पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने: प्रवक्ता बराल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने: प्रवक्ता बराल



काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको जनाउँदै पछिल्लो समयमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिने स्पष्ट पारेका हुन् ।

उनले भने, “विद्यार्थीहरू, उपभोक्ताहरूले मूल्यबृद्धि फिर्ता गर्नको लागि आग्रह गरिरहनुभएको छ, यो मूल्यबृद्धि हामीले गरेका होईनांै, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्यबृद्धि गरिएको हो, तथापि सरकारले नेपाल आयल निगमको मासिक घाटालाई कतैबाट सन्तुलन राख्ने मार्ग देखाउँछ भने हामी मूल्यबृद्धि फिर्ता गछौँ ।”

प्रवक्ता बरालले ग्याँस उद्योग व्यवसायीहरूले ५ प्रतिशत कमिसन माग गरेकोमा आपत्ति जनाउँदै सरकारी नियम कानुनको पालना गर्न आग्रह गरेका छन् ।

उनले अघि थपे, “जाडो बढेका कारण ग्याँसको माग बढेको छ । प्राप्त मात्रामा ग्यास उपलब्ध हुने भए पनि विगतको नाकाबन्दी पछि एउटै भान्छामा ५÷६ वटा सिलिण्डर राख्ने गरिएको छ, २ वटा राखेर ३ वटा सिलिण्डर फिर्ता गर्नुपर्छ ।”

मासिक २६ करोड निगम घाटामा गएको बताउँदै प्रवक्ता बरालले विगत २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे ।

उनले भने, “जनतामा भ्रम छ, आन्दोलन गर्नेहरुले भम्र छर्नुभएको छ, निगमका कर्मचारीहरूले २०५६ सालदेखि आजसम्म बोनस भत्ता खाएका छैनन्, विगत २ आर्थिक वर्षमा निगम फाइदामा गएको थियो, फेरीपनि उही दिशामा हिँड्दै छ, आजको दिनमा प्रति सिलिण्डरमा २४० रुपैयाँ घाटामा बेचिरहेको छ ।”

सरकारले जनतालाई मार नपर्नेगरि मूल्य बढाएको उल्लेख गर्दै उनले भने, “यसलाई निगमले कायम राख्छ, तत्काल मूल्य फिर्ता लिएर समस्या समाधान हुँदैन, तत्कालको लागि बैङ्कबाट लान लिएर मूल्य स्थिर राख्न सकिएला फेरि पछि अन्य कोणबाट उही जनताले नै कर तिर्नुपर्ने हुन्छ ।”

त्यस्तै नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले नेपाल ग्याँसबाहेक अन्य उद्योगहरू सुरक्षाका हिसाब कमजोर रहेको भन्दै दोषी उद्योगमाथि कारबाही गरिने चेतावनी दिए ।