पनि यस पटकको भ्रमणमा भएको सम्झौताप्रति टिप्पणी गर्दै भने, ‘तर सम्झौता इपिसिएफ मोडेलमा गरिएको छ, मैले बुझेअनुसार यो मोडेल भनेको सरकार–सरकारबीच गरिने मोडल हो, तर यहाँ त प्राईभेट सेक्टरसँग सम्झौता गरिएको छ, यसमा बुट मोडलमा हुनुपर्ने हो, उक्त मोडेलका सम्झौतामा निजी क्षेत्रलाई किन संलग्न गराई? हामीले बुझ्न सकेका छैनौँ।’ प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गरेका सम्झौताहरुको शब्द र शर्तका वास्तविकता भविष्यमा थाहा हुनसक्ने नेता महतको भनाइ छ। उनले भने,‘कतिपय सम्झौताहरु अस्पष्ट छन्, कतिपय भने विगतमा नै भैसकेका छन्।’ सिमामा मितेरी पुल निर्माण गर्ने, नुवाकोटको सात तले दरबार र काठमाडौंको हनुमानढोकाको ९ तले दरबारको पूर्ननिर्माण गर्ने लगायतका केही सम्झौताहरु यसअघि नै भैसकेको महतको जिकिर छ ।

त्यस्तै महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरूको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए। उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले दुर्इ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले पाँच वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि सात वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ।’ यद्यपि नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए।

चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि पाँचदेखि छ अर्ब अमेरिकी डलरको लागत पर्न आउने पनि उनले जनाए। नेपालले अहिले ऋणको रूपमा ठूला परियोजनाहरू लिन नसक्ने पनि महतको भनाइ छ। उनले भने,‘मुलुकनै धान्न नसक्नेगरि हामीले ऋण लिनु हुँदैन्, परियोजनाबाट आउने प्रतिफल हेरेरमात्रै ऋण लिनुपर्छ।’ उनले चिनियाँ रेल अनुदानमा आउँदा स्वागतयोग्य हुने स्पष्ट पारे। उनले चीनसँगमात्रै नभएर भारतबाट रेल ल्याउँदा पनि अनुदानमै ल्याउनुपर्नेमा जोड दिए। उनले भने,‘नेपालले रेलवे निर्माणजस्ता ठूला परियोजना निर्माण गर्दा प्रतिफलको बारेमा गम्भीर अध्ययन गरेरमात्रै अघि बढ्नुपर्छ।’