एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली : पोखरेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली : पोखरेल



काठमाण्डु, २९ मङ्सिर– एमाले महासचिव ईश्वर पोखरेलले बाम एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली नै हुने बताएका छन् ।

उनले प्रधानमन्त्री र संसदीय दलको नेता पनि ओली नै हुने दाबी गरे । एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकताप्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् । ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व कमरेड केपी ओलीले नै गर्नुहुन्छ’, रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यसमा कुनै द्विविधा छैन ।’ उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र मुलुकको आवश्यकतालाई हेर्दा पनि ओली नै प्रधानमन्त्रीहुनेमा विवाद नहुने तर्क गरे ।

पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यकताअनुसार अघि बढ्ने पनि बताए । उनले सरकारमा दुवै दलको हैसियतका आधारमा शक्ति बाँडफाँट हुने उल्लेख गरे । राजनीतिक स्थायित्वका लागि बाम गठबन्धनको बहुमतको सरकार बन्ने भन्दै उनले पद भागबण्डा एकताका लागि बाधक नबन्ने तर्क गरे । पोखरेलले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने विश्वास व्यक्त गरे । दुई पार्टीबीचको एकताले छिट्टै पूर्णता पाउने भन्दै उनले पार्टी एकता संयोजन समितिले त्यसका लागि काम गरिरहेको बताए ।

उनले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने माग पनि गरे । ‘अन्र्तराष्ट्रिय प्रचलनअनुसार आफ्नो दल निर्वाचनमा भाग लिएर अरू दलको पक्षमा जनमत आइसकेपछि राजीनामा दिनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री त झन् कसरी सत्ता लम्ब्याउने सकिन्छ भनेर लाग्नुभएको छ ।’