नवनियुक्त आइजिपीद्वयको पदबहाली आज - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवनियुक्त आइजिपीद्वयको पदबहाली आज



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले बिहीबार पदको दर्ज्यानी चिह्न (फुली) लगाउने भएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूलाई गृह मन्त्रालयमै आयोजित विशेष कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले आइजिपीको दज्र्यानी चिह्न लगाउने छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूको पदबहाली पनि बिहीबारबाटै हुनेछ ।

गृह मन्त्रालयका सहप्रवक्ता झंक ढकालले बढुवा भएका दुवै आइजीलाई बिहीबार बिहान ८ः३० बजे दर्ज्यानी चिह्न लगाइने बताए । उनले भने, ‘बढुवा भएका दुवै प्रहरीका आइजीलाई बिहीबार बिहान दज्र्यानी चिह्न लगाउने कार्यक्रम छ । त्यसलगत्तै उहाँहरूको पदबहाली हुनेछ ।’

दज्र्यानी चिह्न पाएलगत्तै नेपाल प्रहरीका नवनियुक्त आइजी खनाल पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल जानेछन् । प्रधान कार्यालयमा उनको स्वागतका लागि कार्यक्रम आयोजना गरिएको छ । स्वागत ग्रहणपछि उनी महानिरीक्षक कार्यालयमा गई पदबहाली गर्नेछन् । सशस्त्र प्रहरीका नवनियुक्त आइजिपी खनाल भने सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक जानेछन् । प्रधान कार्यालयमा उनको स्वागत हुनेछ । त्यसलगत्तै उनले पनि पदबहाली गर्नेछन् ।

१५ एआइजी, ९ डिआइजी र एक एसएसपी बिदा
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालको कार्यकाल भने बुधबार राति १२ बजेपछि सकिएको छ । उनीसँगै नेपाल प्रहरीका १५ एआइजी र ९ डिआइजी र एक एसएसपी सेवाबाट बिदा हुनेछन् । बिदा हुने एआइजीमा जयबहादुर चन्द, रणबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, हेमन्त पाल, विजयलाल कायस्त, मिङमार लामा, केशरीराज घिमिरे, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, माधवप्रसाद नेपाल, पशुपतिप्रसाद उपाध्याय, मधुप्रसाद पुडासैनी र विजयकुमार भट्ट छन् ।

यस्तै, डिआइजीमा केदारमानसिंह भण्डारी, पुष्कल रेग्मी, गणेश केसी, भोगबहादुर थापा, सुदीप आचार्य, गोविन्द निरौला, रमेश रञ्जित र सामेन्द्रसिंह देउजा रहेका छन् । बिदा हुने एसएसपीमा विष्णुहिर गौतम रहेका छन् ।

सशस्त्र प्रहरीका आइजी सिंहबहादुर श्रेष्ठ पनि बुधबार राति १२ बजेबाटै ३० वर्षे सेवावधिका कारण बिदा हुनेछन् । उनीका ब्याची एआइजी प्रकाश ओझा र प्रेमबहादुर शाही उनीसँगै सेवाबाट बिदा हुनेछन् ।

रमेश खरेलको राजीनामा स्वीकृत
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका डिआइजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । उनले प्रहरी प्रधान कार्यालयमा बुधबार डिआइजीबाट राजीनामा दिएका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले उनको राजीनामा बुधबार नै स्वीकृत गरेका हुन् । कनिष्ठलाई सरकारले आइजीमा बढुवा गरेको भन्दै उनले बुधबार पदबाट राजीनामा दिएका थिए । गृहका सह प्रवक्ता झंक ढकालले उनको राजीनामा स्वीकृत भएको बताए ।नयाँ पत्रिकामा खबर छ ।