ओली सरकारले भाषण बाहेक केही पनि गरेको छैन:नेता रिजाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली सरकारले भाषण बाहेक केही पनि गरेको छैन:नेता रिजाल



नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी रुपमा निभाउन नसकेको आरोप लगाइएको छ । यद्यपी प्रतिनिधिसभा नियमावलीमा कांग्रेसले राखेको अडानको जित भएको छ । तर अरु धेरै विषयमा संसदमा कांग्रेसको आवाज मसिनो बन्दै गएको टिप्पणीहरु भइरहेका छन् । यिनै विषयमा कांग्रेसका नेता तथा सासंद डा. मिनेन्द्र रिजालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभा नियमावली पारित भयो । ससंद निलम्बन नगर्ने व्यवस्था राख्न सफल हुनुभयो । कांग्रेसले त बाजी मार्यो होइन ?
यो बाजी मार्ने कुरा होइन । हामीले सुरुदेखि भनेको थियौँ, नियमावली भनेको कार्यसंचालनको विधि मात्रै हो । कार्यसंचालन विधिमा सांसद निलम्बन गर्ने व्यवस्था राख्नु उचित हुँदैनथ्यो । प्रधानमन्त्री ओलीको भनाई सापट लिएर भन्छु, नाँच्न पाइन्छ भन्दैमा जहाँसुकै नाँच्न त भएन नि । फौजदारी अभियोग लागेपछि स्वतः निलम्बनको व्यवस्था त संघीय कानुनमा गर्ने हो । कानुनमा राख्नुपर्ने कुरा नियमावलीमा राख्न हुँदैन भन्ने हाम्रो मान्यता हो ।

फौजदारी अभियोग लागेका सांसद निलम्ब गर्ने व्यवस्था नियमावलीमा नै राख्न नमिल्ने हो ?
संसदको अयोग्यताको प्रश्न संघीय कानुनले तय गर्छ । बेग्लै कानुन पनि बन्न सक्छ । जनप्रतिनिधीसम्बन्धी कानुन बन्न सक्छ । सरकारको दुई तिहाई मत छ । कानुन ल्याउन सक्छ नि । हामी पनि सहयोग गर्छौँ । तत्काल पारित हुन्छ । तर सांसदको योग्यतासम्बन्धी व्यवस्था संघीय कानुनबाहेक अन्त हुन सक्दैन । पुर्पक्षका लागि थुनामा राखिएपछि निलम्बन गर्ने कुरामा त हाम्रो विमति छैन । तर जहाँ मन लाग्यो त्यहाँ राखेर हुँदैन । यो नियमावलीमा राख्ने कुरा होइन । टोपी खुट्टामा लगाउनु हुँदैन, मोजा टाउकोमा लगाउनु हुँदैन ।

अब थुनामा रहेका सांसदले पनि उन्मुक्ति पाउने भए हैन ?
नेपालमा न्यायालय नै छैन र ? न्यायालयले मुद्दाको टुङ्गो लगाउँछ । थुनामा जाने वित्तिकै कसुरदार त हुँदैन नि । संविधानमा त जनता, कर्मचारी, सांसद सबैलाई एउटै व्यवस्था छ नि । संविधानको न्यायिक अधिकारमा पनि अभियोग प्रमाणित नभएसम्म कसुरदार मानिने छैन भनेर स्पष्टसँग लेखिएको छ । नियमावलीमा पनि अधिकारबाट बञ्चित गराउनेदेखि तलब भत्ता नदिनेसम्मको व्यवस्था त गरिएको छ नि । यो व्यवस्थालाई उन्मुक्ति दिएको भन्न मिल्छ ?

फौजदारी अभियोग लागेका सांसद निलम्बन गर्ने व्यवस्था राखेको भए राम्रो हुन्थ्यो भन्ने जनमत छ नि ?
जनतालाई बुझाउन नसकिएको होला । तपाई त जिम्मेवार पत्रकारिता गर्नुहुन्छ । यस विषयमा खोजविन नगरी कतिपयले भ्रामक समाचार सम्प्रेषित गरे होलान् ।

संसदमा कांग्रेसको भूमिका प्रभावकारी भएन । किन ?
संसदमा कांग्रेसको भूमिका प्रभावकारी छ कि छैन भन्ने कुरा तपाईहरु जस्तो पत्रकार साथीहरुले रिर्पोटिङ गर्नैपर्छ । सरकारले ल्याएको नीति र कार्यक्रममा मैले नै संशोधन प्रस्ताव हालेको थिएँ । बहुमतले अस्विकृत भयो । बालकृष्ण ढुंगेललाई माफी गर्ने निर्णयको विरुद्धमा बजेट ल्याउने दिनमै विरोध गर्यौँ । नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदमा बजेट प्रस्तुत गर्ने दिने कांग्रेसका सबै सांसद जुरुक्क उठेर ढुंगेललाई माफी दिने कुरा गलत हो भन्यौँ । योभन्दा प्रभावकारी के हुन सक्छ । प्रभावकारी हुन सक्ने नेताहरु संसदमा आउन सक्नुभएन, यसमा मलाई पनि दुःख लागेको छ । हामी २२ प्रतिशत कांग्रेस संसदमा छौँ । तर हामी जो जति छौँ, सबैले प्रभावकारी भूमिका खेलेका छौँ । मारपिट गर्न गएर त भएन नि ।

अहिलेको सरकारले गरेको कामलाई कसरी लिनुभएको छ ?
अहिलेको सरकार त नमच्चिने पिङको सय झड्का जस्तै हो । भाषणबाहेक केही पनि गरेको छैन । मन्त्रीह जहाँ गए पनि तर्साउन मात्रै खोज्छन् । कर्मचारी, व्यापारी, बुद्धिजीवी सबैलाई थर्काउने, खिसिट्यूरी गर्ने । प्रधानमन्त्रीको सिको सबै मन्त्रीले गरिसके । सबै मन्त्रीहरु काम गर्नेभन्दा अरुलाई होच्याउने, अपमान गर्नेतिर लागेका छन् । यसरी त समृद्धिको यात्रा सुरु हुन सक्दैन ।