मौन अवधि सुरु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? उल्लंघन गरे जरिवाना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मौन अवधि सुरु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? उल्लंघन गरे जरिवाना



काठमाडौं, १२ असार ।

१४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज छ । खबर आजको राजधानी दैनिकले छापेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भन्दै सो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न नपाउने बताए । ‘दलहरूले मौन अवधिमा प्रचारप्रसार जन्य कुनै पनि गतिविधि गर्न पाउँदैनन् । त्यसो गर्नु आचारसंहिताविपरीत हुन्छ । सो किसिमका गतिविधि भएको पाइए कारबाही हुन्छ,’ प्रमुख आयुक्त यादवले  भने ।

आयुक्त इला शर्माले मौन अवधिको उल्लंघन भएको पाइए वा कुनै पनि उम्मेदवारबाट उल्लंघन भए १ लाखसम्म जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ । उनका अनुसार मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ । ‘मौन अवधिको उल्लंघन भएको पाइए १ लाखसम्मको जरिवानादेखि उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुन्छ,’ आयुक्त शर्माले भनिन् ।

मौन अवधिमा राजनीतिक दलहरूबाट आचारसंहिताविपरीत कुनै पनि गतिविधि नहुनेमा आफू विश्वस्त रहेको समेत आयुक्त शर्माले बताएकी छन् । तर यही मौन अवधिमा नै दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्न ‘चलखेल’ गर्ने गरेका छन् ।

यस्तै, निर्वाचनको मौन अवधिभित्र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समेत कडा निगरानी हुने आयोगले जनाएको छ । सो समयमा मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि दल तथा दलका उम्मेदवारहरूको पक्षपोषण हुने खालका समाचार तथा विज्ञापनहरू प्रसारण तथा प्रकाशन गर्न पाइनेछैन भने सामाजिक सञ्जालहरूमा समेत उम्मेदवारहरूको पक्ष तथा विपक्षमा कुनै पनि किसिमका समाग्री राख्न तथा लाइक कमेन्ट गर्न नपाइने आयोगको भनाइ छ ।

मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसारलगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले दलहरूलाई सचेतसमेत गराएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसारअन्तर्गत सभा, जुलुस, नाराबाजीलगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आइतबार मध्यरातसम्म दलहरूले आफ्नो वा उम्मेदवारको प्रचारप्रसार गर्न पाउने तर मौन अवधि सुरु भएपछि नपाउने बताए । ‘आइतबार मध्यरातसम्म जति प्रचार भयो भयो, आइतबार राति १२ बजेपछि निर्वाचनको दिनसम्म नै पाइँदैन, सञ्चारका माध्यम तथा समाजिक सञ्जालहरूमा समेत यो लागू हुन्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

स्थानीय तहको दोस्रोे चरणअन्तर्गत १४ असार अर्थात् बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । आयोगले निर्वाचनको दिन मतदान सम्पन्न नहुँदासम्म मौन अवधि रहने बताएको छ । दोस्रो चरणमा प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

के गर्न पाइँदैन ?

आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

उल्लंघन गरे जरिवाना

मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ ।

त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ ।

उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिनसमेत आचारसंहिता पालना गर्नुपर्नेछ । उनीहरूले पालना गर्नुपर्ने ६ किसिमका आचारसंहिता रहेको आयोगले बताएको छ । त्यसमा मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने, मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी मतदान केन्द्रमा रहेको राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा संकेत नभएको पहिरन, परिचयपत्र र ब्याज मात्र प्रयोग गर्नुपर्ने, कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने उल्लेख छ । शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन भने प्रयोग गर्न सकिनेछ ।