मिनेन्द्रले ‘बाउको डोको’ भनेपछि रामचन्द्र बने रातोपिरो ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मिनेन्द्रले ‘बाउको डोको’ भनेपछि रामचन्द्र बने रातोपिरो !



जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले केही समयअघि लेखेको चिठीबारे नेता विमलेन्द्र निधिले प्रश्न उठाए ।

लिखित र सार्वजनिक रूपमा पौडेलले सभापतिलाई त्यसरी चिठी लेख्न नहुने निधिको धारणा थियो । निधि देउवाका उत्तराधिकारी भनेर चिनिन्छन् ।

पार्टी र मातहतका भ्रातृ संस्थाहरू अस्तव्यस्त हुँदा पनि सम्हाल्न असफल भएको आरोप लगाउँदै पौडेलले देउवालाई लेखेको चिठीमा भनेका थिए,‘तपाईंले एउटै काम गर्नुभो–आफ्नो गुटको भरणपोषण । हो, तपाईंको आफ्नो गुट मजबुत बन्यो होला, तर विचरा कांग्रेस झनझन दुर्बल बन्यो ।’

‘कांग्रेसको इतिहासमा त्यो चिठीको रेकर्ड हुने भएकाले लिखित रूपमा सार्वजनिक नगरेको भए हुन्थ्यो । बरू मौखिक रूपमै भन्न सक्नुहुन्थ्यो,’ निधिलाई उदृत गर्दै एक नेताले भने,’तपाईं सभापति भएको बेला त्यस्तै चिठी आए के गर्नुहुन्थ्यो ?’

ती नेताका अनुसार प्रश्न सोधेपछि निधि एकछिन रोकिए । उनी रोकिएकै बेला अर्का नेता मिनेन्द्र रिजालले कटाक्ष गरे–रामचन्द्र दाइ कदाचित सभापति भए, यो चिठीलाई ‘बाउको डोको’ बनाएर उहाँलाई फाल्न काम लाग्छ !

त्यसपछि बैठक हाँसोले गुञ्जिएको थियो । रिजालले दिएको ‘बाउको डोको’वाला उदाहरण एउटा कथा हो ।

कथामा बुढो बा र छोरा हुन्छन् ।

छोराको पनि ७–८ वर्षे छोरा हुन्छ। एकदिन बुढो बाबुलाई छोराले डोकोमा बोकेर भीर नजिकै लैजान्छ । पछि पछि सानो छोरा पनि पुग्छ । जब आफ्नो बाले हजुरबालाई भीरबाट डोकैसँग फाल्न थाल्छ छोराले उसलाई रोक्छ ।

‘बा डोको नफाल्नुस है पछि तपाईंलाई फाल्न काम लाग्छ !’ छोराले भन्छ ।

पौडेलले देउवालाई लेखेको चिठीसँग रिजालले यही डोकोको तुलना गरेका हुन् ।

महासमितिमै कांग्रेसले अबको कार्यदिशाबारे वृहद छलफल गर्नु पर्ने उल्लेख गर्दै निधिले प्रतिनिधिसभा चुनावको हारका कारण तत्कालीन मात्र नभएको बताए ।

निधिले मधेसमा कांग्रेसलाई धेरै भोट आउनुको कारण उम्मेदवार चयनमा भएको त्रुटी भएको बताए ।

‘स्थानीय चुनावमा मधेसमा हाम्रो राम्रो मत आएको थियो किनभने तलैबाट उम्मेदवार चयन भएर आएका थिए तर प्रतिनिधिसभामा केन्द्रबाट उम्मेदवार तोकियो त्यसैले मधेसमा भोट कम आयो,’ उनले भने ।

निधिले केन्द्रीय समिति बैठकपछि महासमिति बोलाउनु पर्ने र त्यहाँ चुनावी हारको समीक्षा अझ गहिरो रूपमा गर्नु पर्ने बताए ।