प्रधानमन्त्रीमा ओली ५ वर्ष ढुक्क ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीमा ओली ५ वर्ष ढुक्क !



काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने, ‘अबको ५ वर्षसम्म ओली नै प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन ।’ उनले एकता महाधिवेशनमा वर्तमान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले उम्मेदवारी दिए दुईजनामध्ये एकजना अध्यक्ष हुने पनि बताए ।

उनले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउनेसमेत स्पष्ट पारे । उनले सोमबारसम्ममा पार्टीको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको टुंगो लगाईसक्ने बताए ।

‘हामीले केन्द्रीय सदस्यहरु टुंगो लगाईसकेका छौं, खाली सेटिङमा राख्नमात्रै बाँकी छ, स्थायी समिति सदस्यहरु पनि हामीले लगभग टुंगो लगाएका छौं, भोलिसम्म केन्द्रीय सदस्य र स्थायी सदस्यहरुको टुंगो लाग्छ ।’

नेता शर्माले एमाले–माओवादी एकतापछि बनेको नेकपाको वर्तमान सचिवालय सदस्य संख्या नै काफी रहेको जिकिर गरे । उनले भने, ‘सचिवालय सदस्य ९ जना नै काफी छ, अब संख्यामा तल–माथि हुँदैन, त्यो संख्या बढाउन आवश्यक छैन ।’ आफूलाई सचिवालयमा परेको वा नपरेको भन्नेमा कुनै चिन्तासमेत नरहेको उनको भनाइ थियो ।

‘म पदमा छु, म नेकपाको केन्द्रीय सदस्य हुँ, मलाई कुनै पद नै आवश्यक छैन । पद ठूलो कुरा होईन, काम ठूलो हो, काम गर्दा परिणाम आउनुपर्‍यो,’ उनले भने ।

शर्माले ठूला–ठूला आविष्कार गर्ने वैज्ञानिकको पनि पद नभएको उदाहरण दिँदै भने, ‘त्यसैले पदको चिन्ता छैन, बरु कामको चिन्ता छ, देशबाट गरिबी हटाउने हो, समृद्ध मुलुक बनाउने हो, यो कुरा ठूलो हो ।’

शर्माले पार्टीमा नेता थुपार्न र पद वितरण गर्नलाई पार्टी एकता नभएको स्पष्ट पारे । उनले भने, ‘मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएको हो, त्यसको अनुभूति जनताले चाँडै गर्न पाउँछन्, हाम्रो ध्यान त्यसमै केन्द्रीत छ ।’

उनले पुराना संस्कार, संस्कृति, प्रबृत्ति र मान्यताको अन्त्य नगर्दासम्म समृद्धिको बाटो तय हुन नसक्ने समेत बताए । ‘अब हाम्रो यो सरकारले शिक्षा, स्वास्थ्य लगायतका तमाम क्षेत्रमा रहेका सबैखाले फोहोर सोर्ने काम गर्छ, सबै खालका विकृति तथा विसंगतिहरुको हामी अन्त्य गर्छौं,’ उनले भने ।