मुगुमा भाइरल ज्वरोको महामारी फैलियो, ८ को मृत्यु, सरकार बेखबर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुगुमा भाइरल ज्वरोको महामारी फैलियो, ८ को मृत्यु, सरकार बेखबर



मंसिर १६, मुगु ।   खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण आठ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण सयौं स्थानीय प्रभावित भएका छन् । भाइरल ज्वरोले यही साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भाइरल ज्वरोबाट कात्तिकमा सेरी साटबाडका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको थियो । करिब डेढ सय घरधुरी रहेको रिघाका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित बनेका छन् । सबै घरमा बिरामी देखिएपछि छिमेकी गाउँका बासिन्दा त्यहाँ जान डराउन थालेका छन् ।

‘बिरामी कुर्ने मान्छे छैनन् । सबै ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने रकम अधिकांशसँग छैन । अरूले ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’ भदौदेखि कात्तिकसम्म मलेरियाले थला पारेको र कात्तिकदेखि ज्वरोले सास्ती पाएको उनको भनाइ छ ।

उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले केही समयअघि शिविर सञ्चालन गरेपछि नियन्त्रणमा आएको ज्वरो फेरि फैलिएको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको उनको भनाइ छ । दुई सातासम्म बिरामी परेका बालबालिका र युवाको ज्वरो निको भए पनि ५० वर्षमाथिकाको मृत्यु हुने गरेको छ ।

चिसो बढेसँगै गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत बस्तीमा भाइरल ज्वरो फैलिएको छ । भाइरल ज्वरोकै डरले प्रतिनिधि र प्रदेशसभा चुनावमा स्थानीय बासिन्दा मतदानका लागि नगएको पैखु गाउँका लोकेन्द्र थापाले बताए । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले औषधिसहित अहेब ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार पठाइएको जानकारी दिए । चिसो र सुक्खा मौसम तथा धूलोले भाइरल फैलिएको उनले बताए ।

कार्यालयमा औषधि किन्ने बजेट नभएको बुढाको भनाइ छ । उनका अनुसार सबै बजेट गाउँपालिकामा गएपछि समस्या भएको हो । गाउँपालिकाको रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र, गम्था, रातापानी, सेरी र खमालेमा स्वास्थ्य केन्द्र भए पनि औषधिका नाममा सिटामोल पनि नहुँदा बिरामी जोगाउन कठिन भएको छ ।

जिल्ला अस्पतालमा पनि दैनिक १ सय ५० बढी ज्वरो र टाइफाइडका बिरामी आउने गरेको डा. मीना काफ्ले चौलागाईंले बताइन् । ‘अत्यधिक चिसो बढेकाले बिरामीको संख्यामा वृद्धि भएको हो,’ उनले भनिन् । कान्तिपुरमा खबर छ ।