२०७५ कार्यान्वयनको वर्ष बनोस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

२०७५ कार्यान्वयनको वर्ष बनोस



डा. विष्णु प्रसाद पोख्रेल
सचिव, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल

नयाँ वर्ष २०७५ को सम्पूर्ण प्राध्यापक, कर्मचारी, सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरू, विद्यार्थीहरू र देश विदेशमा रहने सम्पूर्ण नेपाली जनमा शान्ति एवम् सम्वृद्धिको हार्दिक मङ्गलमय शुभकामना। वि.स. २०७४ मा निर्णय भई कार्यान्वयन हुन नसकेका विभिन्न विश्वविद्यालयहरूसँग सम्बन्धित विषयहरू नेपाल सरकारले कार्यान्वयन गर्ने वर्ष बनोस्। यही छ मेरो नव वर्षको शुभकामना।

नेपाल सरकारले वि.स. २०७४ मा त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म आंशिक प्राध्यापकहरूलाई करार गर्ने उदेश्यले १४२० दरबन्दी विश्वविद्यालयको माग एवम् विश्वविद्यालय अनुदान आयोग को सिफारिसमा मन्त्रिपरिषदबाट निर्णय गरेको थियो। सो कार्यान्वयन हुन सकेको छैन। नेपाल सरकारले विश्वविद्यालयको दरबन्दी कार्यान्वयन गर्ने सकारात्मक वातावरण सिर्जना गर्ने छ। त्यसै गरी मन्त्रिपरिषद्को निर्णयबाट सुदुर पश्चिमाञ्चल क्षेत्रका १५ क्याम्पसलाई सु.प. विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन र ती क्याम्पसमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरूलाई स्थायीत्व प्रदान गर्न ४४४ दरबन्दी सिर्जना गरेको थियो।

विश्वविद्यालयका पधाधिकारीको अकर्मण्यताले प्रक्रिया अघि बढ्न सकेको छैन। न्यायोचित रूपमा सभाको निर्णय सच्याई कार्यान्वयन हुने वातावरण बनोस्। मध्य पश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा १० क्याम्पसलाई पूर्वसरकारले निर्णय गरेका २०३ दरबन्दी बिना अवरोध कार्यान्वयन हुने वातावरण सिर्जना हुने छ। त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका थप ३ क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा कार्यान्वयनका लागि सृजना गरिएका १०१ दरबन्दी नेपाल सरकारले कार्यान्वयन गर्ने सहज वातावरण बनाउनेछ र कार्यान्वयन हुनेछ।

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदुर पश्चिमाञ्चल विश्वविद्यालय एवम् मध्य पश्चिमाञ्चल विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयहरूमा कार्यरत करार शिक्षकका लागि उप-प्राध्यापक पदमा आन्तरिक बिज्ञापन भई योगदानको कदर हुने छ। सह-प्राध्यापक एवम् प्राध्यापकहरूलाई लामो समय सम्म बढुवाको विज्ञापन भएको छैन। नयाँ वर्ष २०७५ मा विज्ञापन भई अनुभव एवम् योग्यताको कदर हुने छ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल, नेपालमा रहेका १० विश्वविद्यालय एवम् ५ अध्ययन संस्थानमा कार्यरत् प्राध्यापकहरूको हक हित का लागि लडी रहने वैचारिक सङ्घ हो। इतिहासका काल खण्डमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो तर वर्तमान नेत्रित्यो केन्द्र देखि साधारण सदस्यहरूमा प्रजातान्त्रीक पद्धतिबाट बिमुख भएको अनुभूति समेत पर्दै गएको छ।

नयाँ वर्षले सबैलाई समेट्ने भावना विकास गरोस् ।हालै अर्थमन्त्रीले आर्थिक श्वेतपत्र मार्फत रित्तो ढुकुटी छ भनी निराशा फैलायाको परिस्थितिमा आर्थिक विकास र सम्वृद्धि सहित सकारात्मक किर्याकलाप एवम् सकारात्मक सोच विकास हुन सकोस्। २१औं शताब्दीमा नेपाल सरकारले शिक्षालाई रोजगार एवम् व्यवसायिकता तर्फ लैजाने नीति कार्यान्वयन हुने छ। यहि छ मेरो नव वर्ष २०७५ को शुभकामना।