उखु खेती तर्फ किसनाको आकर्षण बढ्दो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उखु खेती तर्फ किसनाको आकर्षण बढ्दो



पाल्पा । जिल्लाको रामपुर, गण्डकी र बेशी क्षेत्र लगायतका स्थानहरुमा उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ । पहिले पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर खुदोको माग बढेसँगै उखु खेती तर्फ किसानको आकर्षण देखिएको हो ।

तराई र छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, बाग्लुङ्गबाट ठूलो परिमाणमा जिल्लामा खुदो भित्रिने गरे पनि पछिल्लो समयमा रामपुरको सुर्योदय कृषि सहकारीले स्थानियको माग र आवश्यकता अनुसारको खुदो परिपूर्ति गर्न उखु खेती गर्दै आएको छ । सहकारीले गरेको उखु खेती सफल भए पछि रामपुरमा आजभोली स्थानिय स्तरमै व्यवसायिक कृषकहरुले सामुहिक रुपमा व्यसायिक उखु खेती गर्दै आएका छन् । खुदोबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका किसान उखु खेती तर्फ आकर्षीत भएका हुन् ।

रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेपछि परम्परागत रुपमा गर्दै आएको उखु खेती यहाँका स्थानियले बिगत एक दशक यता उखु लगाउन छाडेका थिए । माग अनुसार बाहिर बाट खुदो आयात भएकै कारण खुदोको प्रयोगको लागि पछिल्लो समय कृषकहरुमा व्यवसायिक उखु खेतीको सुरुवात भएको हो ।

बाहिरबाट आयात हुँदै आएको खुदोलाई कम गर्न र किसनलाई आयआर्जनमा अग्रसर गराई उखु खेतीलाई मुख्य नगदे बालीका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय कृषि सहकारी संस्था रामपुरले गत वर्ष देखि सामुहिक रुपमा उखु खेती लगाउदै आएको हो । सहकारीले यतिखेर किर्तिपुरमा ५२ रोपनी जमिनमा उखु लगाइएको सहकारीका अध्यक्ष रुद्र नारायण श्रेष्ठले बताए । सहकारीले खेती मात्र नगरी अन्य किसानले लगाएको उखु, उत्पादन गरेको खुदो समेत खरिद गर्ने योजनामा रहेको श्रेष्ठले बताए । सहकारीले उखु खेतीलाई प्रवद्र्धन गर्न लागेपछि अहिले स्थानिय कृषकहरु उत्साहित भएका छन् ।

खुदो र उखुजन्य वस्तुको माग अत्यधिक बढ्न लागेपछि सहकारीले जमिन चार वर्षका लागि प्रति रोपनी ३० हजार रुपैयाँका दरले ५२ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको सहकारीका उपाध्यक्ष सोम बहादुर सेनले बताउनुभयो । किसानले स्थानिय जातको विउ प्रयोग गरी खेती गरेका छन् । रामपुरको बेझाड बजार नजिकै नमुना उखु खेती अवलोकन गर्नका लागि निम्ति जाने किसानहरुको दिनहुँ भिड लाग्ने गर्दछ ।

यति बेला उखु काटेर पेल्ने काम भइरहेको हुदा दिनभर एक सय भन्दा बढी ग्राहकहरु अवलोकन गर्दै उखु,खुदो खरीदका लागि आउने गरेको सहकारीका अध्यक्ष श्रेष्ठ बताउछन् । उनले भने “गतवर्ष ३६ रोपनी जग्गामा उखु लगाएकोमा सबै खर्च कटाएर एक लाख पचास हजार बराबरको आम्दानी लिन सफल भयौँ,उखु र खुदोको माग पनि बढ्यो”—“अहिले गतवर्षको तुलनामा १६ रोपनी जग्गा बढाएर ५२ रोपनीमा उखु लगाएका छौ ।” अहिले उखु पेल्ने काम भइरहेको छ, यसवर्ष झण्डै दुई लाख पचास हजार भन्दा बढी आम्दानी हुने अनुमान रहेको उहाँको भनाई रहेको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको खुदो प्रति मान एक सय रुपैयामा विक्रि गर्दै आएका छन् ।