नेता हुन कि खेताला ?

December 3, 2017
3 Views

दिपक घिमिरे

हातमा राता अनि सेता झण्डा बोकेका दुई दर्जन भन्दा बढिको हुल हाम्रो खेतमा पसेपछी बा खेतकै आलिमा टुक्रुक्क बस्नु भो , आमाले हसिया समातेको हातले सुर्यलाई छेक्दै चिच्याउनु भो “ त्यो धान सुकाको खेतमा नहिन्नु है ! आठो बाट हिन्नुस । ”

हुलले खेतलाई छाडेर आली लाई पकड्यो अनि हामी नजिक आयो ।

थकित बा दुबै हात टेकेर उठनु भो , उभिएकी आमा चै बस्नु भो ।

उता खेतमै पसेर धान काटदै गरेकी माईली भाउजू ट्वाल्ल परेर यी राता सेता झण्डा बोकेकालाई हेर्न थाल्नु भो । भिष्मेले सबै कुरा सुन्न धान काटन छाडेर हामी भएतिरै आयो ।

फुल माला अनि अबिर लगाएका खत्री काईलाले अग्रगामी लाल अभिवादन भन्दै भाषण छाटे । अरुले परर ताली पिटे । बा मुसु मुसु हास्नु भो , आमा छक्क पर्नु भो ।

ट्वाँ परेर हेरिरहेकी माईली भाउजुको हसिया मागेर खत्री काईलाले धान काटन सुरु गरे । आमाको हसिया मागेर अर्का कमरेड खेतमा झरे , मेरो हसिया पनि एउटाले थुतिहाल्यो ।

नेताहरुले भकाभक धान काटीदिन थालेसी बा मख्खै , आमा खुसुक्क माईली भाउजुको कान तान्दै भन्नू भो “ नेता निक्कै जाती रचन बरै ! यत्रा बडा खत्री साउका छोरा भैकन पनी हाम्लाई सघाउन आईपुगे । ”

आमाको कुरामा सहमती जनाउदै माईली भाउजू ले भनिन “ यिन्ले जित्चन आमै ! यस्पाली हाम्रो भोट यिन्लाई दिनपर्च । ”

हाम्लाई पुरै एक दिन लाग्ने मेलो नेताका आगे पिछे वालाले आधा घण्टामा साफ पारे । नेताले हसिया उदाउदै धान काटेको उनैका पिछलग्गु कार्यकर्ताले आ–आफ्ना मोबाईल बाट फटाफट फोटो खिचे । हामी मस्तले आलिमा बसेर रमिता हे¥यौ ।

करिब आधा घण्टाको कृषि कर्म पछाडी नेताजीले बाको आशीर्वाद मागे ।

अरुबेला नमस्ते सम्म नगर्ने खत्री काईलाले बाको हात आफ्नो टाउकोमा राख्दै भने “ बाजे ! आसिक दिनुस , देश र जनता अनि यो ठामको लागि मैले क्यै गर्न सकम । ”

बा अलि अप्ठ्यारो मान्दै हास्नुभो , आमाले वरै बाट भन्नुभो “ तिम्रै आड भरोसा हो बाबू ! दुखी गरिबलाई हेर्दै जानू , भौमानले तिम्लाई अबस्य जिताउचन । ”

आमाले परै बाट आसिक दिएसी बा को हिम्मत पलाएछ क्यारे , खत्री काईलालाई अंगालो मार्दै भन्नू भो “ तिम्ले जिते देश बन्छ , तिमी जस्ता युवाको जित हुन जरुरी छ । मेरो आसिक मात्र हैन , यो टोल भरीको भोटको जिम्मा मलाई देउ काईला । ”

खत्री काईला मख्ख परे , अघि जस्तै अग्रगामी लाल अभिवादन टक्¥याउदै टोलि पल्लो टोल हिड्यो ।

अस्ति सम्म खुंखार सामन्ती अनि शोषक लाग्ने खत्री काइला गाउँ घरमा चुनाव लागेसी निक्कै मिठा मान्छे लाग्न थालेका छन । उनको बोल्ने शैलि , गर्ने व्यवहार अनि भोट माग्ने स्टाईलले सारा गाउँ छक्क परेको छ ।

उनका ठुल्दाई पुर्व सभासद हुन । त्यो बेला कम्युनिष्ट पार्टीकै तर्फ बाट चुनाव जितेका खत्री जेठा यसपाली समानुपातिक उमेद्वार हुन रे ।

उसो त खत्री जिम्दार बा जनयुद्ध कालमा बिस्थापित भएका मान्छे हुन । कमैया कम्लहरी राख्ने , गरिब किसानलाई शोषण गर्ने अनि चर्को ब्याजदरमा ऋण लगानी गर्ने जस्ता अनेक मुद्धा माओबादिको जन–अदालतमा परेपछी जिम्दार ज्यान बचाउन शहर बसाई सरे ।

शहर बाटै उनका दुईभाई छोरा राजनिती मा छिरेपछी खत्री जिम्दारको हैसियत झन माथी पुग्यो । शान्ती सम्झौता पछाडी त झन जिम्दारका सबै सन्तान कम्युनिष्ट पार्टीकै उच्च नेता बनेर गाउँ पसे । राजनैतिक हैसियतलाई उचाईमा पु¥याएका खत्रीका सन्तानको केन्द्र सम्म पकड छ । गएको पटक जेठा सांसद थिए , यो पाली पक्कै काईला पनि सांसद बन्नेछन त्यो पनि महान गौरवशाली पार्टीको ।

चुनावले घर आगनमै पाईला टेक्न थालेपछी मेरा बाको हैसियत पनि आदरणिय र भद्र भलादमीमा पर्न थाल्यो । खत्री काईलाले मात्र होईन , अरु पार्टीका थुप्रै उमेद्वारले मेरा बा लाई घप्लक्कै ढोग्न थाले ।

बिचरा बा ! लजाउदै सबैलाई भन्नू हुन्थ्यो “ तिम्ले त यसपाली जित्नै पर्च । “

बा को आसिक ले चै सबै बिजेता बने । बा कै आसिकले जित्दा हुन त हार्ने कस्ले ?

आसिक दिने बा समेत अचम्म पर्नुहुन्थ्यो ।

हरेक बर्ष खेति स्याहार्ने समयमा चुनाव परे हुन्थ्यो भनेर आमा कामना गर्नुहुन्थ्यो , बा चै हसियामा धार लगाउदै भन्नू हुन्थ्यो “ नेताको नाटक हेर्न तलाई रहरै लाग्दो रैच ! ”

दुई दिन लाग्ने खेतको धान एकै दिनमा सकेर हामी घर आईपुगिम ।

घरमा चारतारे झण्डा बोकेर पिपलनेटा बजारका काजीसाप को ग्याङ्ग बसेको रैछ । बा लाई देख्ना साथ काजीसापले घपलक्कै ठुलि गरे । आमाले घासको भारी बिसाउदै सबैको नमस्कार फिर्ता गर्नु भो ।

भकारोमा भरिएको गोबर सोरेर भैंसी सार्न भ्याई–नभ्याई भएकी मेरी आमा नेताका कुरा नसुनी लाग्नु भो भकारो तिर । आमाको पछि लाग्दै अनिता अन्टि पनि भकारो तिरै लाग्नु भो । आमालाई सघाउन खोज्दै अन्टिले भन्नू भो “ जानू दिदी ! तपाईं उता कुरा सुन्नुस , म यता गोबर फाल्दिन्छु । ”

आमाको नाई नास्ती हुदा हुँदै पनि अनिता अन्टिले मज्जाले गोबर सोरेर भकारो सफा चट बनाईन । पछि थाहा भो , उनी प्रदेश सभाको समानुपातिक उमेद्वार रैछिन । साच्ची उनी यो पटक चुनावमा उमेद्वार नहुदि हुन त ? ओ हो ! उनी कसरी यस्ती मिठी भैन ?

उनको पुरानो व्यवहार सम्झिने हो भने थुक्न पनि अल्छी लाग्छ तर क्यार्नु , आज अनिता अन्टि छुट्टै हैसियतमा हाम्रा घर आकी छिन । छुच्ची अनिता अन्टि मिलनसार अनि सहयोगी अनिता अन्टि भाकी छिन ।

उता अनिता अन्टिले गोबर सोहोर्न थालेसी आमा काजीसापका कुरा सुन्न थाल्नु भो । काजी सापले देशलाई स्विजरल्याण्ड जस्तै बनाउने गफ हाक्न थालेसी बा हुक्किनु भएछ क्यारे , आमालाई झपारे जस्तै गरेर भन्नुभो “ तैले यस्ता कुरा बुझ्दैनेस , जा भैंसी दोयर च्या पका ! नेताजी हरुलाई ख्वाउन पर्च । ”

गफमा मस्त डुबेका काजीसापले आमालाई रोक्दै भने “ खेतको कामले थाकेर आउनुभएको होला । तपाईं उ त्यहा बस्नुस , म गर्छु घरको काम । ”

बा मुसुक्क हास्नु भो , आमाले भान्सा छिरेर दूध दुहुने गाबु ल्याउनु भो । आमाको हात बाट गाबु छिन्दै काजीसापले भने “ तपाईं उ त्यहा पिढीमा बस्नुस , उहाले कसरी मतदान गर्ने भनेर सिकाउनु हुन्छ । म चै भैंसी दुहुन गए । ”

काजीसाप भैसि भएतिर जान थालेपछी आमा पिढी बाटै कराउनु भो “ काईसाप ! भैसीले मान्छे नचिनेर हिर्काउला नि । बचेर है । ”

काजीसाप मान्छे फकाउन सिपालु , जाबो जनावर सँग के डराउथे । आधा भन्दा बढी दूध पाडो लाई खुवाउदै दुई माना दूध दुहुन सफल भए ।

बा र आमाले मतदाता शिक्षा सिक्दै गर्दा काजीसाप गाबुमा पुग–नपुग दुई माना दूध लिएर आए । उता गोबर सोरेर आएकी अनिता अन्टिले आमालाई सुटुक्क भनिन “ भैंसी उतै गोठमा सार्दिम ? ”

हत्त पत्त उठेर आमाले भैंसी आफुले मात्र सार्न सक्ने , अरुलाई भैसीले नटेर्ने बताउनु भो । अनिता अन्टि चिया बनाउन भान्सा छिरिन , बा ले मुन्टो हल्लाउदै मतदाता शिक्षा सिक्नु भो । आमाले भैंसी सार्नु भो , म बिचरो टुलुटुलु बाको महत्व र नेताले गरेको सम्मान हेरिरहे ।

जुन जोगि आएनी कानै चिरेका ! यो उखान बा ले चुनाव ताका खुब भन्नुहुन्छ । यस्तै छ आजभोली हाम्रो गाउँ टोलको माहोल ।

जुन नेता आउछन , घर धन्दामा सघाउने मात्र हैन , मेरा बा लाई आफ्नै बा जस्तै सम्मान टक्राउछन । मेरा बा मख्ख त पर्छन तर कस्लाई रोज्छन त्यो उनलाई मात्र थाहा होला । किनकी गोप्य मतदानमा कस्लाई रोज्ने त्यो बा को अधिकार हो । अहिले त उसलाई पनि फ्याट्ट आसिक , अर्को लाई पनि फ्याट्ट आसिक ।

अहिले देखाको नाटकिय मायामा मेरा बा पहिलेको धेरै चोटि फसिसके । खत्री जेठा चुनावमा उठेका बर्ष खत्री जेठाले मेरा बा लाई भगवानै मान्थे । हाम्रो टोल बाट सबै मतको जिम्मेवारी लिएका मेरा बा लाई टाकुरा बजारमा नचिनेर हिडने उनै हुन ।

खत्री काईलोले हाम्रो टोलको बाटो ग्राबेल गर्ने प्रसंगमा पोहोर साल बा लाई चोर औला देखाउदै देख्लास र पख्लास भन्या अस्ति भर्खर जस्तो लाग्छ ।

चुनावको समयमा नेताले देखाउने मीठो व्यवहार जिबन्त बनाईदिए कति मीठो हुन्थ्यो होला हाम्रो समाज । चिउरा मासुको बलले चुनाव जित्नै पर्थेन , उठेको छु भन्ने खबर मतदाता समक्ष पुगे मात्र पनि जित्थे होला । तर खै ! न चुनाव गर्ने स्टाईल फेरिन्छ न त नेताको बुद्धि फेरिन्छ ।

Facebook Comments

You may be interested

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप
बिचित्र संसार
0 shares3 views
बिचित्र संसार
0 shares3 views

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप

विशाल पाण्डेय - २०७४, २८ मंसिर ०९:४७

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखि विस्पोटपछि एउटा द्वीप बनेको छ । सुरुमा वैज्ञानिकले यो द्वीपको संरचना केहि महिनामात्र रहने बताएका…

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !
समाचार
0 shares8 views
समाचार
0 shares8 views

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !

himal post - २०७४, २८ मंसिर ०९:३२

ओम प्रकाश बानियाँ/दोहा, कतार हामी नेपाली सबैलाई एउटा भान परेको छ कि नेपालमा केही पनि हुँदैन, यहाँ केही गर्ने सकिँदैन…

कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने
पत्रपत्रिका
0 shares8 views
पत्रपत्रिका
0 shares8 views

कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने

himal post - २०७४, २८ मंसिर ०८:०३

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार…