पढाइ खर्च जुटाउन म्यादी प्रहरीमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पढाइ खर्च जुटाउन म्यादी प्रहरीमा



कपिलवस्तु: पढाइ खर्च जुटाउनका लागि कपिलवस्तुमा उच्च शिक्षामा अध्ययनरत थुप्रै विद्यार्थीहरूले म्यादी प्रहरीमा आवेदन दिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिए, बिबिएस, ईन्टर पास गरेका थुप्रैले म्यादीमा आवेदन दिएका छन् । यसैक्रममा मानविकी संकायको बिए तेस्रो वर्षमा अध्ययनरत जिल्लाको बाणगंगा नगरपालिका कोपवाकी मन्जु चौधरीले पढाइ खर्च जुटाउन म्यादी प्रहरीमा आवेदन दिएकी छिन् ।

सिद्धार्थ क्याम्पस बुङ्चीमा पढने उनले बिए दोस्रो वर्षको जाच दिएर म्यादीमा आवेदन दिएकी हुन् । ‘पढाइ खर्च जुटाउन म्यादीमा आवेदन दिएकी हुँ’ उनले भनिन्– ‘छनौटका लागि तयारी पनि गरेको छु ।’ म्यादीमा आवेदन दिँदा आमा बुवाको समेतले आफूलाई साथ दिएको उनले बताइन् । ‘ अहिलेसम्म आमा बुवाकै साहारामा पढाइ गर्दै आएकी छु, म्यादीमा छनौट भए उहाँहरूलाई पनि केही राहत मिल्ने थियो’, उनले भनिन् ।

यस्तै बिबिएस दोस्रो वर्षमा अध्ययनरत बाणगंगा नगरपालिकाको ओदारीकी गोमा कंडेलले पनि अध्ययन खर्च जुटाउन म्यादीमा फारम भरेकी छिन् । बिबिएस पहिलो वर्षको जाँच दिएर बसेकी उनले ६ पढाइ खर्च र ६ महिनाको ग्यापको ब्यवस्थापन गर्न म्यादीमा आवेदन दिएको बताइन् ।

सिद्धार्थ क्याम्पस बुङचीमा पढ्दै आएकी उनले म्यादीमा आफू छनौट हुनेमा ढुक्क रहेको बताइन् । म्यादीमा फारम भर्दा आफूलाई कुनै संकोच नलागेको र यसमा आफ्नो आमाको समेत साथ रहेको बताइन् । म्यादीमा फारम भर्न एक महिना अघिदेखि त्यसको तयारीमा जुटेकी उनले म्यादीमा काम गरर आउने पैसाले आफूलाई अध्ययनमा खर्च गर्ने बताइन् ।

मन्जु र गोमा मात्र होइन म्यादीमा फारम भरेका थुप्रैले पढाइ खर्च जुटाउन म्यादीमा आवेदन दिएको पाइएको छ । प्रहरी उपरीक्षक भोजजंग शाहले बिए, बिबिएस र ईन्टर पढेकाले समेत म्यादीमा आवेदन दिएको बताए । यस पटक उच्च शिक्षा हासिल गरेकाहरूको पनि म्यादीमा आकर्षण देखिएको उनले बताए । जिल्लाका लागि कुल २ हजार ४७६ सिट निर्धारण गरिएका छन् । जसमा कुल ७ हजार ८१० आवेदन परेको प्रहरी नायब उपरीक्षक प्रहद अधिकारीले बताए ।

जसमा महिलाको संख्या १ हजार ५४५ छ । गएको स्थानीय निर्वाचनमा कुल १ हजार ८९२ सिटका लागि चार हजारको हाराहारीमा आवेदन परेको थियो । यसैबीच कपिलवस्तुका म्यादी प्रहरीको छनौट प्रकृया आइतवारबाट सुरु भएको छ ।

म्यादी प्रहरी छनौटका लागि सहायक प्रजिअ रामेश्वर अर्यालको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । उम्मेदवारहरूको शारीरिक, स्वास्थ्य परीक्षण दौड, लिखित मौखिकपछि असोज १० पछि छनौट भएका उम्मेदवारको सूची निकाल्ने तयारी गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।