पत्नी सीताको उपचारका लागि प्रचण्ड सिंगापुरमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पत्नी सीताको उपचारका लागि प्रचण्ड सिंगापुरमा



नयाँ पत्रिका : काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर गएका छन् । पत्नी सीताको स्वास्थ्य उपचारको सिलसिलामा उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । पुत्र प्रकाश दाहालको निधनपछि सीताको स्वास्थ्यमा केही समस्या देखिँदै आएको थियो । उनको सिंगापुरस्थित एमपी एलिजाबेथ अस्पतालमा स्वास्थ्य परीक्षण गरिने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

‘चिकित्सकले केही समयपहिले नै सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परीक्षण गराउन सुझाब दिएका थिए । तर, अध्यक्षज्यू पार्टी एकताको काममै बढी व्यस्त रहनुपरेकाले समय व्यवस्थापन हुन सकेको थिएन,’ सापकोटाले भने, ‘अहिले समय व्यवस्थापन गरेर उहाँ जानुभएको हो ।’ प्रचण्डसँगै पुत्री गंगा र भतिज समिर दाहाल तथा सीताको ‘केयर’ मा खटिएकी एकजना नर्स पनि सिंगापुर गएका छन् । प्रचण्ड ८ असारमा फर्किने कार्यक्रम रहे पनि स्वास्थ्य परीक्षणको अवस्थाले समय लम्बिन पनि सक्ने पारिवारिक स्रोतले जनाएको छ ।

को हुन्छ नेकपाको कार्यवाहक अध्यक्ष ?
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छन् । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले अध्यक्ष ओलीले मंगलबारै कार्यवाहक अध्यक्ष तोक्नुपर्नेछ । तत्कालीन एमालेमा अध्यक्षपछिको मर्यादाक्रममा क्रमशः वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रहे पनि वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई ओलीले कार्यवाहक अध्यक्ष तोक्ने गरेका थिए । तर, नवगठित नेकपामा भने दुई अध्यक्षसहितको नौ सदस्यीय सचिवालय रहेको छ । अध्यक्षपछिको मर्यादाक्रममा क्रमशः वरिष्ठ नेता नेपाल र त्यसपछि खनाल छन् । महासचिव विष्णु पौडेलसहित नौजना सचिवालय सदस्य हुन् ।

नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीको विधानमा अध्यक्षले कार्यक्षेत्रबाहिर रहँदा कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था गरेकाले त्यसबमोजिम नै निर्णय हुन सक्ने बताए । ‘विधानमा व्यवस्था छ, कसलाई तोक्ने कुराचाहिँ अध्यक्षज्यूको स्वविवेकमा पनि भर पर्ने कुरा हो,’ उनले भने । यसअघि ओलीले कार्यक्षेत्रबाहिर जाँदा कार्यवाहक अध्यक्ष, कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक संसदीय दलको नेता तोक्दै आएका छन् । यसअघि कार्यवाहक प्रधानमन्त्री भने दोस्रो बरीयतामा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेता उपनेता सुवास नेम्बाङले पाउँदै आएका थिए ।