मेलाको भौतिक संरचनामा करोडौं स्वाहा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेलाको भौतिक संरचनामा करोडौं स्वाहा



बुटवल  । यस क्षेत्रमा हुने औद्योगिक तथा व्यापार मेलामा निर्माण हुने भौैतिक संरचनाका लागि करोडौं रकम फजुलमा खर्च भएको छ । मेला महोत्सव गर्ने भौतिक स्थायी संरचना नहँुदा अस्थायी संरचनमा करोडौं खर्च हुने गरेको छ ।

बुटवल मण्डपमा वर्षैपिच्छे हुने मेलामा झण्डै सवा करोड खर्च हुने गरेको छ । १५ दिनका लागि बन्ने संरचनाका लागि संघ संस्थाहरू फजुल खर्च गर्न बाध्य भएका छन् । अस्थायी संरचनाका लागि खर्च भएको रकमले स्थायी संरचना बन्न सक्ने उद्योगीहरूको भनाई छ ।

‘गुरुयोजना बनेको भए सोहीबमोजिम हामीले पैसा खर्च गर्दा संरचना निर्माण हुन्थ्यो, तर बुटवल मण्डपमा अहिलेसम्म प्रदर्शनी स्थालको गुरुयोजना बन्न सकेन’, रूपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले भने ।

बुटवल मण्डपमा उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही व्यापार संघ र उद्योग व्यापार संगठनले मेला गर्दै आएका छन् । यी सबै मेलामा प्रति मेला कम्तिमा एक करोड खर्च भएको छ ।

बुटवलबाहेक अन्य नगरहरूमा हुने मेलामा समेत लाखौँ रकम भौतिक संरचनामा खर्च भएको छ । नयाँ नगरपालिकामा मेला गर्ने स्थानसमेत नतोकिँदा फिल्ड निर्माणको खर्चसमेत थप भएको हो । तिलोत्तमामा आजदेखि शुरु हुने मेलाको भौतिक संरचना निर्माणमा झण्डै ९० लाख खर्च भएको व्यापार संघका अध्यक्ष जेपी कंडेलले बताए । ‘हामीले नगरपालिकालाई स्थायी स्थानको व्यवस्था गर्न भनेका छौं, त्यसो भयो भने आगमी वर्षदेखि स्थायी संरचना निर्माण गर्न सकिन्छ’, उनले भने ।

सिद्धार्थनगर, सैनामैना, देवदह नगरपालिकामा हुने मेलाको पनि स्थायी संरचना छैन् । यी सबै नगरमा हरेक वर्ष मेला हुँदै आएको छ । सबै नगरमा हुने मेलामा एक वर्षमा करिब ७ करोड अस्थायी संरचनामा खर्च हुने गरेको छ । स्थायी संरचना निर्माणका लागि नगरपालिकाहरूले योजना बनाउनुपर्ने व्यवसायीहरूको माग रहेको छ ।