भारतमा मोदी सरकार ढल्ने यस्तो छ अवस्था ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतमा मोदी सरकार ढल्ने यस्तो छ अवस्था !



एजेन्सी– मोदी सरकार विरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ। तेलगु देशम पार्टी (टिडिपी) र आइएसआर कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्न लागेका हुन्। आइएसआर कांग्रेसका सांसद वाइवी सुब्बा रेड्डीले सोमबारको संसद्‌मा अविश्वासको प्रस्ताव पेश गर्न लोकसभा सचिवालयमा निवेदन दर्ता गराएका छन्। आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूको पार्टी टिडिपीले पनि अविश्वासको प्रस्ताव दर्ता गराउन लागेको छ। आन्द्र प्रदेशलाई विशेष राज्य घोषणा नगरेका कारण टिडिपीले भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनबाट अलग भएर अविश्वासको प्रस्ताव लैजान लागेको हो। यद्यपि, सोमबारकै लोकसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

अविश्वासको प्रस्ताव सरकारलाई कमजोर बनाउन वा सरकारलाई बहुमत नभएको खण्डमा दर्ता गरिन्छ। यद्पि मोदी सरकारमा स्पष्ट बहुमत छ। यो प्रस्तावले सरकारलाई कमजोर बनाउने विश्लेषण गरिएको छ।

अविश्वासको प्रस्ताव स्वीकृत हुन ५० सांसद्‌को सहमती चाहिन्छ। यसपछि मतदान हुन्छ।

मोदी सरकार विरुद्ध अविश्वासको प्रस्तावमा आइएसआर कांग्रेस र टिडिपी पार्टी खुलेर लागेका छन्। टिडीपीसँग १६ र आइएसआर कांग्रेससँग ९ सांसद मात्र छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कांग्रेस (टिएमसी)ले पनि अविश्वासको प्रस्तावमा सहमती जनाएको छ। टिएमसीसँग ३४ सांसद छन्। तीन पार्टीका सांसदको संख्या ५९ हुन्छ। यो अविश्वासको प्रस्ताव पेश गर्न पुग्ने सांसद संख्या हो।

यदि, विजेपीका केही सांसदले मोदीलाई धोका नदिए सरकार ढल्नेछैन। विजेपीसँग २ सय ७५ सांसद छन्। जुन एक्लै सरकार बनाउन काफी छ। भारतीय लोकसभामा ५ सय ४३ निर्वाचित सांसद हुन्छन्। हाल ५ सांसदको सिट रिक्त छ। सो अनुसार हाल संसद्‌मा ५ सय ३७ निर्वाचित सांसद संख्या छ। सरकारलाई बहुमत पेश गर्न आधाभन्दा बढी सांसदको समर्थन चाहिन्छ। सरकारलाई २ सय ६९ सांसदले समर्थन गरे अविश्वासको प्रस्ताव फेल हुनेछ। मोदीको पार्टी विजेपीका मात्र २ सय ७५ सांसद रहेकाले सरकार ढल्ने सम्भावना छैन। तर, सन् २०१९ को लोकसभा निर्वाचनलाई मध्यनजर गर्ने हो भने यो अविश्वासको प्रस्तावले मोदी सरकार र भाजपालाई कमजोर बनाउने विश्लेषण गरिएको छ।

भाजपाका सांसद दायाँबायाँ नभए अविश्वासको प्रस्तावबाट सरकार नढले पनि सरकालाई चुनौती भने थपिने बताइएको छ।

हाल लोकसभामा विजेपीका २ सय ७५ कांग्रेस आईका ४८, एआइएडीएमकेका ३७, तृणमूल कांग्रेसका ३४, बिजेडीका २०, शिवसेनाका १८, टिडिपीका १६, टिएसआरका १८, सिपिआइ (एम) का ९, वाइएसआर कांग्रेसका का ९, समाजवादी पार्टीका ७ र अन्य साना २६ दलका ५६ सांसद छन्। यी बाहेक ५ सिट रिक्त छ।

विजेपीका केही सांसदले सरकारको विरोध गर्दे आएका छन्। विजेपीका ७ सांसदले सरकारललाई समर्थन नगरे सरकार ढल्नेछ। सांसद तथा अभिनेता शत्रुघ्न सिन्हा, कीर्ति आजाद, श्यामचरण गुप्ता, भोला सिंहलगायत सांसदले सरकारको विरोध गर्दै आएका छन्। यसबाहेक अन्य ६ विजेपीका सांसद पनि सरकारको विरोधमा रहेको बताइएको छ। यदि, विजेपीका ती सांसदले सरकारको विरुद्ध मतदान गरे सरकार ढल्नेछ। तर, यो सम्भावना न्यून रहेको बताइएको छ।