सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !



झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर लगाएर भत्काउन थालेको छ ।

करिब ५ दशक अघिदेखि विवादित रहेको दमकको पुरानो बजार पूर्व सूनचाँदी लाइनको जग्गा खालि गराउनका लागि नगरपालिकाले बारम्बार प्रयास गर्दै आएको अवस्थामा यसबेला प्रहरीले बल प्रयोग गर्दै घरटहराहरु भत्काइरहेको छ । जनप्रतिनिधिको सहभागितामा प्रहरीको घेरा लगाएर २ वटा डोजरमार्फत घर टहरा भत्काउन थालेपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै स्थानीयहरूले जनप्रतिनिधिहरूप्रति आक्रोश पनि पोखेकाछन् ।

जर्वजस्ती घर र पसल भत्काए पछि केही परिवारको भरे बस्ने ठाउँ समेत नभएको पीडित महिला मञ्जु चौधरीले रुदैं बताइन । बाजेले २००७ साल देखि भोगचास गर्दै आएको जग्गाको घरधुरीकर समेत नगर पालिकामा तिरेको बताउने लक्ष्मी मगरले गरिबहरूलाई दमक नगर पालिकाले अन्याय गरेको बताएकी छिन् । यस्तै स्थानीय सामाजिक अगुवा मिठ्ठु तामाङका अनुसार सेना लगाएर नागरिकको घर तथा पसल भत्काउनु अलोकतान्त्रिक भएको बताएका छन् ।

२४ साल देखि बस्दै आएका सो क्षेत्रका अगुवा मिठु तामाङका अनुसार सुरुमा त्यो जग्गा व्यक्तिको नाम भएको र पछि दमक नगर पालिकाले अधिग्रहण गरेको जानकारी दिएका छन् । जग्गा कसको भन्ने विषयमा यस अघि २०६१ सालमा मात्र दमक नगर पालिकाको भोगाधिकार भएकोले व्यक्तिको जग्गा सरकारी पक्षबाट अधिग्रहण गरेर त्यहाँ बसोबास गर्ने सुकुम्बासीहरुलाई विचल्नीमा पार्न खोजिएको स्थानीय बासिन्दाहरुको दाबी रहेको छ । नयाँ सरकारले चुनावमा भोट माग्दा सुकुम्बासी समस्या समाधान गर्छौ भनेको त जर्वजस्ती घर भत्काएर हटाउँछौँ भनेको जस्तो भएको केही पीडितहरूले बताएका छन् ।

२०७१ साल माघ २१ गते नै त्यहाँ व्यापार व्यवसाय गर्दै आएका ३४ जना व्यापारीहरूले आफूहरू नगरपालिकाको जग्गा खालि गराउन सहमत रहेको नगरपालिका समक्ष हस्ताक्षर गरेर कबुलियत गरिसकेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । बिच बजारमा रहेको करोडौको जग्गामा सुविधा सम्पन्न व्यापारिक महल बनाउनका लागि पुराना घर टहरा भत्काउन आग्रह गर्दा अटेर गरेपछि प्रशासनको सहयोगमा त्यस्ता घर टहरा भत्काउने अवस्था आएको ओलीले प्रष्ट्याए ।

हामी सुकुम्बासीहरुको समस्या समाधान नगरेर उल्टै बल प्रयोग गरेर पुलिसको घेरामा जर्वजस्ती महिला तथा केटाकेटीलाई लछार पछार गर्दै घर तथा पसल भत्काउनु भनेको हदैसम्मको निरङ्कुश चरित्र भएको बताइएको छ । यता नगर पालिकाले भने सरकारले देशभर सार्वजनिक जग्गा खाली गराउने निर्देशन अनुसार आफूहरूले पटक पटक हट्नका लागि सूचना जारी गर्दा समेत अटेर गरेकोले सुरक्षाका लागि प्रहरीको उपस्थितिमा पसल भत्काएको बताएको छ । नगरले सरकारको स्वामित्वमा रहेको ११ कट्ठा हाराहारीकोसो जग्गामा साढे ११ करोडको बजेटमा सपिङ्ग महल निर्माणको तयारी भएको दमक नगर पालिकाले जानकारी दिएको छ ।

नगरले जर्वजस्ती गरे आन्दोलनको चेतावनी

यसैबिच सङ्घीय समाजवादी फोरम नेपालले आज दमक वडा नं. ७ को हाटखोलामा गरेको कार्यलाई तानासाही शैली भएको भन्दै भर्त्सना गरेको छ । आज साँझ दमक नगर समितिका अध्यक्ष वासुदेव राईले विज्ञप्ति जारी गर्दै बर्षौ देखि बस्दै आएका सुकुम्बासीको टहरा भत्काउने कार्यलाई आफूहरू स्वीकार नगर्ने बताइएको छ । उचित व्यवस्थापन विना जबरजस्ती ढङ्गले दमक नगरले बस्ती उठाउने कार्य गरे आफूहरू आन्दोलनमा समेत उत्रने चेतावनी दिइएको छ । सामाजिक संजालबाट