पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ



काठमाडौँ, फागुन २७ गते । 

पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ ।  यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ ।  पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि पशुपतिनाथ समक्ष यो भेटी प्राप्त भएको हो ।

पशुपति क्षेत्रको भूउपयोगसहित नयाँ गुरुयोजना तर्जुमा गर्न आयोजित बृहद कार्यशाला गोष्ठीमा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

उहाँले भारतको पद्यनाभस्वामी केरला, तिरुपति बालाजी, वैष्णोदेवी, सिद्धिविनायक र स्वर्ण मन्दिर पञ्जावको वार्षिक आय प्रस्तुत गर्दै यी तीर्थस्थलको तुलनामा आदि तीर्थस्थल पशुपतिनाथमा उल्लेख्य दर्शनार्थीको आगमन हुन नसकेको र आम्दानी पनि कम भएको बताउनुभयो ।
उहाँले यस आधारमा बृहद् गुरु योजनाले तीर्थालुलाई समेट्न आवश्यक रहेको राय प्रस्तुत गर्नुभयो  ।  त्यस अवसरमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा २१ लाख २६ हजारको हाराहारीमा पर्यटकको आगमन पशुपति क्षेत्रमा भएको छ ।
पशुपतिमा पर्यटक आगमनबाट २०५७ सालयता ३५ करोड २१ लाख रुपियाँको हाराहारीमा शुल्क प्राप्त भएको छ तर भारतका प्रमुख तीर्थस्थलमा भइरहेको भक्तजनको दैनिक प्रवेशको जस्तै यहाँ पनि भक्तजनलाई आकर्षित गर्नु आवश्यक रहेको कोषका निर्देशक भरत मरासिनीले गोष्ठीको ध्यानाकर्षण गराउनुभयो ।

भारतको अहमदाबाद, भोपाल, चेन्नाई, भुवनेश्वरमा पनि नेपाल वायुसेवाको पहँुच पु¥याउन सके पशुपतिमा पनि भारतको तीर्थ स्थलमा जस्तै भक्तजन प्रवेश हुने सम्भावना गोष्ठीमा व्यक्त गरियो ।