‘पुरानो पुस्ताले नयाँ राजनीतिक खेल खेल्न सक्दैन’ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘पुरानो पुस्ताले नयाँ राजनीतिक खेल खेल्न सक्दैन’



भरतपुर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको परिवर्तित राजनीतिक गन्तव्य नयाँ राजनीतिक खेल भएकोले त्यो खेल पुरानो पुस्ताका राजनीतिक खेलाडीले खेल्न नसक्ने बताउनुभएको छ ।
बुधबार नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ३ र ४ ले संयुक्त रुपमा चितवनको भरतपुरमा आयोजना गरेको चौथो संघीय परिषद्को विस्तारित बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकास र समृद्धि हुँदै समुन्नत समाजवादको नयाँ राजनीतिक खेल खेल्न नयाँ पुस्ता उदाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।
‘आर्थिक विकास, समृद्धि र प्रगतिहुँदै देशलाई समुन्नत समाजवादमा लैजाने कुरा नयाँ खेल हो, पुराना खेलाडीले यो खेल पूरा गर्न सक्दैनन् । यो खेल खेल्न नयाँ खेलाडी नै चाहिन्छ, नयाँ पुस्ताले मात्रै यो खेल खेल्न सक्छ’ उहाँले भन्नुभयो –‘म पनि पुरानो पुस्ताकै खेलाडी हुँ र लोकतन्त्रको लागि लडेको मान्छे हुँ, यो खेल मैले नै पूरा गर्न सक्छु भन्ने होइन । त्यसैले नयाँ युगको आवश्यकता पूरा गर्नका लागि अब नयाँ पुस्तालाई होस्टेमा हैंसे गर्नुपर्छ ।’
संयोजक भट्टराईले विश्वव्यापी रुपमै पूँजीवादी लोकतन्त्र र साम्यवादी लोकतन्त्रमा संकट आएको कारण विकल्पको खोजी भइरहेको प्रसंग उल्लेख गर्दै नेपालको राजनीतिमा पनि खडेरी परेकै कारण नयाँ शक्ति पार्टी जन्मिएको बताउनुभयो । उहाँले अबको लोकतन्त्रमा स्वतन्त्रता र समानताको ग्यारेन्टी हुनुपर्ने बताउँदै यस्तो लोकतन्त्रको मोडेल सहभागितामूलक लोकतन्त्र मात्र हुनसक्ने र त्यसलाई नयाँ शक्तिले राजनीतिक आधारको रुपमा ग्रहण गरेको बताउनुभयो ।
उहाँले नयाँ शक्ति पार्टीलाई दूध र अरु पुराना पार्टीहरुलाई पानीको संज्ञादिँदै पुराना पार्टीहरुसँग गएर मिसिनु भनेको दूधलाई प्रदूषित पानीमा मिसाउनु जस्तै भएको तर्क गर्दै बरु दूधमा थोरबहुत शुद्ध पानी मिसाउँदा दूधको गुणमा फरक नपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले नयाँ शक्ति पार्टीले अबको केही महिनाभित्र देशव्यापी रुपमा राष्ट्रिय आन्दोलनको उठान गरी पार्टीलाई बलियो र शक्तिशाली वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने रणनीतिक योजना रहेको बताउनुभयो । उहाँले राजनीतिमा लोकतन्त्रको नयाँ मोडेल आवश्यक रहेको र त्यो मोडेल नयाँ शक्तिले सहभागितामूलक लोकतन्त्रमार्फत प्रस्तुत गरेको बताउनुभयो ।
त्यस्तै नयाँ शक्तिको प्रवास प्रादेशिक परिषद्का इन्चार्ज हिसिला यमीले नयाँ शक्तिले सबै जाति, वर्ग, समुदायलाई समेट्ने इन्द्रेणी राष्ट्रियताको अवधारणा अघि सारेको र व्यक्तिको आन्तरिक खुसीलाई पनि समृद्धिको अंगको रुपमा परिभाषित गरेको भन्दै यो राजनीतिमा नयाँ आयाम भएको बताउनुभयो ।
पार्टीको आंगिक संगठनको इन्चार्ज कल्पना धमलाले सत्ताधारी दलहरुको रवैयाले पुरानै राजतन्त्रात्मक चित्र देखाएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली अपरिहार्य रहेको बताउनुभयो ।
प्रदेश नं. ४ का इन्चार्ज रुद्र गुरुङको संचालन तथा प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ४ का संयोजक देवी सुवेदीले पार्टीको केन्द्रीय निर्णयहरुबारे जानकारी गराउनुभएको थियो । प्रशिक्षण कार्यक्रम पश्चात् भोलि (बिहीबार) दुई प्रदेशका छुट्टा छुट्टै बैठक बसी संगठन विस्तारका विभिन्न योजनाहरु बनाउनेछ ।