प्रदेश ७: बजेट संशोधन माग गर्दै दुई प्रस्ताव दर्ता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश ७: बजेट संशोधन माग गर्दै दुई प्रस्ताव दर्ता



नयाँ पत्रिका : कैलाली ।
चालु आर्थिक वर्षको बाँकी अवधिका लागि संसदमा प्रस्तुत गरिएको बजेट संशोधन गर्नुपर्ने माग गर्दै दुई वटा संशोधनको प्रस्ताव दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले संशोधनको प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली काँग्रेसका सांसद कर्णबहादुर मल्लले खर्च कटौती र खर्च परिवर्तन गरियोस् भन्ने प्रस्ताव संसद सचिवालयमा मंगलबार दर्ता गरेका हुन् । उनले काँग्रेस सांसद श्यामलाल रानाथारु र राष्ट्रिय जनता पार्टीका सांसद मालामतीदेवी रानाको समर्थनमा संशोधनको प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तै राष्ट्रिय जनता पार्टीका सांसद कृष्णकुमार चौधरीले काँग्रेस सांसद डाक्टर रणबहादुर रावलको समर्थनमा खर्च परिवर्तन गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयका सचिव बलाराम शर्माले बजेट संशोधनको मागसहित दुई वटा प्रस्ताव दर्ता भएको जानकारी दिए ।

बैशाख १३ मा समितिको बैठक
बजेटको भ्रमण र अनुगमन शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव तथा विभिन्न क्षेत्रको संभाव्यता अध्ययन तथा परामर्श शीर्षकमा खर्च कटौती र खर्च परिवर्तन गरियोस् भन्ने प्रस्ताव दर्ता भएको सचिव शर्माले बताए । यी दुवै शीर्षकमा गरि करिब साढे ९ करोड बजेट विनियोजन भएको प्रतिपक्षी सांसदहरुले बताएका छन् ।

संसोधनको प्रस्ताव दर्ता भएपछि यसबारे छलफल गर्न बैशाख १३ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । समितिको सुझावका आधारमा सभामुखले संशोधनको प्रस्ताव संसदमा लैजाने÷नलैजाने भन्ने निर्णय गर्ने छन् । सबै दलको प्रतिनिधित्व रहने कार्य व्यवस्था परामर्श समितिले प्रस्ताव अगाडि नबढाउने सहमति पनि गर्न सक्ने हुन्छ ।

छलफल सकियो, प्रतिपक्षद्वारा आलोचना
छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताए । सत्ता पक्षका सांसदहरुले बजेटको समर्थन गर्दै सबै विषयलाई बजेटले समेट्न नसकेको बताएका छन् । प्रतिपक्षी सांसदहरुले जनतालाई राहत दिने खालका कार्यक्रम बजेटमा समावेश नभएको भन्दै संशोधनको माग गरेका छन् ।
एमाले सांसद दुर्गा कुमारी कामीले उपेक्षित र विभेदमा पारिएको दलित वर्गको शिक्षा र स्वास्थ्यलाई बजेटले सम्बोधन गर्न नसकेको बताइन । उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्ने, सुरक्षित प्रसुति केन्द्रलाई सुविधा सम्पन्न बनाउनेजस्ता कार्यक्रम बजेटमा समावेश गरिनु पर्ने उनको भनाई थियो ।

एमाले सांसद चुनकुमारी चौधरीले थारु समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका कार्यक्रमहरु बजेटमा समेटिन नसकेको बताइन । थारु समुदायलाई सम्बोधन हुने गरि विशेष प्याकेज ल्याइनु पर्ने माग चौधरीले गरिन । काँग्रेस सांसद गोविन्द बोहराले खर्च विवरणलाई बजेटको रुपमा प्रस्तुत गरिएको टिप्पणी गरे । बजेटमा यस क्षेत्रका ठूला आयोजनालाई उपेक्षा गरेको देखिएको उनको भनाइ थियो ।

गएको आइतबार संसदमा प्रस्तुत भएको बजेटमाथिको छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितका लागि प्रकृयामा जाने छ । बैशाख १४ गते आर्थिक मामिला तथा योजना मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारित गर्ने तयारी थियो । बजेट संशोधनको प्रस्ताव संसदमा पेश भए बजेट पारित गर्ने कार्य केही पर सर्न सक्ने छ ।