नयाँ वर्ष , दारु अनि म ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नयाँ वर्ष , दारु अनि म !



दीपक घिमिरे

झ्याप्प रक्सी लाग्यो , आँखा उघ्रीन मानेनन , एउटा आँखा बन्द गरेर हेरेको अझै दुई प्याग जति रक्सी बच्या रहेछ । रुसलानका तीन वटा खाली सिसि टेबुल मुनि छरपस्ट खेल्दै थिए । एउटा टेबुलमै बसेर मलाई गिज्याउदै थियो ” साला किटारी , अझै दुई प्याग खा ! यत्ति पनि के बचाउछस । ” भन्दै ।

बसन्तेले गाजर र मुला मगायो सलादको रूपमा । मलाई अब लसुन सँग चुस्की लगाउने मुड चल्दै थियो । कुटुक्क काचो लसुन टोकेर घुटुक्क एक घुटुक रक्सीलाई घाँटी पार लगाउनुको मजानै बेग्लै । मैले दुई पोटि लसुन मगाए ।

मेरो रित्तो गिलास देखेर बसन्तेले भन्यो ” साला ! एक्लै डेढ बोतल उडाउनेले आज एक बोतल पनि सक्या छैन । नाटक नगरेर , खिच । ”
मैले एउटा आँखा बन्द गरेर रित्तो गिलास उठाए , माथि पुर्‍याएर पिधमा हेरे । थोपो रक्सी थिएन । बोतल बाट रक्सी खन्याउदै एउटा गाना गाए ” ………………हाँ हाँ मे अल्कोहलिक हु ! ”

मेरो गाना सुनेर अर्को टेबुलमा बस्ने मज्जाले हास्यो । मलाई लाज लागेन , किन भने म पिउदा कहिले लजाउदिन । बेटरले सलाद र लसुन ल्याईदियो । बिनितले फेरि एक प्लेट चिकेन चिल्ली मगायो । बसन्ते रिसाउदै भन्यो ” तेरो बाउले तिर्छ बिल ? ”

बिनित हास्यो मात्र । मैले आधा गिलास रुसलानमा आधा गिलास स्प्राईट मिसाय । उनीहरू जिस्कदै थिए , मैले एकै स्वाटमा गिलास रित्याईदिए । अनि उठेर कम्मर मर्काउदै नाच्न थाले , आफै गाउदै ” …………बाबरी फुलको बोट ……………!! “म फिटान छु । एउटा आँखा बन्द गरेर हेर्ने अवस्थाको फिटान । साथीहरू कुरा गर्दै भन्छन् ” दिपके सँग दारु पिउनुको मजा यसैमा आउच ! मस्तको मान्छे छ यार यो । ”
म झन् जोस्सिदै गाईदिन्छु । मेरो गाउने तालमा अर्को मणि भट्टराईले साथ दिए । उनले झन् उठेरै नाच्दै गाए ” …………सम्झना बिर्सना सलललल ………!”

रक्सीकै तालमा उनले यो गीत गाउनुको अर्थ सुनाईदिए । अहिले यो सिक्रेट कुरा नगरौ , बुढा रिस्सेलान भन्ने डर जो छ ।
मलाई मणी सँग बसेर रक्सी पिउन मजा आउँछ । किनकि उनी रक्सी पिउदा पुरै वाईल्ड हुने भन्छन् । उनको वाईल्डको अर्थ पूर्ण रूपमा फिटान हो रे । हात खुट्टा नलाग्ने गरी पिउनुको मजा छुट्टै रे । म पनि वर्षमा एक दिन पिउने तर हात खुट्टा नलाग्ने गरेर पिउने धारणा भएको किटारी । कुरा मिल्छ ।

घडी हेरेको , एघार बजिसकेको थियो । वेटरले बिल ल्यायो , एघार हजार छ सय । गोजामा फुटकर मिलायर सैतिस सय थियो । बसन्तेलाई दिए , बाकी कसले तिर्‍यो थाहा छैन ।
यो हिजो साझका कुरा ।
# # #
बिहान चारै बजे आँखा खुल्यो । मुख सुकेको थियो । फिल्टरबाट पानी निकाल्न खोजे , तुरुक्क सम्म आएन । माथि बाट खन्याए पो तल बाट झर्छ । प्यास ले यस्तै मार्दैछ , अब के गर्ने ?
बाहिर निस्केर हेरे , सबै बजार बन्द छ । घर भरीका सबै मान्छे आ-आफ्नो गाउँ गएका छन् । म मात्र छु जो चाडपर्वको बेला पनि एक्लै रुममा बसेको छु ।

बाथरुममा गएर पेटभरी पानी खाए । अघाए , डकारे । ठुस्स हिजो बेलुकाको रुसलान र अनेक नपचेका सितनको गन्ध आयो । फोहर पानी पिएकोमा घिन लाग्यो फेरि मन बुझाउन पुराना कुरा सम्झिए । जङ्गलमा गएको बेला कुहियको , किरा परेको पानी पातले निकाल्दै खाईन्थ्यो ।
मोबाइलमा चार्ज सकिनै लागेको रहेछ । घरबाट बुढी र बाले सयौ कल गर्नु भएको रहेछ । तर म बेहोस जस्तै थिए , केही थाहा पाइन । कल ब्याक गर्न खोजे , मोबाइलमा ब्यालेन्स सकियर कल ब्यारड भएको रैछ । दुई वटा म्यासेज रहेछ । हेरे , बुढीकै रहेछ ।
” आज पनि फिटान भयौ है ? तिमीलाई लाज लाग्दैन है ? ” एउटा म्यासेज यस्तो थियो । अर्को ” तिमी जस्ताको स्वास्नी हुनु भन्दा त एक्लै बस्नु बेस हुन्थ्यो होला , जड्या । ”

दुवै म्यासेजले मन खिन्न बनायो । हिजो खाएको रक्सीले टाउको उत्तिकै दुख्दै थियो । बुढीको म्यासेजले झन् रिङ्गाटा नै ल्यायो । साँच्चै म ठुलै जड्या बन्दै थिए । चार बजे पछाडि निद्रा लागेन , मनमा कुरा खेलिरहे । कहिले बुढीको म्यासेजले सतायो त कहिले आफ्नै भविष्य सम्झेर । म किन यति जड्या बन्दैछु ? भन्ने प्रश्न मनमा हजारौँ पटक उब्जिय तर म आफैले आफैलाई सम्झाउन सकिन । अनि आँखा बन्द गरेरै पल्टिरहे । बिस्तरामा पल्टेपनी निद्रा थिएन ।

बिहान आठ बज्ने बेला चार्जमा राखेको मोबाइलमा फोन आयो । बुढीको होला भन्ठान्या थिए , बसन्तेको रहेछ । उठाउकी न-उठाउ भन्दा भन्दै कट्यो । फेरि बिनितले गर्‍यो । दुई घण्टीमै उठाए ।

” ओए ! तुरुन्तै टपटेन कटेजमा आइज । आज लास्ट खाने , भोलि देखि बन्द । ” हेल्लो भन्न नपाउदै बिनितले निमन्त्रणा दियो ।
घडी हेरे , आठ पनि बजेको छैन । भित्तामा झुण्डिएको बाबु र बुढीको फोटो हेरे । साला किटारी भनेर थुक्दै छन् जस्तो आभास भयो । बिनितलाई ठाडै इन्कार गर्दै भने ” नाई यार ! आज देखिनै मैले रक्सी छाडे । ”
उ मस्तले हास्यो । हासो थाम्दै भन्यो ” साला किटारी ! ठुला कुरा नगर । तुरुन्त आइज । लोकल माछा र दारु । भोलि देखि कसैले नखाने । ” उ अझै हास्दै थियो ।
मैले फोन राखे । चार्जमै घुसायर फेरि बिस्तरामा पल्टिए । अब के गर्ने ? कहाँ जाने ? कसरी नयाँ साल मनाउने ? दुनियाँ क्लब , डिस्को अनि बारमा गएर न्यु ईएर सेलिब्रेट गर्दैछ । म चैँ दिनभर सुत्नु ? आफैले आफैलाई प्रश्न गरिरहे ।

संसारमा रक्सी खाने र नखाने धेरै मान्छे छन् जो बिच तुलना गरे । खायर बिग्रेकाहरु र खादै प्रगति गर्दै गरेकाहरू बिच तुलना गरे । अङ्ग्रेजी फिल्ममा अफिसमै वाईन खाने गरेका हिरोहरुलाई सम्झिए । खानेबेला हुने रमाइलोलाई सम्झिए । दुनियाँ सेलिब्रेसनको नाममा झुम्ने दिन म किन झुङेर बस्नु ? मनमा यस्तै तर्क आयो । आज धुम धमाका भन्ने मनमा आयो अनि बाथरुम छिरेर मुख पखाले , आएर कपडा लगाए अनि फोन गर्दै निस्किय टपटेन कटेज ।

फेरि रुसलानका बोतल फोडिए , सूर्यका पाकेट रित्तिय । सितनहरु प्लेटका प्लेट रित्तिय । अनि सुरु भयो ह्याप्पी न्यु ईएर पार्टी । मात चढदै गयो , बसन्ते , मणि अनि बिनितहरु झ्याप भैसकेका थिए । म पनि लगभग उनीहरूकै अवस्थामा पुगे । अचम्मको छ यो दारु । टाउको दुखायर ह्याङ्ग बन्दा कहिले खादिन भन्दै कसम खान्छु । फ्रेस हुँदा चैँ यो खादाको मजा सम्झेर भट्टी कुदि हाल्छु । आज फेरि नयाँ सालको खुसीले मलाई जड्या बनायो । फेरि उहीँ अवस्थामा पुगे । दुई आँखा खोल्न नमिल्दा एउटा बन्द गरेर अर्को आँखाले मात्र हेर्ने अवस्थामा पुगे । हिजो बिहान तीन रोटि खाएको हु त्यसपछि अन्न भन्ने चिज पेटमा परेको छैन तै पनि मस्त छु नयाँ सालमा ।

कहिले नयाँ साल , कहिले शनिवार त कहिले ग्यादरिङको नाममा दर्जनौ बोतल रित्तिदै छन् । म कमजोर हुदैछु । रक्सी खाएको दिन भात खाईदैन । थाहा छ म गलत गर्दैछु । तर पनि मलाई मजा यसैमा आउदैछ ।
यो अघि भर्खर सम्मको मस्ती हो ।
# # # #
कोठामा आएर पल्टेको मात्र थिए , एक्कासि पेट दुख्यो । छटपटाएरै मरिन्छ कि झैँ भयो । नराम्रो सँग बमिट भयो । पेट खाली भयो । तर पनि दुख्न छाडेन । सारा शरीर कमजोर थियो । म काम्दै थिए । हातहरू निक्कै कमजोर भए जस्तै काम्दै थिए । बल्ल बल्ल मोबाइल निकालेर बिनितलाई फोन गरे ।
” म मर्न आटे , छिटो आईजौ ! ”
मैले यत्ति भन्न सके । अनि म ढले ।
अहिले आँखा खोल्दा बेड नम्बर -१३ लेखेको छ । नर्शले लगातार मेरो पाखुरामा इन्जेक्सन दिदैछिन ।नजिकै बसेकी बुढीलाई हेरे । उ रातभर रोएको जस्तो आँखाले मलाई हेरी । घडी हेर्न खोजे , हातमा स्लाईनपानी चढाउदै रहेछ । नजिकैको बिनितले सम्हाल्यो । अनि कति बज्यो भनेर सोधे । रातीको बार बज्दै रहेछ । पुरै चौबिस घण्टा म बेहोस भएछु ।

म बेहोस भएर ढलेको अघि जस्तो लाग्दैछ । सबै रक्सीको खेल हो भन्ने बुढीलाई थाहा भैसकेको थियो । म निरीह थिए । उसका हजारौँ गाली सहन सक्थे यति बेला किन भने मैले गल्ती गरेको थिए । तर उसले गाली गरिन , बरु अझ धेरै माया दिई । म सुध्रन उसको गाली हैन , माया भए पुग्दो रहेछ भन्ने सोचे । नजिकै खेल्दै गरेको छोरालाई तानेर म्वाई खाए अनि टाउकोमा हात राख्दै भने ” जीवनमा रक्सी खादिन ! मलाई माफ गर्देउ । ”
यो मेरो अन्तिम कसम !