बुटवल मेलाको आर्कषण खाना महोत्सव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवल मेलाको आर्कषण खाना महोत्सव



हिमाल पोष्ट / बुटवल, ९ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखि बुटवलमा सुरु भएकोऔद्योगिक मेलामा आजदेखि बिभिन्न कार्यक्रमहरु सुरु भएका छन ।

पुस २३ गतेसम्म बुटवलमण्डपमा सञ्चालन हुने मेलामा आजदेखि रुपन्देही जिल्लाका किसान तथा समुहले उत्पादन गरेका तरकारी तथा फलफुल बालिको प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा रुपन्देही जिल्लाका करिव डेढ सय किसान तथा समुहका तरकारी तथा फलफुल वालि राखिएको छ । कृषि बिकास कार्यालय रुपन्देहीको समन्वयमा सुरु भएको प्रतियोगिता सहितको प्रर्दशनीमा काउली बन्दा, ब्रोकाउली, लौका, फर्सी, कुभिण्डो, तरुल ओल, आलु सिमी, मुला, साग, भाण्टा, मकै कोदो, सुपारी, मेवा, च्याउ लगायतका तरकारी फलफुल तथा अन्न बाली राखिएको छ ।

किसानहरुले गाउमा उत्पादन गरेका कृषि उपजको बारेमा जानकारी गराउन र किसानलाई आफनो पेशाप्रति टिकाई राख्न तथा व्यवसायिक बनाउन प्रतियोगिता र प्रर्दशनी गरिएको कृषि बिकास कार्यालय रुपन्देहीका कृषि प्रशार अधिकृत बैकुण्ठनाथ खनालले बताउनु भयो । मैलाकै अवसरमा आजदेखि लोक दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी र प्युठानबीच प्रतिष्पर्धा भएको छ ।

त्यस्तै भ्वाइस अफ बुटवलको लागि करिव एक सय जनाबाट २३ जनालाई प्रारम्भिक छनौट गरिएको छ । एसएमएस भोटिङ्ग र राष्ट्रिय कलाकार निर्णायकको मतबाट भ्वाइस अफ बुटवलको छनौट गरिने छ । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैया, द्धितिय हुनेले ३३ हजार ३ सय ३३ र तृतिय हुनेले ११ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक रितेश सिलवालले जानकारी दिनु भयो ।

मेला भित्रको आर्कषण खाना महोत्सव

मेला भित्र आयोजना गरिएको खाना महोत्सव मेलाको दोश्रो दिननै दर्शक उपभोक्ताको आकर्षणमा परेको छ । रुपन्देहीको छपियाका माछाका बिभिन्न परिकार कपिलवस्तुका थारु महिलाले बनाएका थारु खानपानका परिकार, मगर महिलाले बनाएका रोटी तथा अचार, चितवनका केराको परिकार, च्याउको परिकार र पहाडी तातो खुदोप्रति दर्शक उपभोक्ताले चासो राखेका छन । मत्स्य व्यवसायी संघले राखेका स्टलमा छपियाका माछाका पकौडी, म.म. सहितका परिकार प्रति दर्शकले रुचि राखेको अध्यक्ष पुण्य प्रसाद चौधरीले बताउनु भयो ।

स्वदेशमा बसी च्याउ खेती गरौ प्रशस्त आम्दानी गरी स्वरोजगार बनौ भन्ने नारा नै राखेको स्प्रिञ्जर च्याउ फर्म गजेडीका सञ्चलक गगंधर शर्माले मेलामा च्याउको म.म. पकौडा सहित बिउ बिक्री र तालिम चाहने युवालाई नाम दर्ता गराएर तालिमकै व्यवस्था मिलाएको बताउनु भयो । बुटवलमा हुने मेलामा लगातार ८ बर्षदेखि आउदै गरेका चितवन केरा उत्पादक संघका शिव प्रसाद अमगाई यस पटक मेला सुरु हुदैकेराका परिकारले दर्शक् उपभोक्ताको मन जितेको बताउनु हुन्छ ।

त्यस्तै लक्ष्मि महिला समुह कपिलवस्तुकी सदस्य जयन्तीदेबि चौधरी थारु समुदायका खानपान ढिकरी, बरिया, घोगी, गगटा, चेचि महुरी, अनदीका भूजा प्रति युवा समुदायलाई जानकारी दिन र पहिचान जोगाउन मेलामा आएको बताउनु हुन्छ ।  नेपाल मगर संघ बुटवल नगर समितिले पनि आफनै सस्कृतिका खानपान राखेको र दर्शकले चाख लिदै खानेगरेको संघका सदस्य शान्ति थापा बताउनु हुन्छ ।