नेकपाको साधारण सदस्यले २० र संगठित सदस्यले १०० रुपैयाँ लेबी बुझाउनुपर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेकपाको साधारण सदस्यले २० र संगठित सदस्यले १०० रुपैयाँ लेबी बुझाउनुपर्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा साधारण र संगठित सदस्य हुने भएको छ । अब साधारण सदस्यले प्रत्येक महिना २० र संगठित सदस्यले प्रत्येक महिना सय रुपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्नेछ ।

(नेकपा) का महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तथा नियमावली कार्यदलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बुझाइएको प्रतिवेदन पार्टीको निर्णयपछि कार्यान्वयनमा आउनेछ ।

(नेकपा) स्थायी कमिटी सदस्य एवं कार्यदल सदस्य बेदुराम भुसालले साधारण सदस्य एवं सांगठनिक सदस्यले प्र्रत्येक बर्ष फागुन र चैतमा नवीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताए । पार्टी एकीकरण भएको यो वर्षको नवीकरण भने ६ महिनाभित्र गर्नुपर्ने हुन्छ ।

एकीकरणअघि तत्कालीन एमालेले साधारण सदस्यबाट मासिक पाँच र संगठित सदस्यबाट वार्षिक ३ सय रुपैयाँ उठाउँदै आएको थियो । यसैगरी, तत्कालीन माओवादी केन्द्रले साधारण सदस्यबाट १० र संगठित सदस्यबाट ११० रुपैयाँ उठाउँदै आएको थियो ।

७ जेठमा भएको पार्टी सचिवालय बैठकले पार्टीको अन्तरिम विधानको अधीनमा रहेर महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदल सदस्यमा नेता देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् । कार्यदल गठन भएको १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइए पनि कार्यदलले २४औं दिनमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ११ अनुच्छेद र ३३ दफासहितको पार्टी सञ्चालन नियमावली रहेको छ । अध्यक्षद्वयलाई विधानको व्याख्यासहित प्रतिवेदन बुझाइएको भुसालले बताए ।

यसैगरी, पार्टीमा तीन शक्तिशाली आयोग व्यवस्था गर्न सुझाव दिइएको छ । यस्ता आयोग केन्द्र र प्रदेशमा समेत रहने व्यवस्था गरिएको छ । महाधिवेशनबाट निर्वाचित ती आयोगलाई स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने अधिकार हुनेछ ।

प्रतिवेदनमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग गठन गर्न सुझाव दिइएको छ । यी तिनै आयोगमा अध्यक्ष, सचिव र २९ जना सदस्यसहित ३१ सदसिय रहने व्यवस्था गरिएको छ । आयोग अध्यक्षको हैसियत पार्टीमा स्थायी कमिटी, सचिवको पोलिटब्युरो र सदस्यको केन्द्रीय सदस्यसरह हुनेछ । आजको राजाधानी दैनिकबाट ।