आहा ! प्राङ्गारिक गाउँ ‘खानीटार गाउँ’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आहा ! प्राङ्गारिक गाउँ ‘खानीटार गाउँ’



तेह्रथुम, असोज ३।

तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुङ्गाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उनका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी बाली राम्रैसँग फस्टाएका छन् ।

थोरै जमिनमा पनि उनि अरूले भन्दा धेरै तरकारी तथा फलफूल फलाउँदै आएका छन । तिवारीले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पनि राम्रै पाएको छ । सात वर्षअघि रासायनिक मल र विषादीको प्रयोग छाडेर प्राङ्गारिक उत्पादन गर्ने अभियानमा लागेका उनले अहिले आफ्नो माटो, घर र गाउँलाई नै प्राङ्गारिक बनाएका छन ।

प्राङ्गारिक खेती गरेका उनले बारीको डिलमा मौरीका घार राखेका छन । प्राङ्गारिक वस्तुको प्रयोगले महको माग पनि रामै भएको छ

आफूले थालेको प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँको अभियान अहिले सार्थक बन्दै गएको तिवारी बताउछन ।
उनि भन्छन, छिमेकीले पनि सुरुमा के के न गर्ने भइस् भने, एक÷दुई वर्ष उत्पादन पनि राम्रो भएन तर त्यसपछि राम्रो उत्पादन हुन थाल्यो ।

अहिले तिवारीले तरकारी, फलफूल र अलैँची खेतीबाट वार्षिक सात लाख रुपियाँभन्दा बढी आम्दानी गरिरहेका छन । रासायनिक मल र विषादी प्रयोग नगर्ने कृषक तिवारीका मल र विषादी पनि प्राङ्गारिक भएकाले उत्पादन प्राङ्गारिक हुनुका साथै माटो बिग्रने र त्यो उत्पादन खाने मान्छेको स्वास्थ्यमा पनि असर नगर्ने भएकाले उनले थालेको ‘प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँ’को अभियान गाउँभरि फैलिएको छ ।
उनकै सिको गरेर स्थानीय जापान कन्दङ्वाले पनि प्राङ्गारिक खेतीमै आकर्षित भएका छन । चन्द्र दाइले गरेको देखेर त्यस्तै गर्ने उद्देश्यले काम थालेको हुँ, अहिले मैले पनि कागती, अकबरे, टमाटर, च्याउ आदि खेती गरेको छु, कन्दङ्वाले भन्नुभयोे, तिवारीकोे उदाहरणीय काम देखेर जापान जस्तैः गाउँका युवराज कन्दङवा, प्रेम उप्रेती, मदन कन्दङवा र लक्ष्मी कन्दङवा पनि प्रभावित भएका छन् ।
उनीहरूमध्ये धेरैले गत वर्षबाटै आफ्नो जमिनमा अकबरे, कागती र अलैँची खेती लगाएका छन् । सबैको एउटै स्वर छ, अब गाउँमै व्यावसायिकरूपले प्राङ्गारिक खेती गरेर पैसा कमाउने । यी र यस्तै गाउँका ३१ जना युवालाई समेटेर खानीटार बहुउद्देश्यीय कृषक समूह बनाएको तिवारीले बताए  ।

सामान्य लेखपढ गरेका तिवारीले गाउँलाई प्राङ्गारिक उत्पादन हुने गाउँका रूपमा चिनाउन थालेको अभियान सार्थक बन्दैछ । करिब ३५ घरधुरी रहेको खानीटार गाउँका अधिकांश घरधुरीले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । आफूले देखेको सपनाजस्तै अबको गाउँको सबै कृषिजन्य उत्पादन प्राङ्गारिक हुने भएपछि कृषक तिवारी पनि दङ्ग छन। मेरो सन्देशमूलक अभियान सफल हुन लागेकाले म पनि खुसी छु, उनि भन्छन  ।

उनीहरूले जिल्ला कृषि विकास कार्यालय र देउराली सोसाइटी नामक गैरसरकारी संस्थाको सहयोगमा प्राङ्गारिक मल बनाउने, व्यावसायिक खेती तथा बजारीकरण कसरी गर्ने ? भन्ने सम्बन्धमा तालिम र प्रशिक्षणसमेत लिएका छन् । अब अकबरे, तरकारी, फलफूललगायत बाली विशेष खेती प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको युवा कृषक जापान कन्दङ्वाको भनाइ छ ।
रासायनिक विषादी प्रयोग नगर्ने गरेका उनीहरूले गाउँघरमै पाउने वनस्पति जस्तैः धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्यूकुमारी, सुर्ती, टिमुर, बोजो, तितेपाती, असुरो र सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग कीराको निदान गर्ने गरेको कन्दङ्वाले बताउनुभयो । रासायनिक मलको सट्टामा भने उनीहरूले गोठे मल प्रयोग गर्छन् ।