नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे छ:प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे छ:प्रचण्ड



भरतपुर,कार्तिक १९ ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एव‌ पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.-३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे बताएका छन् ।

चितवनकाे चनाैलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशकाे नेतृत्व गर्ने अवसर पाएकाे छ। तर, पछिल्लाेपटक कांग्रेसमा देखिएकाे नेतृत्व संकटले कांग्रेस कमजाेर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनुस्। तपाईहरु पनि मिल्नुस्। बिपीकाे अादर्शतिर फर्कनुस्, त्याे नै देश र कांग्रेसकाे पनि हितमा हुन्छ।” “स्थीर सरकारले मात्र दीगाे विकास र समृद्धि हासिल गर्न सकिन्छ।

हामीले राजनीतिक स्थीरता खाेजेका छौं, विकास खाेजेका छौं” प्रचण्डले भने “हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिकाे नयाँ चरणमा लैजान चाहन्छौं। चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने अठाेटका साथ अगाडि अाएकाे छ। अब विकास र समृद्धिकाे कुनै विकल्प छैन।”

प्रचार अभियानमा प्रचण्ड जुटेपछि चितवनमा चुनावी माहोल ह्वात्तै बढेकाे छ ।

राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् ।

मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ ।

वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा हुनुहुन्छ ।

प्रचारप्रसारका क्रममा उहाँले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गर्नुभयो ।

उहाँका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपा प्रजातान्त्रिक का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार हुनुहुन्छ ।
यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ । सबै नेता अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र चितवनले आगामी मंसिर २१ गतेको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ ।
समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी हुनुहुन्छ । समितिमा दुई पार्टीका २५० जना रहने र ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ ।

समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ ।