ओलीको एउटा निर्णयले भिआइपी र भिभिआइपीहरू तनावमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीको एउटा निर्णयले भिआइपी र भिभिआइपीहरू तनावमा



काठमाडौं, ९ चैत । अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ ।

हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशनलगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।

सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडौं रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाका नाममा वर्षौंदेखि घरेलु कामदार बनाउँदै आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको एक अध्ययनले सुरक्षामा खट्नुपर्ने प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै १५ हजार सुरक्षाकर्मी हाकिम तथा उच्चपदस्थको घरमा कामदारको रूपमा रहेको देखाएको हो ।

गृहसचिव सापकोटाले हजारैाँ सुरक्षाकर्मी उनीहरूका हाकिम र भीआईपी कहाँ घरेलु कामदारमा रुपमा बसिरहेको पुष्टि गरे। ‘कसकोमा कति सुरक्षाकर्मी बसेका छन् तत्काल खोजी गरी काममा फर्काइनेछ’, गृहसचिव सापकोटाले भने ।

प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनअनुसार अहिले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त तथा नजिकका साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता तथा व्यापारीकहाँ गरी झन्डै नौ हजार सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन् । सेनाका हाकिमकहाँ झन्डै ६ हजार सैनिक सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन् ।

प्रहरीका प्रायः सबैजसो बहालवाला डीएसपीदेखि आईजीपीसम्मले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आएका छन् भने इन्चार्जको रूपमा रहेका सई तथा प्रहरी निरीक्षकले समेत सुरक्षाकर्मीलाई कामदार बनाउँदै आएका छन् ।

सेनामा सबैजसो अधिकृतले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

‘राज्य कोषबाट तलब खाने सुरक्षाकर्मीलाई राष्ट्रिय हितमा लगाउन छाडेर व्यक्तिगत काममा लगाउने छुट कसैलाई छैन, यो काम तत्काल बन्द गर्नुपर्छ’, ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका एक सचिवले भने ।