नवराज सिलवालले कीर्ते गरेको पुष्टि, अब के हुन्छ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवराज सिलवालले कीर्ते गरेको पुष्टि, अब के हुन्छ ?



काठमाडौं–

कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको पुष्टि भएको छ ।  उनि हाल फरार छन् । अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ।

एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ र उनिबिरुद्द मुद्दा दायर गर्ने तयारी भैरहेको छ ।

उनले बुझाएको कासमू कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ। यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरका एक अधिकारीले  बताए।

सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट  भएको छ। त्यस्तै लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो। सो क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो।

सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको भन्दै दोषीलाई छानबिन गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सिलवालमाथि छानबिन सुरु भएको हो। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए। फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ। सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ। सिलवाललाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको प्रहरी स्रोत बताउँछ।

सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन्।

आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौमा फैसला गरेको थियो। मुद्दा हारेपछि सिलवाल राजीनामा दिएर एमाले प्रवेश गरेका थिए। मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर १ बाट निर्वाचित भएका हुन्।