मोदीको तिर्थब्रतको राजनीति ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मोदीको तिर्थब्रतको राजनीति !



~~पुष्प थापा~~

छ महिनासम्म भारतले लगाएको नाकाबन्दीको दुख कष्ट तथा सास्ती खेपेका नेपाली जनताले त्यो दुख पिडालाई सजिलैसँग बिर्सन सकेका छैनन्। नाकाबन्दी पछि भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणलाई लिएर सामाजिक सञ्जाल तथा मिडियामा धेरै टिका टिप्पणी सहितको अट्कलबाजी गरिँदै कतै तीव्र विरोध त कतै मोदीको तस्बिरमा फुलका गुच्छाले स्वागतका स्वलोगनहरु लेखिएका पोष्टरहरु गल्ली गल्लीमा टाँसिदै गरेका दृश्यहरू देखिन्छन।

भूकम्पले थिला थिला पारेको नेपाली जनतालाई त्यसै माथि भारतले लगाएको नाकाबन्दीलाई धैर्यतापूर्वक एकबद्ध भएर सामना गरे। जस्तोसुकै परिस्थितिको चुनौतीलाई पनि सामना गर्दै भारतको अगाडी हात फैलाएर झुकेनन। स्वाभिमानी नेपालीहरूको राष्ट्रिय एकता र अखण्डतालाई आत्मसाथ गर्दै विदेशमा रहने हरेक दुख सुखका सारथी गैर आवासीय नेपालीहरूले संसारका सबै देशहरूमा भारतीय दूतावासको अगाडी विरोध, धर्ना र जुलुस गरी मोदी सरकारलाई अन्तर्राष्ट्रिय स्तरमा सर्मिन्दा बनाए। विश्वको सबै ठुलो लोकतान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति सृजना भएको थियो।

दुई देशको सम्बन्धलाई सुमधुर बनाउन भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण गर्नु स्वागयोग्य भएता पनि आजसम्म नेपालको संविधानलाई औपचारिक रूपले स्वीकार गर्न नसकेको मोदी सरकारलाई स्वदेश तथा विदेशमा रहने नेपालीहरूले सहज तरिकाले भुल्न सक्दैनन। प्रधानमन्त्री मोदीको यो भ्रमण नाकाबन्दीमा लागेको सम्बन्धमा गहिरो घाउलाई मलमपट्टि लगाउने काम मात्र हो भन्ने धेरैको बुझाई रहेको छ। प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा नागरिक अभिनन्दनद्वारा नाकाबन्दीको सफाइ दिन जे जति प्रयत्न गरे पनि ती दुख र कष्टका ऐतिहासिक दिनहरूलाई नेपाली जनतालाई सजिलै भुलाउन सक्ने छैनन्।

भौगोलिक रूपमा आफ्नो छिमेकी बदल्न कहिले नसकिने प्रकृतिको नियम भएकोले छिमेकीले हामीलाई गरेको नाकाबन्दीको अति दुखित र अस्वभाविक समयको पतिस्थितिलाई प्रधानमन्त्री मोदीले निर्दोष नेपाली जनतासित सार्वजनिक रूपमा माफी माग्दै नेपाल र भारत बिचको पौराणिक सम्बन्धलाई अझ धेरै बलियो बनाउन कोसिस गर्नु पर्दछ।

भारतको चलखेलमा प्रस्तापित प्रदेश २ मा संविधानको विरोधमा धेरै आन्दोलन धर्ना जुलुसहरू भए। कयौँ व्यक्तिहरूले ज्यान गुमाए भने धेरै धनजनको नोक्सानी पनि भयो, अझै सम्म पनि भारतले नेपालको संविधानलाई नस्विकारेको अवस्थामा आन्दोलित स्थानमा मोदीलाई नागरिक सम्बोधन गर्न दिनुले प्रदेश २ का जनता अझ धेरै आक्रोषित र उत्तेजित बनाउने कूटनैतिक षड्यन्त्र मात्र हुन सक्दछ। दिल्लीबाट काठमाडौँ नओर्ली पटनाबाट सिधै जनकपुरको यात्रा गराउनु नेपाल सरकारको ठुलो कूटनैतिक असफलता र धेरै कमजोरीहरूको साथमा पश्चाताप पनि हुने छ।

आगामी दिनमा दुई मुलुकको सम्बन्धलाई प्रयोग गर्न हेपवा प्रवृत्तिको दुराचारी व्यवहारलाई परिवर्तन गरी आत्मसम्मान सहितको समान मित्रताले मात्र आत्मीय भावनाको विकास गर्न सकिन्छ। साधारण बोलीचालीको भाषाले मात्र एकले अर्कोको ओठे प्रशंसा गर्दा व्यक्तिगत स्वार्थ मात्र पुरा हुन टेवा पुग्ला तर ३ करोड नेपालीहरूको सदभावपूर्ण भावनाको सम्मान माथिको चोटले सधैँ अन्याय हुनेछ। मोदीको पवित्र जानकी मन्दिर र मुक्तिनाथ दर्शनको आशीर्वाद अपवित्र हुन सक्ने छ। नेपाल र भारतबिचको सम्बन्धलाई सार्थक बनाउन प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपाली जनताले भारतबाट भोग्दै आएका यी समस्याका विषयहरूलाई प्रधानमन्त्री मोदीसित खुला छलफल गरी कूटनैतिक समाधानको बाटो खोज्न सक्नु पर्दछ।

  • नेपालीहरूलाई सिमानामा भारतीय एसएसपीले गर्ने नाजायज दुर्ब्यबहार बन्द गर्नु पर्ने।
  • भारतले मिचेको नेपालको सिमानालाई आपसी छलफल गरी पुनः सिमानाका खम्बाहरू यथास्थिति मै कायम गर्नु पर्ने।
  • अपराधलाई नियन्त्रण गर्न नेपाल र भारत बिच खुला सिमानालाई बन्द गरी काँडे तार लगाउने र निश्चित नाकामा आधुनिक प्रविधिको प्रयोग गरी कडा चेक जाँचद्वारा नेपाली नागरिकता र भारतीय आधारकार्डको आधारमा दुवै मुलुकका जनतालाई बिना प्रवेश आज्ञबाट आवत जावत गर्ने सुविधा व्यवस्थापन गर्ने ।
  • नेपालको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित बस्तुहरूलाई निर्यात गर्न सहजीकरण गर्ने।
  • नेपालले तेस्रो मुलुकबाट आयातीत समानको दुवानी र पारवाहनको अधिकारलाई अझ धेरै सहजीकरण गर्ने।
  • नेपालको जमिनमा सिँचाई भएपछि बाकी पानी भारतको जमिनमा सिँचाई गर्न नहरका बाधहरू चुरे पहाडको फेदमा दुवै देश मिलेर निर्माण गर्ने र नेपालको नियन्त्रण हुनु पर्ने।
  • नेपालको जमिन डुबान हुनेगरी भारतले निर्माण गरेका सबै बाँधहरू भत्काउनु पर्ने।
  • सबै असमान सन्धि सम्झौताहरू खारेजी गर्नु पर्ने।
  • नेपाल र भारत दुवै सार्वभौम सम्पन्न राष्ट्रको हैसियतले समान स्तरबाट समान व्यवहार हुनु पर्ने, एक अर्काको आन्तरिक मामला कुनै प्रकारको हस्तक्षेप नगर्ने ।
  • नेपालको विकासमा भारतले गरेका सहयोगका आयोजनाहरूलाई नरोकी समयमा पुरा गर्ने जस्तै (पन्चेस्वरपरियोजना र ,हुलाकी मार्ग) पारवहन तथा वाणिज्य सन्धि सम्झौतामा आएका कठिनाइहरूलाई आपसी छलफल द्वारा सहज गर्ने।
  • इन्धन तथा खाना पकाउने ग्यासमा भारतीय ओएनजिसीले गर्ने अन्याय अत्याचारलाई अन्त्य गर्ने।
  • दुवै सरकार प्रमुखहरूका बिचमा भएका पुराना सन्धि सम्झौताहरू यतासिघ्र कार्यान्वयन गर्ने।

यी माथि लेखिएका समस्याहरू नेपाली जनताले भारतबाट दैनिक भोग्दै आएकोले नेपाल र भारतका प्रधानमन्त्रीबिच विस्तृत छलफल गरी आपसी सहमतिको आधारमा समाधान गर्न सक्नु पर्दछ।

प्रधानमन्त्री ओलीले नेपाल भारत बिचको पौराणिक सम्बन्धलाई अझ बलियो र गाढा बनाउने सुरुवातको रूपमा समकक्षी मोदीसित नेपाल र नेपालीहरूले भोग्दै आएका समस्याहरू स्पष्टसित राख्न सक्नु पर्दछ। यो तीर्थब्रतको राजनीतिकलाई प्रयोग गरी दुई मुलुकका जनताको उपयोग गर्न सक्नु पर्दछ। यदि यस्तो हुन सकेन भने स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली जनताले प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादको षड्यन्त्रकारी तथा लम्पसारबादी परराष्ट्रनीति भएको बुझ्ने छन्।
(थापा एनआरएनए का निवर्तमान सल्लाहकार तथा सामाजिक अभिन्यता हुन्)