मुलुकलाई ध्रुवीकरण गर्न खोजिएयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुलुकलाई ध्रुवीकरण गर्न खोजिएयो



हिमाल पोष्ट / काठमाडौँ, १४ मङ्सिर । नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेकाले अहिले ल्याउन नहुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ ।

सचिव आचार्यले संविधान संशोधनको औचित्य मुलुकको पक्षमा हुने भएमा आफ्नो पार्टीले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यतिबेला निर्धारित समयमा चुनाव गरेर संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीका सल्लाहकार नारायण दाहालले संविधान संशोधन गराउने उद्देश्यले गठन भएको वर्तमान सरकार प्रमुख दलको सहमतिमा प्रस्ताव दर्ता गराउने गृहकार्यमा लागेको बताउँदै यसले दलबीच सहमति कायम भई मुलुकमा चुनाव गराउने वातावरण बन्ने छ भन्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले संविधान संशोधनको विषयलाई लिएर आफ्नो पार्टीभित्र कुनै दुई मत नरहेको प्रस्ट पार्दै संविधान संशोधन अहिलेको आवश्यकता भएको र प्रदेश सीमाङ्कनको विवाद समाधानका लागि प्रधानमन्त्रीले अघि सारेको संशोधन प्रस्तावमा आफ्नो दलको पूर्ण समर्थन रहेको बताउनुभयो ।

मधेसी मोर्चाका नेता महेन्द्रराय यादवले सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने प्रस्ट पार्नुभयो ।

उहाँले सरकार गठनको पूर्वसन्ध्यामा काँग्रेस र (माओवादी केन्द्र)सँग मोर्चाले गरेको तीनबुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  रासस