सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना



काठमाडौं –

पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ ।

सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन् । स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए । छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ । ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो ।

प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ । ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ । गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने । ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए ।