आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु



नवलपरासी (रासस) । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ ।

बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो ।

जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताउनुभयो ।

करिब रु ५० लाख लागत लाग्ने यो मेसिन राष्ट्रिय क्षयरोग केन्द्रले अनुदानमा खरिद गरी यस अस्पतालमा जडान गरिएको हो । सो मेसिनबाट दुई घण्टाभित्र क्षयरोगीको वास्तविक अवस्थासहित कुन औषधि प्रयोग गर्न राम्रो हुनेलगायतका जानकारी प्राप्त गर्न मद्दत गर्छ ।

एकैपटकमा चारजना बिरामी जाँच गर्ने यस आधुनिक मेसिनबाट निःशुल्करुपमा बिरामीलाई जाँच गरिने समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ ।

क्षयरोग परीक्षण गराउन आउने बिरामीलाई दूरीको हिसाबले यातायात खर्चसमेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी कार्यालयले जनाएको छ ।

सो उपकरणमार्फत चिकित्सकलाई क्षयरोगका बिरामीको पहिचान गर्न र किटाणु पत्ता लगाउन सजिलो हुने अपेक्षा गरिएको छ ।

विगतका दिनमा क्षयरोगको रिपोर्ट धैरै दिन लाग्ने भए पनि आधुनिक मेसिनले दुई घण्टामै रोग पत्ता लगाउनासाथ किटाणुसमेत पत्ता लगाउन मद्दत गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन अनन्तकुमार शर्माको भनाइ छ ।

चालू आव २०७४÷७५ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा कूल ३८२ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खासगरी राजमार्गसहित दक्षिणी क्षेत्र यो रोगको बढी जोखिममा छ । गत आवमा नवलपरासीमा ९१७ जना क्षयरोगको बिरामी फेला परेको तथ्यांक छ । नवलपरासी जिल्ला क्षयरोगको उच्च जोखिममा पर्छ ।