अब बुद्ध र बैज्ञानिकहरु नयाशक्तिका आदर्श - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अब बुद्ध र बैज्ञानिकहरु नयाशक्तिका आदर्श



बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले गौतम बुद्धलाई पार्टीको आदर्श व्यक्ति बनाएको छ।

गत महिना लुम्बिनीमा भएको नयाँ शक्तिको चौथो संघीय परिषद् बैठकले  गौतम बुद्ध, काल मार्क्स, चार्ल्स डार्विन, अल्बर्ट आइन्सटाइन र म्याक्स प्लांकलाई पाँच आदर्शका रूपमा मान्ने  प्रस्ताव गरेको थियो।

नयाँ शक्तिले जारी गरेको ‘लुम्बिनी संकल्प – २०७४’ मा बुद्ध, मार्क्स, डार्विन, आइन्सटाइन र प्लांकलगायत महान विचारक र वैज्ञानिकका तस्वीर सधैँ देखिने ठाउँमा राखेर उनीहरूबाट प्रेरणा लिन कार्यकर्तालाई भनिएको छ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पाँच जनलाई आदर्श मान्नुको कारण केहीअघि फेसबुकमा उल्लेख गरेका थिए। भट्टराईले लेखेका छन् – चार दिन लुम्बिनीमा बसेर चिन्तनमनन गर्दा एक्काइसौं शताब्दीमा समग्र मानवजाति र विश्वको हितका लागि आवश्यक दर्शन र विचार बुद्धको आत्मिकी, डार्विनको जैविकी, मार्क्सको सामाजिकी-आर्थिकी र आइन्सटाइन-प्लान्कको भौतिकीको नवीनतम् प्रयोग र विकासमा खोज्नुपर्ने अनुभूत भयो। त्यसबाट समग्र एकीकृत सिद्धान्तको निर्माण गर्न सकिन्छ? आफ्नो अल्पज्ञानको दीप जलेको महसुस भयो।

लुम्बिनीबाट फर्किएलगत्तै नयाँ शक्तिको बैठकले पाँच जनालाई पार्टीको आदर्श मान्ने निर्णय गरेको थियो।

नयाँ शक्तिको आदर्शमा रहेका बुद्ध  साढे २५ सय वर्षअघि नेपालमा जन्मिएका थिए। अहिंसा र शान्ति उनका आदर्श हुन्। उनले समको सिद्धान्तले जीवनमा दु:ख निवारण हुने बताएका छन्।

नयाँ शक्तिका अर्का आदर्श चार्ल्स डार्विनले क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए। नयाँ शक्तिका अर्का आदर्श कार्ल मार्क्स संसार भरका धेरै कम्युनिष्टका अादर्श हुन्। जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनलाई पनि नयाँ शक्तिले आदर्श मानेको छ।

नयाँ शक्तिका अर्का आदर्श माक्स प्लांक पनि जर्मन भौतिकशास्त्री हुन्। क्वान्टम थ्यौरीमा उनले दिएको योगदानका लागि उनलाई सन् १९१८ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो।

त्यसो त नयाँ शक्तिले पार्टीको १५ संगठनात्मक सिद्धान्तमा योगलाई समेत समेटेको छ।

नयाँ शक्तिले कार्यकर्तालाई अभियन्ता भन्ने शब्द प्रयोग गर्ने निर्णय पनि गरेको छ।