मेस्सीले भने "मैले सधै विश्वकप जित्ने सपना देखेको छु" - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेस्सीले भने “मैले सधै विश्वकप जित्ने सपना देखेको छु”



एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा रसिया विश्वकप सुरु भएदेखि नै भइरहेको छ । विशेषगरी अर्जेन्टिनाले लगातार दुई खेलमा देखाएको कमजोर प्रदर्शनले उनीबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

मेस्सीले अर्जेन्टिनाबाट सन्यास लिनेसम्मका हल्लाहरु सामाजिक सञ्जालमा चले । तर, मेस्सीले भने आफ्नो ३१ औं जन्मदिनको अवसरमा अंग्रेजी पत्रिका द मिररसँगको कुराकानीमा सन्यासको कुरै उठाएनन् । बरु विश्वकप जित्ने आफ्नोसपना रहेको बताए ।

“विश्वकप अर्जेन्टिनाका लागि विशेष हो र मेरा लागि पनि विशेष छ”, उनले भने । मेस्सीले अर्जेन्टिनी फुटबल टिमको कप्तानी अझै केही वर्ष सम्हाल्ने संकेत यसले गर्छ । हुन त मेस्सीले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तराष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए तर, पछि सन्यास रद्द गर्न दबाब आएपछि अर्जेन्टिनाको नेतृत्व सम्हालेका थिए ।

उनले अगाडि भनेका छन्, “मैले सधै विश्वकप जित्ने सपना देखेको छु र त्यसलाई पूरा गरेर देखाउन चाहन्छु । मेरो दिमागमा यतिमात्र चलिरहेको हुन्छ, जुनकुराले लाखौं अर्जेन्टिनीलाई खुसी तुल्याउनेछ ।”

मेस्सीको पछिल्लो यो अभिव्यक्तिपछि उनका समर्थक र अर्जेन्टिनी जनतामा खुसी पक्कै छाएको छ । यसअघि हारको दबाबमा आएरै उनले सन्यासको घोषणा गरेका थिए ।

रसिया विश्वकपमा नकआउट चरण प्रवेशका लागि अर्जेन्टिनालाई सहज भने छैन । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल मंगलबार नाइजेरियासँग खेल्दैछ । नकआउट चरण पुग्न अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नैपर्छ । अर्जेन्टिनाले नकआउट चरण पुग्नका लागि आइसल्याण्ड र क्रोएसियाबीचको खेलमा पनि भर पर्नुपर्नेछ ।

क्रोएसियाले आइसल्याण्डलाई पराजित गरेमा वा क्रोएसिया र आइसल्याण्डबीचको खेल ड्र भएको खण्डमा आइसल्याण्ड र अर्जेन्टिनाबीचको गोल अन्तरमा जसको धेरै गोल छ, त्यो नै नकआउट चरण पुग्नेछ ।