पार्टी एकताको मिति तय - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पार्टी एकताको मिति तय



नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले एकीकृत पार्टी घोषणा हुने मिति तय भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा बैशाख ९ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको गौतमले बताए। एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको खुलासा गरे ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्‍याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, ‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।

सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने बताए।

एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिदैं उपाध्यक्ष गौतमले भने, ‘विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।’