मोनिका ! ओ माई डार्लिंग । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोनिका ! ओ माई डार्लिंग ।



दीपक घिमिरे

जेबल अलि रोडबाट म चढेको बस अबुधाबी तर्फ गुड्यो । बसको रफ्तार सँगै मेरो मनको रफ्तार पनि हुईकियो अबुधाबी तर्फ । करिब दुई घण्टाको एक्सप्रेस कुदाई पछि बस अबुधाबी बसपार्कमा आईपुग्यो । बसबाट ओर्लना साथ मोबाइल निकाले , मोनिकालाई फोन गरेर भने ” कहाँ भेटने ? “

” बसपार्क निरैको लुलु हाईपर मार्केटमा आऊ ! म यतै छु । ” मोनिकाले लोकेशन बताई ।

बसपार्कबाट बायाँ मोडिए । बाटैमा राखेको मर्सिडिज बेन्ज कारको कालो सिसामा अनुहार नियाले । हल्का कपाल मिलाए । आँखा तन्काउदै , दात किच्याउदै आफ्नो सुन्दरता माथि ध्यान पुर्‍याए । निधारमा एउटा डण्डिफोर पाक्न आटेको रहेछ , त्यसलाई निचोरिदिए ।

डण्डिफोरको खिल निकालेर त्यही गाडीमा पुछ्न थालेको थिए , गाडी अटोमेटिक सेक्युरिटी हर्न सिस्टम रहेछ । ट्वाँ ट्वाँ गरेर हर्न बज्यो , म झस्कदै लुलु हाईपर मार्केट तिर लम्किय ।

लुलुको बाहिर पुगेर उसलाई कल गरे । हेल्लो समेत नभनी उसले भनी ” सेकेण्ड फ्लोरमा रे-वन को सो-रुम छ ! यही आऊ । “

म भित्र छिरे , लिफ्ट खाली थियो । दुई नम्बर दबायर लिफ्ट खोले । भित्र छिरे , लिफ्टको ढोका बन्द भयो ।

लिफ्ट भित्रै भएको सिसामा फेरि अनुहार नियाले , कपाल मिलाए । खिस्स हासे जस्तो गरेर आफूलाई हेन्सम बनाउने तरिका सिके । म हास्दा गाला चाउरी परे । पिर लाग्यो अनि फेरि दात नदेखाई मन्द मुस्कान मात्र छाडे । यस्तो स्टाईलमा म अलि धेरै हेन्सम देखिए । अरू बाकी स्टाईलले मेरा गाला अलि धेरै चाउरी पर्थे ।

यो गाला चाउरी पर्ने समस्याले म निक्कै पीडित छु । नेपाल बस्ने एक जना साथीले च्याटमा गफिदा भन्छ ” धेरै नहास ! गाला चाउरी पर्छन । “

हासेरै चाउरी परेको हु या बुढेसकाल लाग्यो थाहा छैन तर आजभोली हास्न पनि डर लाग्छ । हास्न रहर गर्नेहरु धेरै हुन्छन् तर म हास्न डर मान्छु । खिस्स हास्दा बुढो अनुहार देखिन्छ अनि आफू भन्दा बुढाले पनि दाइ या अंकल सम्बोधन गर्दिन्छन ।

लिफ्टबाट निस्केपछी म रे-वनको आउटलेट खोज्दै हिडे । सामुन्ने भएको आउटेलेट फ्याट्टै देखेपछी भित्र छिरे ।

यहाँ चकित पर्ने बनायो एकैछिन । फेसबुक च्याट अनि फोनमा मस्तले गफिएका हामी दुई मोनिका अनि दीपक दुवै चकित पर्‍यौ । रे-वन ब्राण्डको चस्मा छान्दै गरेकी मोनिकाले मलाई देख्ना साथ अचम्म पर्दै ग्वाम्म अँगालो हाल्दै भनी ” ओ माई गड ! हाउ हेन्सम यार दीपक । “

म लजाए । चस्मा चेक गर्ने सिसामा फेरि एक पटक अनुहार नियाले । खास्सै हेन्सम चैँ होइन तै पनि मोनिकाले हेन्सम भन्देसी म फुरुङ ।

उसले हेन्सम भनेर अलिबेर अँगालोमा बेर्दा म आफूलाई सलमान खान जस्तै सम्झिए । उसले मलाई फुरुङ पार्न हेन्सम भनेकी नै भएनी आफूलाई शाहरुख खान भन्दा कम्ती ठानिन । उ सँगको अँगालो छुटाउदै गाउन मन थियो ” मोनीका ! ओ माई डार्लिङ । “

अँगालोबाट छुटाउदै उसले भनी ” सोचेको भन्दा नि हेन्सम रैछौ । “

म फेरि फुरुङिय , लजाउदै भने ” तिमी पनि कम्ता च्वाँक छ्यौ र मोटी ? “

मैले मोटी भनेपछि उ रिसाएको नाटक गरी , मेरो छातीमा ढुसुम ढुसुम हान्दै भनी ” आफू त कम्ती छ जस्तो लाग्दो हो भुडे । “

उसले भुडे भनेपछि मेरो भुँडी एक्कासि फुलियो । टुनुक्क फुलेको भुँडी लाई एक पल्ट हेरे अनि मनमनै सोचे ” ठ्याक्कै गणेशको जस्तो रैछ मेरो भुँडी । “

चस्मा हेर्ने काम छाडेर उसले मेरो पाखुरामा समाती , उ सोरुम बाट बाहिरिदै थिई । सेल्स ब्वाईले उसलाई रोक्दै भन्यो ” गग्स नलाने दिदी ? “

दिदी भनेसी उ फरक्क फर्की अनि मायालु स्वरमा भनी ” पछि आउछु ल ब्रो ! “

उसले क्याफे तिर सोझ्याउदै भनी ” भोक लागेको छ डियर ? “

मैले मुन्टो हल्लाउदै भने ” तिमीलाई देखेसी न भोक , न प्यास । मलाई केही खान मन छैन । “

उसले मेरो कुरामा खास्सै ध्यान नदिएरै क्याफ्टेरिया छिरी अनि दुई स्यान्डविच अनि दुई कक्टेल जुस अर्डर गरी ।

नजिकै रहेको टेबुलमा बस्दै उसले भनी ” दुबई बसेको कति भो ? “

मैले हातका औला देखाउदै भने ” चार वर्ष , अनि तिमी ? “

उसले चोर औला ठड्याउदै भनी ” जम्मा एक वर्ष भो ! “

एकै छिन मौन भयौ , उसले हाम्रो मौनता तोडदै भनी ” च्याटमा त निक्कै फुर फुर बोल्छौ , भेटमा किन नुन खाएको भाले झैँ गरेको ? “

म मुसुक्क हासे । हास्दा गाला चाउरी परे झैँ लाग्यो । फेरि सम्हालिए । अनि जिस्काउन खोज्दै भने ” लभ पर्ला जस्तो भो है ! “

उ खित्का छाडेर हासी अनि भनी ” मोनिका र लभ एक अर्काका निक्कै ठुला दुस्मन हुन । हामी साथी हौ , त्यो भन्दा माथि नसोच बेबि ! “

उसले बेबि भनेसी आफूलाई बच्चा झैँ फिल भो । जुरुक्क उठेर उसको काखमा गएर बसौ झैँ सोच भो ।

कल्पनाको दुनियाँबाट फर्कदै भने ” साथी भन्दा अलिकति माथि पुगौला है ! “

मैले हिम्मत जुरायर भनेको यो शब्दले उसलाई हासो लगायन सायद । यो पटक उ हासेको देखिएन । उ फिलिङ सेन्टी हुँदै भनी ” जिस्काउ , जिस्कन तयार छु तर मनमा पाप नसोच ल । म फ्रेङ्क केटी हो , गलत होइन । “

म फिस्स हासे , मेरो हासो नसकिदै वेटरले स्याण्डविच र जुस ल्याईदियो ।

” नढाटेर एउटा कुरा भनुम ? ” मैले स्यान्डविच हातमा।लिदै सोधे ।

उसले छोटो उत्तर दिई ” अफकोर्स ! “

” मलाई स्यान्डविच खान सिकाईदेउ ? मलाई खान आउदैन । ” मैले आफ्नो कमजोरी भने ।

उ हासी , मलाई प्याट्ट हान्दै भनी ” पागल ! जोक गर्नुको पनि सीमा हुन्छ नि । “

साँच्चै ! मलाई यस्ता क्याफेहरुमा बसेर खानै आउदैन । मान्छेहरू चट्ट सस हालेर स्याण्डविच खान्छन । मैले चैँ खादा कहिले मुखमै नअटाउने या कहिले ओठमा सस लागेर लाज लाग्ने अवस्था आउँछ । म काठमाण्डौंमा कहिले यस्ता क्याफेमा गएर खाएको छैन । खाने तरिकै नजान्दा बेईज्जत हुन्छ भन्ने लाग्छ ।

उसले जसरी खाई , उसै गरी मैले खाए । ग्यास्टिकले सताएको थियो मलाई । खाई सकेर लाजै नमानी लामै डकार आयो । मैले डकारेको सुनेर उ मात्र होइन , वरपरका अरू धेरै तर्सिय । म लजाए , उसले मेरो हातमा चिमोटदै भनी ” ईडियट । “

बिल तिर्न म उठदै थिए , उसले मलाई रोक्दै भनी ” म तिर्छु । “

बाहुनको सन्तान हु , हल्का जात जनाउनै पर्‍यो । कन्जुस थिए , थचक्क बसे । उ उठेर बिल तिरी ।

मैले मोनिकालाई मनमा सजाएकै थिए । आज , हिजो अनि पछि सम्म । तर उ हामी साथी मात्र भन्दै थिई । म उसलाई पट्याउने सोचमा थिए । उ सँग धेरै नजिक थिए फोन अनि फेसबुकमा । तर आज उसले हामी साथी मात्र भनेपछि मन हल्का निराश थियो ।

हात समातेरै बजार घुम्यौ । हिडदै जाँदा उसको हात चुम्दै भने ” रियल्ली ! आइ लभ यु यार मोनी ! “

उसले हात झटकार्दै भनी ” प्लिज दीपक ! हामी मात्र साथी हौ । त्यो भन्दा माथि नसोच । “

उसलाई एक दिन आफ्नो बनाउने सपना आँखा भरी छन् तर पनि आजको लागि मलाई छुट्टिनै थियो । मन नलाग्दा नलाग्दै पनि छुट्टिनु पर्ने आफ्नै बाध्यता थिए । उसलाई अन्तिम पल्ट आइ लभ यु भन्दै बिदा मागे ।

अँध्यारो अनुहार लगाउदै उसले भनी ” छुट्टिन मन मलाई पनि छैन तर बाध्यता छ । अर्को हप्ता म उतै दुबई आउछु अनि गफ गरौला है ! “

उसका आँखा मा मेरा लागि प्रेम झल्किदै थियो , मुखले मात्र साथी भनेपनी उ मलाई प्रेमी ठान्छे भन्ने कुरा उसका आखाले प्रस्ट देखाउदै थियो । बिदाइको हात हल्लाउदै उ सँग छुट्टिए । अर्को हप्ता भेटने बाचा गरेकै छु ।