मेरो प्रेममा कुण्डलीको दोष

November 9, 2017
13 Views
-नबिन पन्त

ओई बिहे कहिले हुने भयो ?

फोनको स्क्रिनमा म्यासेजको नोटिफिकेसन देखियो। जब त्यो म्यासेज देखे पिडासँगै रिसको पारो थर्ममिटरमा जस्तै ह्वातै माथि गयो। हवन गर्दा बलिरहेको आगोमा घ्यू थप्दा निस्कने ठुलो आगोको राप जस्तै मन झन दन्किदै थियो ।

काब्याको म्यासेज थियो। मलाई भन्दा मेरो बिहेको हतार उसलाई थियो। तेरो बिहेमा त भिनाजुको जुता लुकाई दिने मै हो भन्दै जिस्काई रहन्थी। मेरो मात्र होइन, यति बेला उसका पनि सपना -च्यातिएका सयपत्री फूल जस्तै असरल्ल भएका थिए । मेरा आँखा भरी आँसु -साउनको झरी जस्तै बगी रहेको थियो । मन भाँचिएको थियो प्लास्टर गर्न नमिल्ने गरि।

मनको मिल्ने साथी काब्या नै त थिई। गर्हुङ्गो मन गराउदै मोबाईलको किप्याड थिच्दै लेखे ” बिवाह नहुने भयो ! ” म्यासेज पाउने बितिकै उसले फोन गरि।

“ओई ! के भयो ?”
-केहि होइन।

मलाई सबै कुरा बताउन पनि गार्हो भएको थियो। मेरो कुरा बुझेर हुनु पर्छ , सधै जिस्कने ऊ नम्र स्वर गराउदै भनी- कहाँ छस अहिले ? म त्यहिँ आउछु। घर मै भएको बताएर धेरै कुरा नगरी फोन राखिदिए।

******************************************

कोठा बाट आकाश तिर हेर्दै, टुक्रिएका ति सपनाहरुलाई एक एक गरि सम्झदै थिए। आकाशमा बादलले सुर्यलाई जिस्काई रहेको थियो – मेरो जिबनले जस्तै। कहिले सुर्य मुनि आएर उसको प्रकाश ढाकिदिन्थियो भने, कति बेला प्रकाशलाई पृथ्वीमा आउन बाटो खुल्ला गरि दिन्थियो। मेरो जिबनमा पनि बादलहरु हटेर अब प्रकाश छाउने छ भन्ने सोचेको थिए। तर खेल त्यहाँ माथि आकाशमा जस्तै भईरहेको थियो ।
अर्चितको अनुहार सम्झिए ,कति सहज रुपमा लिएको सबै कुरा । अर्चितले मेरो मनमा साम्राज्य जमाएको ६ महिना मात्र भएको थियो। उसकै आफन्तले मलाई चिनाएकी थिईन। हामी दुवैको बिवाह गर्ने उमेर बढ्दै थियो। आँखाले क्यौ तिर नजर घुमाए पनि मन कसैले कब्जा गर्न सकेको थिएन। अर्चितको आफन्त पर्ने गिता दिदिसँग मेरो राम्रो चिनजान र हिमचिम थियो। त्यसै क्रममा उनले नै अर्चितको कुरा मलाई लिएर आएकी थिईन। ‘फेसबुकमा कुरा गर, मन मिल्यो भने घर परिवारमा कुरा गरेर बिवाह गरौला नि ! उनिले अर्चितको फेसबुक देखाउदै भनेकी थिईन ” ।

त्यहिँ दिन बेलुका अर्चितले नै मलाई फ्रेण्ड रिक्वेस्ट पठायो। बैंकको ब्रान्च म्यानेजर, मास्टर सकेको , मान्छे पनि ह्याण्डसम। सुरुमै आकर्षण गर्ने कुराहरु उसमा थिए। त्यसैले होला, उसको फेसबुकको बायो हेरे पछि -ठिकै छ एकचोटी कुरा गर्दैमा के नै बिग्रिन्छ र भन्ने भाब मनमा पैदा भयो । मैले ढिला नगरी उसको फेसबुक रिक्वेस्ट एसेप्ट गर्दिए। म्यासेज आई हाल्यो।

” अनलाईन त धेरै नै बस्छौ जस्तो छ , कति छिटो एसेप्ट गरेको ! ” उसको कुराले झनक रिस उठ्यो। कस्तो केटा रैछ , पहिलो चोटी म्यासेज गर्दा हेल्लो! हाई केहि भन्नु छैन। बर्षौ देखि चिने जस्तो म्यासेज गरेको छ ,त्यो पनि आरोप लगाएर। म पनि के कम , मन भित्रको अहंकारलाई उच्च गराउदै भनि हाले ‘ हजुर ! महाशय मेरो काम नै फेसबुकमा हुन्छ।

ऊ अझै जिस्कदै थप्दै गयो ” जुकरवर्गले तलब कति दिन्छ त ? ”
– चिन्नु न जान्नुको मान्छेलाई किन भन्ने मैले तलब
उसले केहि हच्किदै भन्यो ” खाना खायौ ? ”
मैले पनि रुखो जवाफ दिए ” अ खाए !”

त्यसपछि, हाम्रो परिचय सुरु भयो। फेसबुक प्रोफाईलमा गमक्क परेर टाई सुट लगाएको फोटो राखेको भए पनि उसको स्वभाब भिन्न थियो। उसको जिस्काईले मलाई भित्रै देखि रोमान्चित गराउदै थियो। उसले कुराकानीको बीच मै भन्यो ” बुढी बन्ने हो त ?” मलाई बुढी बन्नु छैन तरुनी नै ठिक छु।
म पनि उसँग खुलेर नै जिस्कदै थिए। एक मनले भन्यो ” के सोचेको होला उसले ?” ह्या जे सुकै सोचोस् सुरु उसैले गरेको हो” आफैले उत्तर दिए। कुराकानी लामै भयो उसले भेट्ने प्रस्ताब राख्यो। मैले प्रस्ताब निसंकोच स्विकार गर्दिए।

भोलि दुवैको अफिस सकिए पछि सुन्धाराको सिभिल महलमा भेट्ने कुरा भयो। मेरो बसाई टेकु उसको कालीमाटी, संगम सुन्धारा नै थियो हाम्रो लागि। घडी हेरे ,लाग्यो घडीको सुई दौडिदै ३ बजे सकेको रहेछ। अरु दिन लामो हुने रात आज कति छिटो सकिदै थिए । पहिलो संबाद मै हाम्रो आत्मियता गहिरो भै सकेको थियो। बाहिर दुध र पत्रिकाका गाडी आफ्नो गन्तब्यमा पुग्न दौडिदै थिए मेरो मन जस्तै। उसँग जिस्किएका संवादहरू ओल्टाई पल्टी हेरे पछि म पनि निद्रा देबीको काखमा पल्टिएछु।

बिहान उठ्दै थिए, ९ बजे नै एउटा म्यासेज आयो अर्चितको ” गुड मर्निङ्ग सिया ! ह्याब अ गुड डे। ‘ मानौ म उसकी प्रेमिका भै सके। आफ्नो दैनिकी भए जस्तै बिहानै म्यासेज पठाउदै छ। एउटा मनले यस्तो सोचे पनि अर्को मनले सपनाहरु बुन्दै थियो। विरोधाभास पूर्ण भएको थियो मन। ऐनामा हेरेर आफै मुसुक्क हासे र आफै लजाए ” छ्या ! कस्तो सोचेको मैले पनि , जसलाई भेटेको पनि छैन ऊ प्रति कस्तो मोहित भएको। ”
अर्को दिन साँझ म सिभिल महलको जाभा क्याफेमा उसलाई पर्खेर बसी रहेको थिए। ऊ समयमा आई पुगेन म्यासेज गरु जस्तो लाग्यो। अनि मेरो ईगोले रोक्यो। क्याफे मोचा खादै त्यहाँका दृश्यहरुमा आँखाहरु घुमाई रहेकी थिए। सपिङ्ग महल भित्र जोडीहरु रमाईलो गर्दै हिडेको देख्दा त्यहाँ मैले अर्चित र मेरो प्रतिच्छाया हिडीरहेको आभास गर्थिए। मन ससंकित पनि थियो , मैले यति धेरै सपना बुन्दै गर्दा – यदि मैले सोचे जस्तो अर्चित भएन भने?

करिब आधा घण्टा पछि ऊ आई पुग्यो। हल्का कालो अनुहारमा सेता दात टल्काउदै फिस्स हास्दै भन्यो ” सरी यार! जाम भएर ढिला भयो। ” धन्न बेला बेला जाम हुन्छ र बाहाना गराउन सजिलो भएको छ है – मैले उसका आँखा तिर हेर्दै भने। गाडीको चापी खल्ती बाट निकाल्दै कोट खोलेर कुर्चीको पछाडी झुण्डाउदै भन्यो – के खाने , मलाई त सार्है भोक लागेको छ , कामको प्रेसरले खाजा नि खान पाएन। कस्तो खन्चुवा रैछ , पहिलो पल्ट भेट्दा पनि खाना कै रन्को। मनमा यस्तै कुरा आए पनि मेनु तिर हेर्दै भने -जे खान मन छ अडर गर्नुस न। उसको व्यवहारले हामी त्यहाँ पहिलो चोटी भेट्दै छौ भन्ने आभास नै भएन । बर्षौ देखिका भेटिरहने साथीमा जस्तै खुल्लापन थियो उसमा । त्यहिँ बानिले नै मलाई ऊ प्रति झन् आकर्षित गर्दै थियो पल पल ।

उसले खाजा खायो ,मलाई भने खासै खान मन थिएन। उसले पत्रकारले जस्तै प्रश्नहरु गर्दै गयो , मैले उत्तर दिदै गए। आफ्ना बिगत वर्तमान धेरै कुरा खोल्यौ। व्यक्तित्वले प्रभावित भए पनि हाम्रो आनी- बानिको बारेमा दुबैले समय लिएर बुझ्ने निर्णयमा पुग्यौ ।

केहि महिना मै बिवाह गर्ने प्रस्ताब गर्दै उसले भन्यो ” हामी १-२ महिना दुवैलाई बुझौ अनि फाल्गुनमा बिहे गरौ लगन पनि छ । म केहि गम्भीर हुदै भने ” मेरो बिवाहको लागि कुरा आउने तपाई पहिलो व्यक्ति होईन। यस्ता प्रस्ताब हरेक दिन जसो आउने गर्छन। मैले तिहारमा घर गएको बेला झगडा गर्दै बैशाखसम्म बिहेको कुरा निकाल्न पनि नपाईने ठाडो आदेश दिएर आएको छु। फेरी मैले नै बिहे गर्छु भन्न मिल्दैन। तपाईलाई हतार छ भने अरु नै केटि खोज्न सक्नु हुन्छ।” उसले मेरो कुरामा जिस्कदै भन्यो ” तिमी जस्तो राम्रीलाई ६ महिना त के, ६ वर्ष नै कुर्न सक्छु नि।”

घरमा हिजो देखिका जुठा भाडाले मलाई पर्खेर बसीरहेका थिए त्यसैले उसलाई भने ” मलाई ढिला भयो जाऊ अब । ” तिमलाई पनि घरमा गएर एक्लै खाना पकाएर खानु पर्छ अनि मलाई पनि। बरु यतै थकाली खान मिठो पाउछ , यतै खाएर गए हुदैन ? थाकेको शरीरमा उसको प्रस्ताब स्वागत योग्य थियो तर मनमा घरबेटीले ढोका लगाएर फेरी बाहिर कै बास हुने हो कि भन्ने चिन्ता पनि थियो। घर बेटी कडा छन् समय मै घर पुग्नु पर्छ , ढिला हुने हो कि ! १० बजे भित्र पुग्नु पर्छ। उसले घडी हेर्दै भयो ” मज्जाले पुग्निछ, जाऊ हिड।”

हामीले उसको गाडी त्यहिँ छोड्यौ र मेरो स्कुटरको पछाडी बसेर सुन्धाराको गल्लि भित्र पस्यौ। अगाडी बाट पानिको ट्यांकर हुतिदै म तिर आउदै थियो , झ्याप ब्रेक लगाउदा उसले डराउदै मेरो कम्मर छोप्यो अनि डराएको स्वरमा भन्यो ” कस्तो रफ चलाएको।” मैले ट्यांकरको रिस उसलाई पोख्दै भने ” भिडभाड नै त्यस्तै छ अनि के गर्ने त !” उसले चुपचाप मेरो कुरा आज्ञाकारी बालकले झैँ सुन्यो र कुनै प्रतिक्रिया दिएन।मलाई भने उसको त्यो पहिलो स्पर्शले अद्भुत आनन्द पैदा भएको थियो।

‘धेरै दिन पछि भात, दाल , तरकारी , मासु सबै खाईयो ‘उसले फिस्स हास्दै भन्यो।
-किन अरु बेला भोकै सुत्नु हुन्छ र ?

कासको थालमा रहेको गुन्द्रुकको आचार मुखमा राख्दै उसले उत्तर दियो ” के गर्नु एक्लो बसाई कहिले भोकै , कहिले पाउरोटि ” अनि थप्दै भन्यो ” अब तिमीले बिवाह गरे पछि मिठो खुवाई हल्छौ नि।

“ए ! उसो भए भात पकाउन मलाई बिहे गर्न लागेको हो। मलाई केहि पनि आउदैन पकाउन- तपाईले नै सबै गर्नु पर्छ ! ” उसले मेरो आदेशयुक्त जवाफलाई अगाडी नबढाई कुरा अन्त मोड्दै भन्यो ,” जाऊ हिड ! फेरी घरबेटीले ढोका नखोलेर बाहिर नै बस्नु पर्ला।

के भयो त , तपाई हुनु हुन्छ त, लैजानु हुदैन र ?
उसले जिस्कन खोज्दै भन्यो ” मेरोमा त एउटा मात्र खाट छ सुत्छ्यौ त ?
– सुत्छु नि किन नसुत्ने , तपाईलाई भुइँमा सुताएर म खाटमा।
कस्ती बाठी रैछौ तिमी त ?
– अ ! हिजो देखिको संगतको प्रभाब हुनुपर्छ। गफगाफ गर्दै हामी पार्किंगमा आईपुगेका थियौ। छुटिन मन नभए पनि ब्याध्यताले हामी त्यहाँ बाट आफ्नो आफ्नो कोठा लाग्यौ।

त्यस दिन पछि प्राय: हामी समय मिलाएर भेट्न थाल्यौ । काठमाडौँमा दुवैको एक्लो बसाई त्यस माथि टेकु र कालिमाटीको दुरीले हाम्रो भेट सहज भै रहेको थियो। हाम्रो बसाईको दुरी जस्तै मनको दुरी पनि दिन प्रति घटेर नजिक हुदै थियो। केहि बेर कुरा हुन पाएन भने मन आतिन थियो। बिषयबस्तु नै नभए पनि संबादहरु घण्टौ हुन्थिए। अनि , फेरी भन , जस्ता संबादहरु सयौ पल्ट दोहोरी रहन्थे । कोहि सँग ५ मिनेट भन्दा बढी बोल्न नसक्ने म -गीता पाठ गर्दा जस्तै धाराप्रवाह आफ्नो दैनिकी सबै उसलाई बताउने गर्थे। प्रेमको आकुरा दिन प्रति दिन बढ्दै थियो, करेसा बारीमा हुर्किने धनिया जस्तै । बैशाखमा दुबैको परिवारमा भनेर बिवाह गर्ने हाम्रो सम्झौता भएको थियो। त्यसैले पनि हामी ढुक्क भएर भविष्यको कल्पनामा डुब्दै सपनाहरु बुन्ने गर्थियौ।

हाम्रो बाहिर हुने भेट बिस्तारै हाम्रा कोठाहरु सम्म पुगे। कहिले उसकोमा कहिले मेरोमा । खाना एउटै भान्सामा हुन लाग्यो। एक अर्काका सुख दु:ख दुवैको हुन लागे। बिहान उठे पछि राति सुत्ने बेला सम्म हामीले के के गर्यौ दुबैलाई थाहा हुन्थियो। कहिँले काहिँ फोनमा कुरा गर्दा गर्दै दुबै भुस पर्थियौ।

भ्यलेनटाईन डेको दिन थियो। अर्चितको मै खाना खाने भद्र सहमति हिजो राती नै फोन बार्तामा भएको थियो । त्यहाँ गए पनि सबै पकाउने जिम्मेवारी मेरो नै हुन्थियो। लखन थापा दिवस पनि सोहि दिन पर्ने हुदा अफिस छुट्टि थियो। कोठाको सरसफाई, केहि दिन देखि थुप्रिएका कपडाको डङ्गुरलाई बल्ल बल्ल पार लगाएर बसेकी थिए। ऊ नै गाडी लिएर मलाई लिन आयो। पिपलबोट मुनि लाग्ने तरकारी बजारमा पुगेर हामीले तरकारी , मासु किन्यौ। उसले अगाडीको लिकर पसल बाट वाईन किन्यो र हामी रुम तिर लाग्यौ।

हामी खाना खाएर फ्लिम हेर्दै थियौ। उसले मलाई जिस्काउदै नजिक आईपुग्यो। “अस्तिको गालिले पुगेन फेरी चल्न आउनु भएको” थोरै हप्काई मिश्रीती स्वरमा उसलाई सतर्क गराए । केहि दिन अगाडी पनि ऊ चंचल गर्दै थियो। मैले राम्रोसँग गालि गरे पछि ऊ ठाऊमा आएको थियो। गार्हो मलाई नि भएको थियो , उसको नजिकै बस्दा उसको शरीर बाट उड्ने त्यो मगमगाउदो बासनाले मलाई पनि उडुउडु नगराएको कहाँ हो र? तर पनि परिधि नागेर बिवाह अगाडी नै उड्न नदिन मनले पर्खाल लगाएर राखेकी थिए । चुम्बनको लागि मात्र भनेर बेला बेला उसले नभएको होइन। तर स्पर्स गर्न बाट नि उसलाई लक्ष्मण रेखा कोरेर राखेकी थिए।

केहि बेरमा , उसले बिस्तारै दराज खोलेर म तिर आयो र औठी दिदै भयो ” आई! लभ यु ” अब जिबन भरि तिम्रो साथमा हुनेछु सिया।” जब उसले मलाई नजिकै आएर त्यो भन्यो र ह्याप्पी भ्यलेनटाईन डे भन्दै आफ्नो अँगालो खोल्यो ,म उसको अँगालोमा बधिन पुगेछु। ” मलाई जे डर थियो त्यस रात त्यहि भयो। मैले आफैले कोरेको लक्ष्मण रेखा तोड्दै थिए। मैले आफैले प्रयास गर्दा पनि रोक्न सकिन। लग्थियो, उसमा हिप्नोटाईज गर्ने क्षमता छ र मलाई तानी रहेको छ -रोक्नै नसक्ने गरि। उसको स्पर्श र चुम्बनले समुन्द्रमा आएको छालको तरङ्ग जस्तै मेरो शरीर नै तरंगित हुदै थियो। र हामी दुवैले प्रेमको अबेगलाई एक अर्का प्रति पोख्यौ।”

मनसँगै तन पनि एक भयो। हामी अघोषित रुपमा श्रीमान श्रीमती जस्तै भएका थियौ । प्राय: हामीसँगै बस्थियौ। हामी दुबैको साथी सर्कलमा बिस्तारै परिचित हुदै थियौ। मेरो मिल्ने साथी काब्या साली भएकी थिई अर्चित कि , अर्चित उसको भिनाजु। अर्चितका साथीहरु मध्ये कसैको लागि म भाउजु भएको थिए भने कसैको बुहारी भएकी थिए। ति सम्बन्धहरुले अभिनन्दन हुदा मनमा हर्षध्वनि बज्थियो।

*******************************

काब्या आई पुगेको मैले झ्याल बाट देखे । अघि आकाशमा मडारिएको बादल आफ्नो वजन थाम्न नसकेर थोपा थोपा बनेर खस्दै थियो। मेरो मनको भारी आँखा बाट बगे जस्तै । ऊ रुझ्दै रुझ्दै मेरो रुममा आई पुगेकी थिई। मेरो अवस्था देखेर होला केहि सोध्न सकिन र चिसा कपडामा चिसो मन गराउदै भनि “चिया पकाछु खाऊ है ! ” उसलाई लागेको हुनु पर्छ चिया खाने बेला सम्म मेरो मन पनि केहि तातो हुनेछ र म केहि खुल्ने छु । चिया खाए पछि मलाई सोधी ” के भयो ?” चिया पकाउदा काब्याले उमालेको दुध जस्तै मेरो मन पनि एकासी उम्लिएर आयो र भाकनिदै उसलाई छोपे । मसँगै ऊ पनि रोई, उसलाई म रोएको कारण सबै थाहा नभए पनि ऊ रुनुको कारण मेरा आँखामा बगेका आँसु थिए।

केहि बेरमा मन समालिए पछि उसलाई भन्दै गए ,

हिजो पोखरा बाट गएको अर्चितको परिवार र हाम्रो परिवारसँगै भेटेर पण्डितजीलाई कुण्डली देखाएका थिए। अर्चित र मसँगै थियौ , उसकी बहिनिले कसैले थाहा नपाउने गरि भिडियो कल बाट उता पण्डितले भनेको कुरा लाईभ सुनाई रहेकी थिई। पण्डित जीको धेरै कुरा त मैले बुझ्दैन थिए। उनीले जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्दै थिए। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिदो रैछ – वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी।

उसले मेरो रुवाई कम होस् भनेर होला जिस्काउदै भनि , योनि र नाडी त मिली सक्यो होइन र ?

मलाई झन् रिस उठ्यो र झर्किदै भने , मेरो जिबन यस्तो भएको जोक लागेको छ होइन तलाई ? उसले सरी भन्दै फेरी सोधी ” भन्न ! अरु के भयो ?

जे भए नि मेरो पिडा सुन्ने साथी उहिँ नै थिई , जति जिस्के पनि साथ दिने पनि त्यहि नै हो , नत्र पानीमा रुझ्दै किन पो आउथि र ?

मैले काब्यालाई फेरी सुनाउदै गए।

हाम्रो मनुष्य र राक्षस गण रहेछ। यस्तो अवस्थामा बिहे भएमा एक जानाको आयुमा सङ्कट आउने वा मृत्यु हुने पण्डितले बताए। त्यहिँ मात्र होइन राशी, नाडी, ग्रहमैत्री पनि राम्रो छैन भन्दै बिवाह नगर्न ति पण्डितले सुझाब दिए। काब्या, मैले अर्चितलाई यति धेरै प्रेम गर्छु भनेर कहिले पनि सोचेको थिएन। मैले ऊ अरुको भएको देख्न सक्छु तर उसको मृत्युको कल्पना पनि गर्न सक्दिन। परिवारले माने पनि एउटाको मृत्यु हुन्छ भन्ने सुन्दा सुन्दै मैले कसरी बिवाह गर्न सक्छु ? काब्याले मलाई केहि सम्झाउदै भनि ” हेर ! अझै पनि त रुढीबादी कुरामा विश्वास गर्छस ?

काब्या यहिँ बिश्वासले मैले हरेक मंगलबार उसको चिरायुको लागि बर्त बस्छु। लग्थियो, यो बिश्वासले जिबनमा आउने ठुला ठुला चुनौतीका पहाडहरु सजिलै पार लाग्ने छन्. तर के थाहा , त्यहिँ बिश्वास कहिँले धकल्न नसक्ने ठुलो पहाड बनेर आफ्नै अगाडी बस्नेछ भन्ने !

सिया, ” यो कुण्डलीको दोष होइन , तेरो मनको दोष हो !”
कब्या, यो मेरो प्रेममा कुण्डलीको दोष हो , त्यसैले म अर्चित बाट धेरै टाडा जादै छु जसले उसलाई सजिलो हुनेछ।
सिया त खुसि हुन्छस त ? आफ्नो मनलाई सोध !
– उसको मृत्यु हुन्छ भन्दै पिडामा बाच्नु भन्दा ,ऊ रमाएको हेरेर टाडै बाट उसको खुशीमा रमाउने छु।

****

समाप्त !

Facebook Comments

You may be interested

अब माघ देखि नागरिता काम नलाग्ने ! तर कसरी ? पढ्नुहोस !
समाचार
0 shares2 views
समाचार
0 shares2 views

अब माघ देखि नागरिता काम नलाग्ने ! तर कसरी ? पढ्नुहोस !

विशाल पाण्डेय - २०७४, २८ मंसिर १३:३६

काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले…

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी
राजनीति
0 shares131 views
राजनीति
0 shares131 views

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी

himal post - २०७४, २८ मंसिर १२:५०

काठमाडौं- मङ्सिर १० र २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले ८० सिट जितेपनि नेपाली काँग्रेस नै पहिलो र ठुलो…

अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने
पत्रपत्रिका
0 shares11 views
पत्रपत्रिका
0 shares11 views

अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने

विशाल पाण्डेय - २०७४, २८ मंसिर १२:३५

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बुधबारसम्ममा सार्वजनिक भइसकेको छ । समानुपातिकको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा…